२०८३ कार्तिक ११ गते मङ्गलबार

कांग्रेस बैठक : खाण निलम्बनको पक्षविपक्षमा नेता विभाजित, यी हुन् बिहीबारका रोचक दृश्य

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, साउन ४
khand

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तेस्रो दिन (बिहीबार) पनि जारी रह्यो। बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ। केन्द्रीय सदस्यहरुले आ-आफ्नै कोणबाट धारणा राखिरहेका छन्। खासगरी पार्टी सञ्चालनको विधि र भ्रष्टाचारका विषयमा केन्द्रीय सदस्यहरु विभाजित देखिन्छन्। नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। उनलाई निलम्बन गर्ने या नगर्ने भन्ने विषयमा केन्द्रीय सदस्यहरु विभाजित देखिन्छन्।

सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरुले खाणको बचाउ गरिरहेका छन्। यो प्रकरणसँगै अन्य भ्रष्टाचारका मुद्दामा संलग्न जो कोही भएपनि उम्कन नहुने मत राख्ने तप्कालाई लल्कार्दै उनीहरुले खाणको पक्षमा वकालत गरिरहेका छन्। भ्रष्टाचारमा पार्टीले शून्य सहनशीलताको नीति लिनुपर्ने मत राख्नेहरुप्रति आलोचना र आक्रोश पोख्दै दुःखमा परेका खाणलाई काँध थाप्नुपर्ने तर्क ती केन्द्रीय सदस्यहरुको छ। बैठकमा धारणा राखेका अधिकांश केन्द्रीय सदस्य यसबारे मौन रहेपनि केही केन्द्रीय सदस्यहरुले पक्ष र विपक्षमा बोलिरहेका छन्।

खाणको पक्षमा बोल्नेहरु सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा मनोनित गरेका सदस्यहरु हुन्। बुधबारको बैठकमा दुई जना केन्द्रीय सदस्यले खाणको बचाउ गरेका थिए। बुधबारको बैठकमा थप एक केन्द्रीय सदस्य खाणको पक्षमा उभिए। यस्तै दुई जना केन्द्रीय सदस्यले खाणलाई निलम्बन गर्नुपर्ने मत राखे। एकजना केन्द्रीय सदस्यले आफ्नै नेताहरु अनियमिततामा जोडिएको समचारले मुख देखाउन गाह्रो परेको बताए। उनले खाणलाई निलम्बन गर्नुपर्ने त धारणा त राखेनन् तर बैठकले यसबारे प्रष्ट पार्नुपर्ने मत राखेका थिए।

बुधबारको बैठकमा केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले खाणको बचाउ गरेकी थिइन्। त्यसक्रममा उनले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै दोषी उम्कन नहुने धारणा राख्दै आएका नेताहरु विरुद्ध आगो ओकलेकी थिइन्। खाण पक्राउ पर्दा पार्टीका नेताहरु गृहमन्त्रीलाई भेट्न गएको भन्दै उनले आक्रोश पोखेकी थिइन्। उनले भनेकी थिइन्, ‘कांग्रेसको एउटा नेताकुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्री कहाँ धन्यवाद दिन पुग्नुहुन्छ। किन धन्यवाद दिन पुग्नुभयो? थाहा छैन। के कारणले पुग्नुभयो? थाहा छैन। त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरुको बोली फुट्दैन। लागेको होला उहाँहरुलाई पार्टीभित्रको फरक समूहको फरक गुटको मान्छेलाई खुईलाउनलाई,डेक्चीमा बसालेको तातो पानीले हात तलमाथि हुँदा आफूलाई मन परेको मान्छेतिर पनि खनिन सक्छ त्यो पनि विचार पुर्या‍उनुहोला।’

