काठमाडौँ- नेपाली महिला फुटबल टिमलाई बहुराष्ट्रिय कम्पनी युनिलिभरले प्रायोजन गर्ने भनी घोषणा गर्न मंगलबार सोल्टी होटलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू अतिथिका रूपमा उपस्थित भएका थिए।
खेलकुदका धेरै मुद्दाको सम्बोधन गर्न नसक्ने मन्त्रीका रूपमा हेरिएका लिम्बूले आफ्ना भाषणमा खेलकुदका मुद्दाहरु पनि कमै बात्र बोल्ने गरेका छन्। त्यसैले खेलकुदलाई हेर्ने मन्त्रीको दृष्टिकोण कमजोर रहेको भन्दै खेलकुद वृत्तमा उनको आलोचना पनि हुँदै आएको छ।
युवा तथा खेलकुद मन्त्रालयको बागडोर सम्हालेपछि मन्त्री लिम्बूले खेलका योजना बनाउन र त्यसको प्रचार गर्न पनि सकेका छैनन्। त्यसैले खेलकुदकर्मी उनको कार्यशैलीबाट निराश बन्दै गइरहेका छन्। यस्तैमा उनले काठमाडौँको सोल्टी होटलमा आयोजना भएको कार्यक्रममा कमजोर प्रकट भए।
मन्त्री लिम्बूले नेपाली महिला फुटबल टिमलाई सम्बोधन गर्दै जुलाई २० बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा हुन गइरहेको फिफा महिला फुटबल विश्वकपमा राम्रो प्रदर्शन गर्नका लागि शुभकामनासमेत दिए।
नेपाली टिम सो विश्वकपको छनोटबाटै बाहिरिएको टिम हो। फिफा महिला विश्वकप विश्व महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो। त्यो प्रतियोगितामा सहभागी बन्नको निकै धेरै लगानी र फुटबल संस्कार तथा घरेलु संरचनाको आवश्यकता पर्दछ।
नेपालले विश्वकप खेल्ने नै भयो भने पनि त्यसको तयारी लामो समयदेखि हुन्छ र त्यो कुरा साधारण खेलप्रेमीलाई पनि हुन्छ। विश्वकप पुग्नु त परकै कुरा भयो नेपाल एसिया कपको पनि छनोटबाटै बाहिरिने गरेको छ। त्यति मात्र होइन, नेपालले त अहिलेसम्म दक्षिण एसियाली क्षेत्रको साफ महिला फुटबल च्याम्पियनसिप पनि जित्न सकेको छैन। तर यी सबै कुरालाई बेवास्ता गर्दै मन्त्रीले लिम्बूले यति महत्वको कुरालाई पनि सामान्यीकरण गरेर आफ्नो भाषणमा महिला टिमलाई शुभकामना दिए।
त्यसो त शुभकामना दिनु नराम्रो होइन, तर खेल्दै नखेल्ने प्रतियोगिता, जसमा नेपाली टिम छनोट पनि हुन सक्ने अवस्था छैन। त्यस्तो प्रतियोगिताको लागि पत्रकार, खेलाडी र कर्पोरेटको उल्लेख्य उपस्थिति भएको कार्यक्रममा मन्त्रीले गलत भाषण आफैंमा लज्जास्पद कुरा हो।
‘तपाईं जति पनि बहिनीहरु, चेलीहरु खेलिरहनु भएको छ, उत्कृष्ट प्रदर्शन गरिरहनु भएको छ। तपाईंहरु फेरी पनि अस्ट्रेलिया जाने क्रममा हुनुहुन्छ, न्युजिल्यान्डमा खेल्न जाने क्रममा हुनुहुन्छ। तपाईंले जितेर आउन सक्नु हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु,’ महिला टिमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले भने।
‘तपाईं नेपाली बहिनीहरुले सिंगो नेपाली जनताको विश्वास लिएर खेलिरहनु भएको छ। उच्च मनोबलका साथ तपाईंहरु खेल्नुहोस् म शुभकामना व्यक्त गर्न चहान्छु। हामी नेपालीले अरु क्षेत्रमा जित्न नसके पनि खेल क्षेत्रमा सबैलाई जित्न सक्छौं भन्ने सन्देश आइरहेका छन्,’ मन्त्री लिम्बूले अगाडि थपे, ‘र, तपाईंहरुले नजिता ल्याइरहनु भएको छ। आउने दिनमा थप राम्रो कुरालाई लिएर देशलाई अघि लैजान कुरामा सबै खेलाडी बहिनीहरु सफल हुनुहुनेछ भन्ने शुभकामना व्यक्त गरेर बिदा लिन चाहन्छु।’

