काठमाडौँ- सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
गत जेठ १५ गते अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै रु १०० मा पनि कम्पनी दर्ता गर्न सकिने र कम्पनीको पुँजीवृद्धि गर्न शुल्क नलाग्ने घोषणा गरेका थिए।
बुधबारकै मन्त्रिपरिषद् बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ। डा. मल्ल सोही अस्पतालका चिकित्सक हुन्।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटली भ्रमण पनि स्वीकृत गरेको छ। युनाइटेड नेसन फुड सिस्टम कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै कृषिमन्त्रीसमेतको भ्रमण स्वीकृत गरिएको हो। प्रधानमन्त्रीको टोली शनिबार इटलीका लागि प्रस्थान गर्ने कार्यतालिका छ।


