लन्डन–स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बेलायतका स्वास्थ्य राज्यमन्त्री विल क्विन्ससँग त्यहाँको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गरेका छन्।
सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायतले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुने विश्वास व्यक्त गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
स्वास्थ्यमन्त्री बस्नेतले दुई मुलुकबीच हालै हालै सम्पन्न बेलायतमा नेपाली नर्सका लागि रोजगार सम्झौताप्रति खुसी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोधसमेत गरेका थिए।
स्वास्थ्यमन्त्री क्विन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने बताएको दूतावासले उल्लेख गरेको छ।
स्वास्थ्यमन्त्री बस्नेतले आइतबार विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सको तालिम तथा स्थानान्तरण प्रक्रियाबारे जानकारी लिएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बताइन्। भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी थिए। मन्त्री बस्नेत गत २९ असारमा बेलायत भ्रमणमा आएका हुन्।