उनले यसरी शुभकामना दिइरहँदा नेपाली महिला टिमका खेलाडी छक्क परेर आपसमा मन्त्रीको मुखामुख गर्न थाले। शान्त रहेका उनीहरु एक्कासी मुसुमुसी हाँसिरहेका थिए। यता खेलकुद पत्रकारहरु भने मन्त्रीले बोलेको कुरा सुनेर अचम्मित परे। एउटा सानो समूहमा त हाँसोको फोहरै छुट्यो।
अहिले खेल वृत्तभित्र उनले बोलेको कुरालाई लिएर आलोचना भइरहेको भएको छ।
मन्त्री बोल्नुभन्दा केही मिनेट पहिले मात्र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्राम नेम्बाङले नेपाली महिला टिमले सन् २०२७ र २०३१ मा हुने महिला फुटबल विश्वकपमा सहभागिता जानाउने दाबी गरेका थिए।
उनले सो दाबी गरेपछि एक वर्षका लागि महिला टिमको प्रायोजन पाएको खुसीयालीमा खेल पदाधिकारीले बोलीको संयमता गुमाएको भन्दै आलोचना भएको छ। किनभने नेपाली टिमले विश्वकप यात्रा तय गर्नका लागि घरेलु संरचनामा ठूलो फेरबदल गर्नुपर्ने हुन्छ। तर अहिलेसम्म नेपाली फुटबलमा त्यस्तो देखिएको छैन। यही संरचनामा विश्वकपमा पुग्न सक्ने कुरालाई खलाडी र प्रशिक्षकले समेत नकार्दै आइरहेका छन्।
यता, एन्फा अध्यक्ष नेम्बाङले नेपालले चार वर्षपछि नेपालले विश्वकप खेल्ने भन्दै पर्सिबाट अष्ट्रेलिया–न्युजिल्यान्डमा महिला विश्वकप सुरु हुँदै गरेको जानकारी दिएका थिए। त्यही सुनेर मन्त्रीले नेपाली टिम अस्ट्रेलिया जानको लागि शुभकामना दिएको हुनुपर्छ भन्ने आकलन उपस्थित केही मानिसले गरेका थिए।
मन्त्रीले बोलेको कुराको आधिकारिकताको लागि नेपाल क्लिक्सले मन्त्री लिम्बूलाई स्पष्ट पार्न अनुरोध गरेको थियो, ‘के नेपाली महिला टिमले फुटबल विश्वकप खेल्ने भनेर मन्त्रालयलाई गलत ब्रिफिङ भएको हो?’
प्रश्नको जवाफ दिने क्रममा मन्त्री नै अकमक्क बने। बरु छेउमै रहेका एन्फा अध्यक्ष नेम्बाङले मन्त्रीले ‘नेपाली टिम एसियाली खेलकुद खेल्नका लागि चीन जाँदै गरेको भन्नु पर्नेमा अष्ट्रेलिया न्युजिल्यान्ड भन्नुभएको हो’ भनेका छन्।
मन्त्रीले भाषण गरेर आफ्नो आसनमा फर्किँदै गर्दा एन्फा अध्यक्ष, महासचिव किरण राईलगायतले उनले बोलेको सोही कुरामा छलफल भएर चीन हुनुपर्नेमा अस्ट्रेलिया र न्युजिल्यान्ड भएको भन्दै नेम्बाङले पछि चाहिँ गल्तीलाई ढाकछोप गर्न खोजेका छन्।
यता, मन्त्रीले पनि नेम्बाङले भनेको कुरामा सही थपे। उनले नेपाली खेलको विकासका लागि ग्रासरुटबाटै विकास गर्नुपर्ने र आफ्नो अहिलेको योजना त्यता रहेको त्यसो भएमा नेपाली कुनै पनि टिले ठूलो प्रतियोगिता खेल्ने बताए।
मन्त्री लिम्बूले नेपालमा दर्ता रहेका एकै खेलका धेरै संघहरु घटाउने, लामो समयदेखि रहँदै आएका विवाद मिलाउने, भएकै कर्मचारीलाई मिलाएर राख्ने, खेलकुद मन्त्रालयलाई चुस्त बताउने, नयाँ योजना बनाउने र आगामी आर्थिक वर्षका लागि बजेट पाँच गुणाले बढाउने गरि बजेटको क्षेत्रमा काम गर्ने बताएका छन्। तर उनले गर्ने भनेका यी कामको असर भने अहिलेसम्म देखिन थालेको छैन।