बुधबार नै खतिवडा पछि बोलेकी केन्द्रीय सदस्य राधा घले पनि खाणको बचाउमा उत्रिएकी थिइन्। उनले त अझ दुःखमा परेका खाणलाई पार्टी र नेताहरुले काँध थाप्नुपर्ने आशयको अभिव्यक्ति दिएकी थिइन्। आरोप लाग्दैमा कोही पनि दोषी नहुने बताएकी उनले आफ्नो साथी तथा पार्टीको नेता पक्राउ पर्दा पार्टी नेतृत्व संवेदनशिल भएर बचाउमा उत्रनुपर्नेमा उल्टो गृहमन्त्रीलाई भेटेर बधाई दिनु कति उपयुक्त हो? भन्दै प्रश्न गरेकी थिइन्। ‘आज एउटा नेतालाई, साथीलाई विना कारण समातेर लग्दै गर्दा आफ्नै पार्टीको साथीहरू सवेदनशिल नहुनु, गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हुन्छ ?,’ उनको प्रश्न थियो। अरुलाई खाएको बाघले आफूलाई पनि खान्छ भन्दै उनले दोषी करार नहुन्जेल साथ दिनुपर्ने उनको भनाइ थियो। ‘एउटा साथीलाई दुख पर्दा काँध हाल्न सक्दैनौं। आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन,’ उनले भनिन्, ‘जबसम्म दोषी सावित हुँदैन कमसेकम एउटालाई पर्दा हामीभित्रै साथीहरूले साथ दिदैनौं भने एउटालाई खाने बाघलाई अरुलाई पनि खान्छ।’



बिहीबारको बैठकमा भने दुई जना केन्द्रीय सदस्य खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा उभिए। बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाणको विषयमा पार्टीको दुविधा अचम्मको भएको बताएका थिए। उनले खाणलाई अन्याय भएको भन्ने लागेको भए कांग्रेस सरकारबाट हट्नुपर्ने होइन भने आरोपितलाई निलम्बित गर्नुपर्ने उनको भनाइ थियो।

‘यतिखेर कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य हिस्सेदार हो। यहि सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलग अलग आरोपमा पुर्पक्षको लागि थुनामा पठाएको छ। सभापतिज्यू यो प्रकरणमा हाम्रो दुविधा अचम्मकै छ,’ उनले भनेका थिए, ‘खाँडप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नु पर्‍यो होइन भने आफ्नै साथीहरु संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्वन गर्नुपर्छ की पर्दैन ? यसमा की थुनामा हुने दोषी हुनुपर्‍यो की थुनामा पठाउने सरकारमा रहेका हाम्रै मन्त्रीहरु पूर्वाग्रही हुनुपर्‍यो।’

फाइल तस्बिर

थुनामा रहेका र थुनातर्फ हेरिरहेका दुबैलाई भ्रममा राख्न नहुने भन्दै उनले पार्टीले प्रष्ट पार्नुपर्ने बताए। ‘यो वैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रसार हुनुभएन। सरकार र साथी मध्ये एक के रोज्ने हो सभापतिज्यू यो वैठकले टुंगो लगाउनुपर्छ। तर मलाई खाने बाघले तलाई पनि खाला भन्ने जस्तो गलत भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस,’ उनले भने।

यस्तै केन्द्रीय सदस्य मधु आचार्यले खाणको नाम त लिएनन् तर भ्रष्टाचारमा आरोपितलाई निलम्बन गर्नुपर्ने माग राखेका थिए। यसअघि पनि कांग्रेसले भ्रष्टाचार विरुद्ध आन्दोलन गरेको स्मरण गराउँदै उनले जो सुकै नेता भएपनि भ्रष्टाचारमा मुछिएपछि स्वतः निलम्बन हुने निर्णय पार्टीले लिनुपर्ने उनको भनाइ थियो।

‘हिजो भ्रष्टचार विरोधी आन्दोलनको नेतृत्व पहिले पनि नेपाली कांग्रेसले गरेको हो। आजका दिनमा बहुचर्चित भ्रष्टचार काण्ड छानबिन गर्न सरकारलाई कांग्रेसले दाबाव दिनुपर्छ। आवश्यक परे सडकमा उत्रिन हामी तयार हुनुपर्छ,’ उनले भनेका थिए, ‘छानबिनको क्रममा दोषी देखिए म त यो त्यो मन्त्री राज्यराज्य पूर्व मन्त्री प्रधानमनन्त्री भनेर हुँदैन कारवाहीको दायर भित्र ल्याउन दबाव दिनुपर्छ। कांग्रेसले व्यक्ति हेर्दैन, एजेन्डा हेर्छ भन्ने कुरा स्थापित गर्न जरुरी छ। हामीले अख्तियार अख्तियार दुरुपयोग गरेको वा भ्रष्टचारको कुनै पनि घटनामा पार्टीको नेता वा सदस्य दोषी देखिएमा स्वतः निलम्बन भएको मानिनेछ भनेर नीतिगत निर्णय गरौं। यति भएपछी व्यक्ति तर्फ गइरहनुपर्दैन।’

