काठमाडौँ- नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव गर्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आगामी एक वर्षको कार्ययोजना प्रस्ताव गरेका छन्।
थापाले साहित्य महोत्वसका साथै विभिन्न विषयमा छलफल, गीतसंगीतका कार्यक्रम, फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी लगायतका कार्यक्रम गर्न प्रस्ताव गरेका हुन्।
भदौ २४ गते बीपी जयन्तीका अवसरमा महोत्सव आयोजना गर्न थापाको प्रस्ताव छ। दुई दिने साहित्य महोत्सवमा बीपीका पुस्तक/रचना र विचारबारे मन्थन गर्ने, छलफल र संवाद कार्यक्रम गर्ने, कविता/निबन्ध प्रतियोगिता आयोजना गर्ने कांग्रेसको प्रस्तावमा उल्लेख छ।
यस्तै पार्टीको अर्थनीतिसम्बन्धी दुई दिने कन्क्लेभ गर्न पनि प्रस्ताव गरिएको छ। यसका लागि कात्तिक २४ गते सुवर्ण शमशेरको स्मृति दिवस तोकिएको छ।
माघ १२ गते देशका सबै वडाले कम्तीमा एक सामाजिक कार्यक्रम आयोजना गर्नपर्ने प्रस्ताव गरिएको छ। फागुन ७ गते ७५३ वटै तहमा खेलकुद सप्ताह आयोजना गर्ने, फागुन २० मा सत्याग्रह विशेष कार्यक्रम गर्ने, चैत ७ गते गिरिजाप्रसाद स्मृति दिवसमा देशभर पदयात्रा गर्न प्रस्तवा गरिएको छ।
चैत २३ गते डीबी परियार स्मृति दिवसको अवसर पारेर राष्ट्रिय कला सम्मेलन प्रस्तुत गर्न प्रस्ताव गरिएको छ। उक्त कार्यक्रममा गीतसंगीतका कार्यक्रम (कन्सर्ट) चलचित्रसम्बन्धी विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने प्रस्तावमा उल्लेख छ।
वैशाख ११ गते लोकतन्त्र वृत्तचित्र प्रदर्शनी र जेठ १५ गते गणतन्त्र दिवसमा फोटो प्रदर्शन गर्ने कार्यक्रमका लागि प्रस्ताव गरिएको छ। थापाको प्रस्ताव पारित भएमा यी कार्यक्रमलाई कांग्रेसले कार्यान्वयन गर्नुपर्नेछ।
कांग्रेसमा २२ विभाग र ७ लाख सदस्य थप गर्न प्रस्ताव [पूर्णपाठ]