बिहीबार शिवाकोटी र आचार्यले खाणको निलम्बनको माग गरिरहँदा केन्द्रीय सदस्य चन्द्र केसी भने एमालेका पालामा भएका भ्रष्टाचारबारे नबोलेको तर आफ्नै नेताको विरोध गरेको भन्दै आक्रोश पोखेका थिए। उनले अदालतमा विचाराधीन रहेका मुद्दा किनारा नलाग्दै आफैं न्यायाधीश भएर भैलो गाउने काम भइरहेको बताएका थिए। भ्रष्टाचार कसले गर्‍यो भनेर सबैजना नाम लिन डराउने। तर सर्वोच्च अदालतले दोषि ठहर गरिसकेको मान्छेलाई आम माफी मार्फत चोख्याउन मिल्ने? अदालतमा विचाराधीन रहेको मुद्दाहरुमा किनारा नलाग्दै आँफै न्यायाधीश भएर भैलो गाउँदै गएर हिड्ने? नेताहरुको बुद्धि आए हुन्थ्यो कि!,’ केसीले आक्रोश पोख्दै भने, ‘भ्रष्टाचारको कुरा गर्दा हिजोमात्र १ क्वीन्टल सुन पक्रेका छन्। एमालेको पालामा भ्रष्टाचार भएका छन्। तीनका बारेमा चर्चा हुँदैन। अनि हामी विधिको शासनको कुरा गर्ने ? अन्तराष्ट्रिय कानूनको कुरा गर्ने, मानवअधिकार कुरा गर्ने?’

भ्रष्टाचारका काण्डमा पार्टीका नेताहरुको नाम मुछिएकाले अनुहार देखाउन गाह्रो परेको केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको गुनासो थियो। उनले चिया पसलमा भ्रष्टाचारको प्रसंग उप्किए उठेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको बताएका थिए।

‘भ्रष्टाचारको समचार आउँछन्। ती फेक समचार हुन् कि सत्य हुन्? हाम्रा नेताहरुको पनि नाम जोडेर आउँछ। यसबारे प्रष्ट निर्णय लिनुपर्छ। हामी सुनेर मात्र बस्नुपर्ने? काहिँ कसैले कुरा गर्‍यो भने हामी उठेर हिड्नुपर्ने अवस्था छ,’ उनले भने। गुरुङको जस्तै गुनासो सञ्जय गौतमको पनि थियो। उनले भनेका थिए, ‘भ्रष्टाचार र सुशासनको मुद्दा अहिले प्रवल बनेको छ। गाउँमा जान सकिने अवस्था छैन। मुख देखाउने अवस्था छैन। यसबारे निर्णय लिनुपर्छ।’

विचरा महामन्त्री चरी जेलैमा!
केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले भने महामन्त्रीद्वयलाई विधानले अधिकार नै नदिएको भन्दै विचराको संज्ञा दिएका थिए। उनले भनेका थिए, ‘विचरा महामन्त्री भन्न चाहान्छु। विधानमा अधिकार रहेनछ। चरी जेलैमा!,’ उनले भनेका थिए।

संसदीय व्यवस्थामा दलहरुको अस्तित्व जनताको विश्वास रहँदासम्मका लागि मात्रै रहने तर्क गरेका उनले कार्यकर्ताका लागि मात्रै नभए जनताका लागि राजनीति गर्नुपर्ने बताए।

‘संसदीय व्यवस्थामा रहेका राजनीतिक दल जनताको विश्वास जितेका दिनसम्म जिवित रहन्छन्। हामीले ८ लाख ६६ कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौं कि २ करोड जनताका लागि पनि गरिरहेका छौं,’ उनले भने, ‘जनआन्दोलनमा सभापति जेलमा हुनुहुन्थ्यो। त्यो बेला जन्मिएको बच्चा अहिले मतदाता बनेको छ। उ अहिले पढ्न विदेश जाने तयारीमा छ। तर विदेशमा जन्मेकाहरु नेपालमा पढ्न जाने भन्ने बनाउने कहिले?’

उनले महामन्त्री ल्याएको वार्षिक क्यालेन्डरमा महिला हिंसा र सामाजिक न्यायका विषयमा नबोलिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए। उनले कांग्रेसले भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए। ‘सामाजिक सञ्जालमा कांग्रेस भ्रष्टाचारका विषयमा मुख थुन्छ, कानमा रुइ हाल्छ भन्ने छ। यो क्यालेन्डरमा शुसील कोइरालाका नाममा एक साता लामो भ्रष्टाचार विरोधी अभियान संचालन गर्नु जरुरी छ,’ उनले भने।

हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्नुस्
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी प्रति आक्रमक सुनिएका थिए। बुढाथोकीले बुधबारको बैठकमा कोशी प्रदेशमा सरकार गठन हुँदा सभामुखले हस्ताक्षर गरेर असंवैधानिक काम गरिएको भन्दै थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने? भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा थापाले बुढाथोकीलाई भनेका थिए, ‘हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्नुस्, मलाई नमाने हुन्छ।’

उनले बुढाथोकी माथि चुनावमा अष्ट्रेलिया भागेर अन्तरघात गरेको आरोप समेत लगाए। ‘चुनावमा झापा २ मा गठबन्धनका उम्मेदवार हराउने काम उहाँले गर्नुभएको छ। भागेर अष्ट्रेलिया जनुभएको छ। देउमान थेवेलाई भोट नदेउ भनेर उहाँले भनेको म्यासेज रेकर्ड छ। यस्ता नेतालाई कारबाही गर्नुपर्छ। उहाँ भागेर अष्ट्रेलिया पुगेर फोन गरेर गठबन्धनका उम्मेदवारलाई भोट नदेउ भन्नुभएको छ,’ उनले भनेका थिए।

राजा र राणाको संज्ञा
बिहीबारको बैठकमा २ जना केन्द्रीय सदस्यले पार्टीमा राजा र राणाको जस्तो प्रवृत्ति कायम रहेको बताए। सञ्जय गौतम र कर्णबहादुर बुढाले कांग्रेसमा राजा र राणाकालको जस्तो प्रवृति कायमै रहेको बताएका हुन्। ‘हामीले चुनाव जितेका छौं तर राजनीति हारेका छौं। कार्यकर्तामा उर्जा देखिँदैन। पार्टी विधि र विधानले चल्नुपर्छ। विधि र विधान अनुसार चल्छौं भनेर संकल्प गरौं। त्यसले धेरै कुरा हल गर्छ,’ उनले भनेका थिए।

उनले पार्टीका भगवान र राजा जस्ता नेताले भनेको मान्नुपर्ने हो कि विधीलाई फलो गर्नुपर्ने हो? भन्दै प्रश्न गरेका थिए। ‘सभापतिज्यू पार्टीका नेता भगवान वा राजा हो? हुकम हामीले मान्नुपर्ने हो?,’ उनले प्रश्न गरे, ‘कि विधी फलो गर्नुपर्ने हो? यहाँहरुले जे गरेपनि हुने हामीले बोल्न पनि नहुने के हो?’ बुढाले भने कांग्रेसभित्र तानाशाही जिवित रहेको बताए। उनले आफ्नै जगमा उभिएको मान्छेले पार्टीभित्रको सिन्डिकेट नमान्ने दाबी गरेका थिए।

‘केही व्यक्तिको मनोपोली राख्नका लागि राजतन्त्र र राणाशासन फालेको हो? कांग्रेसभित्र तानाशाही जिवित छ। कांग्रेसमा राणाशासन जिवित छ,’ उनले भनेका थिए। केन्द्रले भाग लगाएर टिकट बाँडेर चुनाव जित्न नसकिने जिकिर गरेका उनले कार्यकर्ताले पार्टीको सरकार भएको प्रत्याभूती गर्न नसकेको बताएका थिए। ‘केन्द्रमा भाग लगाएर टिकट बाँडेर चुनाव जितिन्छ? चुनावमा नेताले भोट हाल्ने हो?,’ उनले भनेका थिए।

उपगुटले पिडित भएको गुनासो
नेकेन्द्रीय सदस्य राजीव विक्रम शाहले भने आफू उपगुटको शिकार बनेको गुनासो गरेका थिए। कर्णाली प्रदेशमा संसदीय दलको नेता चुनाव लड्ने आकांक्षा राखेपछि उपगुटको शिकार हुनुपरेको गुनासो उनको थियो।



‘कम्युनिष्ट पार्टीको गढ मानिएको जिल्लाबाट दुई दुई पल्ट म निर्वाचित भएको छु। एकपल्ट संघमा र एकपल्ट प्रदेशमा। तर पनि लगातार गुटको शिकार हुनुपरेको छ। महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित मैले प्रदेश सभामा संसदीय दलको नेतामा प्रतिष्पर्धाको आकांक्षा राखेको थिएँ,’ उनले भनेका थिए, ‘ म चुनाव लडेर त्यसबाट प्राप्त जस्तोसुकै नतिजा सहजताका साथ स्वीकार गर्न तयार थिएँ। तर दिइएन। किन? लोकतान्त्रिक पार्टीमा प्रतिष्पर्धा गर्छु भनेर मैले चाहना राख्नु अपराध थियो ? त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौँ सभापतिज्यू ?’

उनले उनले चुनाव लड्छु भन्दा पार्टीका पदाधिकारीबाट गलत व्यवहार भएको बताएका थिए। ‘मैले संसदीय दलको नेता चुनाव लड्छु भन्दा पार्टीकै पदाधिकारीबाट कस्तो व्यवहार भयो ? जगजाहेर छ। त्यो अपराधको भागीदार कहिलेसम्म हुनुपर्ने हो ? के के सजाय पाउनुपर्ने हो ? कांग्रेसको नेतृत्त्व तहमा बसेका जिम्मेवार नेताले गरेको यो व्यवहार हामीले कहिलेसम्म सहनुपर्ने हो ? लोकतान्त्रिक पार्टीमा विचार विमर्स हुनुपर्छ कि पर्दैन ?,’ उनले भने।

पदाधिकारीहरु पार्टी कार्यालयमा बसिदिनुहोला!
केन्द्रीय सदस्य डा चन्द्रमोहन यादवले भने पार्टी पदाधिकारीलाई अफिसमा बस्न आग्रह गरे। उनले आफूले चाहेर पनि सभापति र महामन्त्रीलाई भेट्न नसकेको गुनासो गर्दै उनले पार्टी कार्यालयमा बसिदिन आग्रह गरेका हुन्।

‘पदाधिकारीहरु कार्यालयमा बस्नुहुन्न। जति चाहेपनि चाहेको नेतालाई चाहेको समयमा भेट्न सक्न सकेको छैन। मैले सभापतिलाई भेट्न सकेको छैन। महामन्त्रीसँग छलफल गर्न सकेको छैन। पदाधिकारीहरु यो भवनमा बसिदिन अनुरोध गर्दछु,’ उनले भनेका थिए। उनले क्रियाशील सदस्यता वितरणमा सिन्डिकेट कायम गरिएको आरोप लगाए। क्रियाशील सदस्य खुलारुपमा निशुल्क वितरण गर्नुपर्ने उनको भनाइ थियो। ‘अहिलेसम्म क्रियाशील सदस्यता वितरणमा सिन्डिकेट छ। त्यसलाई सुधार्न नसके पार्टीलाई क्षति हुन्छ। क्रियाशील सदस्य किर्ते गरिन्छ, पैसामा किनिन्छ नत्र माथिबाट थपिन्छ। यसलाई ब्रेक गर्नुपर्छ। अब यसलाई सिन्डिकेटमा बाँड्न खोज्यो भने हामीलाई ड्यामेज गर्छ। खुलारुपमा क्रियाशील सदस्यता निशुल्क बाँडियोस्। र यसमा नियन्त्रण नहोस्। करप्सन छ। यसलाई चिरेर जाने र म्यानेज गरेर जाने त्यो दायित्व नेतृत्वको हो,’ उनले भने।

लाइभ बारे गुनासो पनि
अधिकांश केन्द्रीय सदस्यहरुले बैठक लाइभ गरेकोमा सभापति देउवालाई धन्यवाद दिइरहेका छन्। उनीहरुले बैठक लाइभ गरेर पार्टीलाई २१ औं शताब्दी सुहाउँदो र प्रविधिमैत्री बनाइएको जिकिर गरिरहँदा बिहीबार बोल्ने केही सदस्यहरुले भने लाइभबारे गुनासो गरेका छन्। बुधबारको बैठकमा पनि केन्द्रीय सदस्य गुरु बरालले लाइभमा आफ्नो धारणा नराख्ने बताएका थिए। बिहीबार बोलेका डा चन्द्र मोहन यादवले लाइभ गर्ने निर्णयमा आफ्नो रिजर्भेसन रहेको बताएका थिए।’

लाइभ गरेकोमा पहिलो दिन हौसिएको थिएँ। म यसमा रिजर्भेसन राख्न चाहान्छु। सबै कुरा लाइभमा राख्न सकिँदो रहेनछ,’ उनले भने। यस्तै राजिवविक्रम शाहले पनि बैठक लाइभ भएकोप्रति गुनासो राखेका थिए।

उनले पार्टीका केन्द्रीय सदस्यहरुभित्र गुम्सिएर रहेको कुरा लाइभ भइरहेकाले खुलेर नआएको बताए। ‘केन्द्रीय समितिको लाइभ गरेर हामीले ठिक गरेका छौं ? भित्रका कुरा बाहिर ल्याउनु कति राम्रो हो?,’ उनले भने। सञ्जय गौतमले पनि बैठक लाइभ गर्ने कुरा ठिक नभएको बताए। ‘पार्टीको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्ने कुरा ठिक होइन। म असहमत छु। पार्टी विचारले चल्छ। भिडले चल्दैन,’ उनले भने। कर्णबहादुर बुढाले पनि बैठक लाइभ गरिएको प्रति असन्तुष्टी जनाएका थिए।

अन्तिममा सेलिब्रेसन
बैठक चलिरहँदा नेताहरुले गरम बहस गरिरहेका थिए। एकअर्काको आलोचना र आरोपप्रत्यरोप गर्न आ-आफ्ना तर्क र जिकिर पेश गरिरहेका थिए। तर बिहीबारको बैठक स्थगन हुनुअघी नेताहरु सेलिब्रेसनमा रमेका थिए। महामन्त्री गगन थापाको जन्मदिनको सेलिब्रेसनमा नेताहरु रमेका थिए। बैठक स्थलमै केक काटेर गगनको जन्मदिन मनाइयो। सभापति देउवा सहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुले महामन्त्री थापालाई हार्दिकतापूर्वक जन्मदिनको शुभकामना दिए, केक खाए अनि भोली फेरी बहसमा उत्रनेगरी सानेपाबाट बाहिरिए।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा बिहीबार ३५ जना नेताहरूले बोलेका थिए। बिहीबार केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर के.सी., उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार के.सी., उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी.ले धारणा राखे। यस्तै आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेका थिए।

बैठकमा धारणा राख्ने क्रम जारी छ। कार्यसमितिको बैठक श्रावण ५ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।

यसअघि साउन ३ गते (बुधबार) ४६ नेताले धारणा राखेका थिए। बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा वि.क., विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले धारणा राखे।  

यस्तैगरी आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) ले आ–आफ्ना धारणा राखेका थिए। 

साउन २ गते सुरु भएको बैठकको सुरुमा महामन्त्री विश्वप्रकाश शर्माले १० बुँदे प्रस्ताव र सोही प्रस्ताव भित्रको सांगठनिक कार्ययोजना र कार्यतालिका महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका थिए। बैठकमा मंसिर ४ को निर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधिबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराएका थिए।

केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन समितिका संयोजक गोपालमान श्रेष्ठले निर्वाचन समितिको प्रतिवेदन पेस गरेका थिए। यसैगरी, केन्द्रीय अनुशासन समितिको प्रतिवेदन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना र संसदमा पार्टीको गतिविधिसम्बन्धी प्रतिवेदन प्रमुख सचेतक रमेश लेखकले बैठकमा प्रस्तुत गरेका थिए। 

प्रकाशित: २०८० साउन ४ गते बिहिबार ०८:५८
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना