२०८३ कार्तिक ११ गते मङ्गलबार

कांग्रेस बैठक : देउवाको प्रशंसा र खाणको बचाउ, समय कटाउन तास र क्यान्डी-क्रस

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, साउन ३
tas_candy_crush

काठमाडौँ- मंगलबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले बैठकका एजेन्डा, वर्षदिने क्यालेन्डर र विभिन्न प्रतिवेदनका विषयमा धारणा राखे। सात दशक लामो इतिहास बोकेको कांग्रेसले इतिहासमै पहिलो पटक केन्द्रीय समिति बैठक लाइभ गरिरहेको छ। जसका माध्यमबाट बैठकमा राखेका धारणा र नेताहरुका गतिविधि सहजै नियाल्न सक्ने स्थिति छ।

बुधबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवाको प्रशंसा गर्न समय खर्चिए। केन्द्रीय समितिको बैठक लाइभ गरेको, पार्टीलाई पहिलो बनाएको र सरकार गठनका बेला भत्किएको गठबन्धन ब्यूँत्याउन सफल बनेको भन्दै उनीहरुले देउवाको प्रसंशा गरेका थिए।

केही केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणको बचाउ गरे। कतिपयले देउवाको प्रसंशा गर्ने क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना समेत गरे। देउवा पक्षीय केन्द्रीय सदस्यहरुले सभापतिको आलोचना गर्दा पार्टी नै कमजोर बन्ने तर्क समेत पेस गरेका छन्। जबकि लोकतान्त्रिक पार्टीमा नेतृत्वको आलोचनालाई सामान्य रुपमा लिइन्छ।

मंगलबार बोल्ने अधिकतर केन्द्रीय सदस्यहरुले नेतृत्वको तेजोबोधले पार्टी कमजोर हुने तर्क पेस गर्दै आलोचनालाई बन्देज लगाउनुपर्ने अनौठो तर्क पेस गरेका छन्। मनोनीत केन्द्रीय सदस्यहरुले देउवाको बचाउ गर्दै निर्वाचित महामन्त्रीहरुको विकल्प खोज्ने चेतावनी समेत दिएका छन्। त्यसरी चेतावनी दिने केन्द्रीय सदस्य हुन्-लक्ष्मी खतिवडा। १४औं महाधिवेशनमा उनी सुनसरी-१ को क्षेत्रीय सभापतिमा पराजित भएकी थिइन्। उनलाई पछि देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

लक्ष्मी खतिवडा।

त्यसो त कांग्रेसका पुराना नेता केशवकुमार बुढाथोकीले पदाधिकारीहरुलाई ‘ननसेन्स’समेत भन्न भ्याए। उनले गृहजिल्ला झापाको राजनीति, कोशी प्रदेशको नामकरण र सरकार गठनसँगै तरुण दलको केन्द्रीय समिति गठनका सन्दर्भमा असहमति राख्दै पदाधिकारीहरुलाई ‘नन्सेन्स’ भनेका थिए।

केन्द्रीय समिति बैठक लाइभ भएकोमा कतिपयको असन्तुष्टी थियो। त्यसरी असन्तुष्टl राख्ने केन्द्रीय सदस्य हुन्-गुरु बराल। उनले आफ्नो बोल्ने पालोमा लाइभ बन्द गर्न आग्रह गरेका थिए। तर लाइभ रोकिएन। बैठकमा बोल्ने अधिकांशले भने लाइभ प्रसारणको स्वागत गरेका थिए। अझ कतिपयले त बैठक लाइभ गरेर पार्टीले आफूलाई २१औं शताब्दीअनुरुपको ढाँचामा ढालेको दाबी गरेका थिए। कतिपयले भने महत्त्वपूर्ण निर्णय कार्यसम्पादन समिति र पदाधिकारी बैठकले गर्ने गरेको भन्दै आफूलाई ‘सी ग्रेड’को केन्द्रीय सदस्य समेत भनेका थिए। जिम्मेवारी नदिइएकोमा धेरैको असन्तुष्टि थियो।

प्रदेश सभापतिहरुको आक्रोश- भूमिका नदिने भए खारेज गरौँ
बुधबारको बैठकको सुरुवातमा सभापति देउवाले प्रदेश सभापतिहरुलाई बोल्न समय दिएका थिए। उनीहरुले भूमिका नपाएको गुनासो मात्रै गरेनन् केन्द्रीकृत सोच नत्याग्ने भए प्रदेश संरचना खारेज गर्न माग समेत गरेका छन्।

अझै केन्द्रीकृत मानसिकता पार्टीमा हाबी भएको उनीहरुको निष्कर्ष थियो। भूमिका नदिने भए जिल्लामै झरेर काम गर्न तयार रहेको भन्दै मधेस प्रदेशका सभापति कृष्ण यादवले प्रदेश संरचना खारेज गर्न आग्रह गरेका थिए।

‘जिम्मेवारविहीन बनाउनु छ भने खारेज गरिदिए हुन्छ। सात प्रदेशको संरचना किन बनाइएको हो ? यदि प्रदेशलाई जिम्मेवारी दिन नमिल्ने हो भने हामीलाई जिल्लामै बसेर काम गर्न तयार छौं। भूमिका किन नदिएको हो ?,’ यादवले भने, ‘केन्द्रले जिल्लासँग काम गर्छ, जिल्लाले केन्द्रसँग सिधै काम गर्छ। हामी बिचमा छौँ, हामी न तल, न माथि भएका छौँ।’

बागमती प्रदेशसभापति इन्द्र बानियाँको भनाइ पनि उस्तै थियो। उनले प्रदेश संरचना आवश्यक नभए खारेज गरिदिन आग्रह गरे। ‘महामन्त्रीको क्यालेन्डरमा प्रदेश मैले कहीँ पनि भेटिनँ। संघीयताभित्र कांग्रेसको संविधान अनुसार विधान नभएको देखिन्छ प्रदेशलाई प्रथाामिकतामा नरोखको देखिन्छ,’ बानियाँले भने, ‘प्रदेश आवश्यक छैन भने संघीयताभित्र दुई तह केन्द्र र स्थानीय तह हुन्छ भनेर नेतृत्व कांग्रेसले गरोस्। कांग्रेस प्रदेशप्रति खुसी छैन कि भन्ने देखिन्छ। यो प्रदेशको आवश्यक्ता र औचित्यमाथि प्रश्न उठेको छ।’

लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले प्रदेशलाई कमजोर बनाउने काम केन्द्रबाट भइरहेको आरोप लगाए। ‘महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमा प्रदेशको भूमिका छैन। भएको अधिकार कुण्ठित र खोस्ने काम भएको छ। प्रदेश तहलाई बेवास्ता भयो,’ पुनले भने, ‘अहिले संघीयताकै विषयमा प्रश्न उठिरहेको छ। त्यहीअनुसार पार्टीमा पनि यो भएको हो कि भुलवश हो? प्रदेशलाई अधिकार दिन, भूमिका दिन नचाहेको हो कि विश्वास नभएको हो?’

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी नेतृत्वलाई केन्द्रबाट शासन बन्द गर्न आग्रह गरे। ‘केन्द्रबाट जिल्लादेखि पालिकासम्म सिधा सम्पर्क गर्दा प्रदेशको औचित्य घटिरहेको छ। जिल्ला र स्थानीय तहले पनि प्रदेशको मातहत छु भन्ने धारणा त्याग्न थालेका छन्,’ शर्माले भने, ‘केन्द्रबाट शासन बन्द गरियोस्। संविधानले गरेको व्यवस्थाबमोजिम पार्टी सञ्चालन गर्ने कुरा केन्द्रबाटै प्रभावित पार्ने प्रयास नहोस्।’

सुदुरपश्चिम सभापति बीरबहादुर बलायरले महामन्त्रीले ल्याएको वार्षिक क्यालेन्डरमा प्रदेशको भूमिकाबारे उल्लेख नगरेकाले कार्यान्वयन हुन नसक्ने बताए। ‘वार्षिक कार्यतालिका हौसिएर आएको छ। यसको कार्यान्वयनमा अवरोध आउँछ। प्रदेश समितिको भूमिका बारे मौन छ। प्रदेशसमितिले काम गरेनन् भने गाह्रो छ,’ उनले भने।

तास र क्यान्डिक्रस
बिहान करिब ११:३० बाट सुरु भएको बैठक साँझ ६:३० सम्म जारी रह्यो। बीचमा करिब १ घण्टा खाजा ब्रेक भयो। लामो समय बैठक सञ्चालन हुँदा केन्द्रीय सदस्यहरुले समय कटाउन मोबाइलमा लुँडोदेखि तास र क्यान्डिक्रसम्म खेले। बैठक लाइभ भएका कारण यी दुई मोबाइलमा व्यस्त भएको प्रष्ट देखिन्थ्यो। पदाधिकारीहरु विरुद्ध आक्रमक बन्दै ‘ननसेन्स’ सम्म भन्न भ्याएका केशवकुमार बुढाथोकी मोबाइलमा तास खेल्न व्यस्त थिए।

५ मिनेट बोल्ने समयका बुढाथोकी अझै बोल्न चाहान्थे। तर समय सकिएपछि देउवाले उनलाई रोके। देउवाले बोल्न रोकेपछि असन्तुष्ट देखिएका बुढाथोकी मोबाइलमा निरन्तर तास खेल्न व्यस्त रहे।

सभापति देउवा पत्नी तथा केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पनि समय कटाउन मोबाइल प्रयोग गरिन्। उनको ध्यान मोबाइलमा क्यान्डिक्रस खेल्नमा थियो। तर आरजूले क्यान्डिक्रसको कति लेभल खेलिरहेकी थिइन्? त्यो चाहिँ लाइभमा ठम्याउन सकिएन।

कसले के भने? उनीहरूकै शब्दमा
जीवनबहादुर शाहीः हामी आधुनिकीकरणमा गइरहेका छौं। हुम्ला देखि लाइभ हेरेर प्रतिक्रिया आइरहेको छ। लाइभ गर्दा त्यो रेसपन्स आयो। लाइभ गर्ने निर्णय उत्साहजनक छ। भित्र एक बोल्ने र बाहिर अर्को एक बोल्ने काम हुन्थ्यो। लाइभले राम्रै काम गरेको छ। कर्णाली प्रदेशसभाको संसदीय दलको नेताको हिसाबले कर्णालीमा संगठनमा सुधार भएको छ। कर्णाली भनेको माओवादीको आधार इलाका हो। म कहिलै पनि नबोलाइ नेताका घरमा नजाने मान्छे हुँ। अह्राएको काम गर्ने हो। मेरा विरुद्धमा लाग्ने काम भयो। यो देखिएकै छ। एकले अर्कालाई दोष लगाउने काम राम्रो होइन। १५७ जना केन्द्रीय सदस्यहरु छौं। हामीले सभापति, महामन्त्रीहरुलाई साथ दिने हो। हामी सबै मिलेर एकजुट हौं। विधि र विधान अनुसार पार्टी अघि बढोस्।

बहादुर सिंह लामाः १०टन बोल्नुभन्दा पनि १ तोला बोल्यो भने ओझनदार हुन्छ भनेर विपीले भन्नुभएको थियो। एकले अर्कोलाई तोजोबोध नगरिकन अघि बढ्नुपर्छ। नेतालाई विफल बनाउने र आफू सफल बन्ने दिशामा जानुहुँदैन। नेतालाई गालि गरिरहने र पार्टी बलियो बनाउने कुरा सफल हुँदैन। कुलो जस्तो खने पनि पानी आउँछ कि आउँदैन भन्ने मुख्य कुरा हो। त्यसकारण पानी आउने कुलो खन्नुपर्छ। युवा पुस्ताको आकर्षण कसरी बढाउने भन्ने महत्वपूर्ण छ। खल्तीबाट पद दिने होइन। खल्तीबाट नेता बनाउने तर्फ हामी गइरहेका छौं। त्यसरी नेता बनाउँदा संगठन भन्दा पनि नेता प्रति बफदार हुन्छ। त्यसले राम्रो गर्दैन। विधान अनुसार अघि बढिएन भने संगठन अघि बढ्न सक्दैन। इतिहास मात्र फलाकेर हुँदैन। अबको योजना के हो त्यो ल्याउनुपर्छ।

नैनसिंह महरः केन्द्रीय सरकार र संसद् र केन्द्रीय सदस्यकाबीचमा समान्वामत्मक बैठक बस्न सकेन। यसमा पदाधिकारी र सम्पादन समितिले केन्द्रीय समितिलाई अवमूल्यन गरेको छ। एक किसिमको सिन्डिकेट जस्तो छ। सरकारमा हामी छौं। सरकार जनता जनताप्रति कति उत्तरदायी छ? प्रश्न उठेको छ। सरकारले गरेको राम्रो कामको जस कांग्रेसले पाएको छैन। दोषको भारी बोक्नुपरेको छ। आर्थिक र कुटनीतिक धारणा बनाउनुपर्छ यसमा के गर्ने हो? संविधान माथि प्रहार हुने स्थिती आइसकेको छ। संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्न सकिन्छ। १८ वर्ष माथिका ३० प्रतिशत मतदाता ०८४ सालमा बढ्दैछन्। तीनलाई जोड्न हामीले योजना ल्याउनुपर्छ। नभए भोली हामी मात्रै रहन्छौं, मतदाता हामीसँग रहँदैनन्। कोशी प्रदेश नामकरण र सरकार गठनका विषयमा हामीले के भन्ने हो? थाहा छैन। युवा कांग्रेसको स्थापना आवश्यक छ। त्यसलाई भातृसंस्था बनाउनुपर्छ।

डा रणबहादुर रावलः नेपालमा भन्दा बाहिर राष्ट्रवाद चर्किएको छ। विदेशी नागरिकता लिएकाहरु झन चर्का राष्ट्रवादी भएका छन्। उनीहरुका कारण हामीलाई गाह्रो भइरहेको छ। सामाजिक सञ्जालले यति उछाल आएको छ। राम्रा मान्छेलाई धरासायी बनाउने र खराब मान्छेलाई अघी ल्याउने काम भइरहेको छ। त्यसकारण अनेक नामका पार्टी देखिएका छन्, परालको आगो जस्तो। त्यसलाई सामाजिक सञ्जाल मार्फत नै निभाउनुपर्छ। नेतालाई गाली गरेर फाइदा हुँदैन। आन्तरिकरुपमा झगडा गरौं। सामाजिक सञ्जालमा छताछुल्ल नपारौं।

गोविन्दबहादुर शाहः हामीले यति उदार व्यक्तिलाई सभापति पाएका छौं। यस्तो कलेक्टिभ नेतृत्वलाई सबै दोष लगाउने? पदाधिकारीहरुले गठबन्धन भत्किए पनि उहाँलाई दोष दिने? झारा टार्ने काम गरेर मात्र हुन्छ? सदस्यता खुला भएपछि कति जानाले पाए? सदस्यता नै कसैले लिँदैन भने बाँड्छन् के? सभापतिलाई पदाधिकारीले भनेको भए केन्द्रीय समिति २/३ महिनामै बस्थ्यो होला नी त। सबै दोष सभापतिलाई मात्रै दिने? सामाजिक सञ्जाल फेसबुक ट्विटरमा पदाधिकारी केन्द्रीय सदस्यका नाममा खोलिएका पेजमा मर्यादित लाजलाग्दो गरी नेताको मानमर्दन हुने काम भएको छ। कारबाही गर्नुपर्छ। लोकतन्त्र भनेको यस्तै छाडावाद हो? चरित्रहत्याको क्षतिपूर्ती कसले दिने? आफैं न्यायाधिस हुने, फैसला सुनाउने?महामन्त्रीले ल्याएको वार्षिक क्यालेन्डर राम्रो छ। कार्यान्वयन हुनुपर्छ।

सीतादेवी देवकोटा: सभापतिका बारेमा तथानाम गाली गर्ने छुट कसैलाई छैन। सभापतिलाई कमजोर बनाउन खोज्दा पार्टी कमजोर हुन्छ। पार्टी कमजोर बनाउने छुट कसैलाई पनि छैन। सरकार फेरिने हल्ला पनि बजारमा छ। देश र जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ। कि माओवादीलाई सिध्याउने कि कांग्रेसलाई सिध्याउने खेल छ। यो सामान्य खेल छैन। त्यसकारण सुझबुझपूर्ण निर्णय सभापतिले लिनुहुन्छ भन्ने मलाई लाग्छ। जबसम्म खाडी मुलुकमा रहेका मजदुरहरुको मनमा हामी बस्न सक्दैनौं त्यति बेलासम्म देश र कांग्रेसको भविष्य सुन्दर हुँदैन। रास्वपामा तीन गुट छ भन्ने पनि छ। त्यसमा ध्यान दिनपर्छ। पपुलिस्ट हुन खोज्न हुँदैन। शेरबहादुर पार्टीबाट चल्दैन भन्ने महामन्त्रीले शेरबहादुरबाटै सिकेको हुँ भन्ने कुराले के सन्देश हुन्छ। गोपालमान दाइलाई बरिष्ठ नेता बनाउन अनुरोध गर्न चहान्छु। कोषाध्यक्षमा महिलालाई ल्याउन अनुरोध गर्दछु।

देवेन्द्र राज कँडेलः भुटानी शरणार्थीको विषय अहिले चर्चामा छ। कुनै निर्दोष फस्न हुँदैन अपराधि उम्कन हुँदैन। अहिले मुलुकमा २ कानून छन्। एउटा मधेसका लागि अर्को अन्य ठाउँका लागि। दैनिक उपभोग्य समान दक्षिणको नाकाबाट सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्छ। सयले कात्रो पनि आउँदैन कफन पनि आउँदैन। मधेसमा कर लाग्ने उत्तर र एयरपोर्टबाट ल्याउँदा लाग्दैन। यसलाई मिलाउनुपर्छ। वार्षिक क्यालेन्डर राम्रो छ। अक्षरस कार्यान्वयन हुन पर्‍यो। ०७४ सालको चुनावको अहिले समिक्षा भइरहेको छ। ०७९ को कहिले हुन्छ। गोपालमानजीले ल्याएको प्रतिवेदन ०७४ को हो। हामी कहाँ छौं, कति पछि छौं? गणेश प्रवृत्ति भएकालाई पद दिने र गाउँमा दुःख गरेकालाई किन नदिइएको? नेता र मन्त्रीको ठाउँमा मात्र बजेट जाने अवस्था छ। विभेदकारी बजेट किन ल्याइयो? यता तिर पनि ध्यान जाओस्।

रामहरी खतिवडाः वार्षिक क्यालेन्डर कार्यान्वयन भए कांग्रेस स्वर्ण युगमा जान्छ। वार्षिक क्यालेन्डरमा महासमिति बैठक १ वर्षभित्र गर्न सके अझ राम्रो हुन्छ। हामी आफैंभित्र चर्का कुरा गर्छौं, गाली गर्छौं। यसको अन्त्य कसरी गर्ने? महामन्त्रीलाई कसैले गाली गर्ला पार्टी बलियो बनाउँदैन। सभापतिलाई गाली गर्दा पार्टी बलियो हुँदैन। गाली गरेर राम्रो बन्न नखोजौं। लाइभको सुरुवात राम्रो छ। पार्टी र देशको मन्त्री भएर साथीहरुले काम गर्न पर्‍यो। वडामा सिमित हुन भएन। ०८४ को चुनावबारेमा चर्चा छ। उपनिर्वाचनमा हामी पराजित भयौं। त्यो पराजयले एकअर्कालाई गाली गर्दै हिँडेर ०८४ को चुनाव जितिन्छ?शेखर कोइरालालाई धन्यवाद। उहाँले संयम भएर पार्टीलाई एक बनाएर लैजान खोज्नुभएको छ। त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहान्छु। संसद्मा सभापतिहरु यदाकदा जाने, उपसभापतिहरु मन्त्री। महामन्त्रीहरु छिनछिनमा देखा पर्ने प्रतिपक्षले कसरी हल्लाउँछन् देख्नुभएको छ?

नारायणबहादुर कार्कीः गाँउमा पनि भ्रष्टचार बढेको छ। यी भ्रष्टहरुलाई के गर्दा ठिक हुन्छ? महामन्त्रीहरुले सोच्नुस्। अहिले कांग्रेसले विश्वास गुमाएको छ। हामी निष्कृय बनेका छौं। हामी सक्रिय हुँदा यो निराशा छ। अहिले पुच्छरले कुकर हल्लाइरहेको छ। स्थानीय तहमा जितेकाहरुले पार्टीको वास्ता नगरेको भन्ने गुनासो छ। सबै तहका संगठन निष्कृय छन्। बैठक समेत बस्दैन। साथिहरुबीच छलफल हराएको छ। यसलाई सक्रिय कसरी बनाउने हो? कांग्रेस गुटका कारणले विभाजित छ। त्यसका कारण कांग्रेस कांग्रेसजस्तो बन्न सकेको छैन। तल्लो तहबाट पार्टी हित विपरित काम गरेकालाई कारबाहीका लागि सिफारिस गर्दा जोगाउने मात्रै होइन पुरस्कृत गर्ने काम भएको छ। तपाईँहरुले यो बैठक सकिँदा गुट त्याग्यौं भनेर घोषणा गर्नुस् भन्ने मेरो आग्रह छ। हाम्रो पार्टीमा कार्यकर्ता छैन,नेतैनेता छन्। अहिले कांग्रेस सक्ने परम्परा छ। एकथरीले नेताहरुलाई गाली गरिरहेका छन्, हामी काखी बजाएर बसेका छौं। काखी बजाउने काम नगरौं। सत्यतथ्यमा रहेर प्रतिकार गर्नुपर्छ।

लक्ष्मी खतिवडाः महामन्त्रीहरुले दायरा फराकिलो बनाउनुभएन भने तपाईँहरुले जसरी विकल्प खोज्छु भन्दै हुनुहुन्छ। तपाईँहरुको विकल्प पनि हामीले खोज्नुपर्छ। सभापति संस्थाा हो। सभापति खराब र हामी असल हौं भन्ने दाबी तपाईँहरुले गर्नुभएको छ। त्यो हाँस्यास्पद छ। महामन्त्रीज्यूहरु सभापतिसँगै उभिन जरुरी छ। कांग्रेसको नेता अभियोग लागेर पक्राउ पर्दा कांग्रेसका नेताहरु गृहमन्त्रीलाई धन्यवाद दिन पुग्नुहुन्छ। के कारणले हो? थाहा छैन। त्यही प्रकृतिको आरोप अर्को दलको नेतालाई लाग्दा उहाँहरु बोल्नुहुन्न। कांग्रेस कानूनी सर्वोच्चतालाई मान्छ। कांग्रेसका कार्यताले पनि मान्नुपर्छ।

नृपबहादुर वडः सभापतिलाई काम गर्न दिएका छैनौं। महामन्त्रीहरुले १० महिना अघि पनि त कार्यतालिका ल्याउन सक्थ्यौं। किन आएन? कांग्रेसलाई कसरी कमजोर बनाउने, आफू कसरी बन्ने भन्नेमा मात्रै हाम्रो ध्यान छ। यो देशमा हाम्रो लगानी ८० वर्ष र बलिदानी पनि त्यति नै छ। हिजो अस्ति आएका पार्टीबाट हामी डराएका छौं। कांग्रेसले गरेका काम प्रचार गरेर जाने हो भने डराउनुपर्दैन। ठूला पार्टीलाई गाली गरेर नयाँ अघि पार्टी अघि बढ्दैछन्। यसबाट आत्तिन पर्दैन। सकारात्मकरुपमा लिएर अघि जानुपर्छ। कसै माथि गाली गर्दा आफू माथि पनि गाली आउँछ भन्ने हामीले सोच्नुपर्छ। सभापतिका सुझबुझका कारण भत्किएको गठबन्धन फिर्ता आयो। सभापतिलाई धन्यवाद।

दिलमान पाख्रिनः तीनै तहमा पार्टी पहिलो भयो। तर समानुपातिक मत किन घट्यो? उपनिर्वचनको परिणामले कांग्रेसको अवस्था देखाउँछ। सच्चिन पर्ने यसको सन्देश हो। यसको समिक्षा गर्न जरुरी छ। बजेट ल्याउँदा शक्ति र सत्ताको आधारमा मात्रै आएको छैन? भन्ने आशंका जन्मिएको छ। मन्त्रीहरुले बजेट विनियोजन गर्दा आफ्नो जिल्ला, क्षेत्र र साथीभाइको जिल्लालाई प्राथमिकतामा राख्नुभयो। अन्य जिल्ला र क्षेत्रलाई उपेक्षा गरिएको छ। कुण्ठा छाडेर पार्टी निर्माणमा के हौं।

केशवकुमार बुढाथोकीः प्रदेश १ को नामकारणमा हामी किन बोलेनौं,पार्टी कहाँ छ? ओलीले कोशी प्रदेश नाम राखे हामी लहैलहैमा लाग्यौं। आज कोही नेता गाउँ जान सकेका छैनन्। महामन्त्रीजीको प्रतिवेदनमा खै कुरा आएको, सभापतिको कुरा के हो? पहिचान सहितको नाम मागिरहेका छन्। कांग्रेस चुप लागेर बसेको छ। आन्दोलनकारीसँग बसेर सल्लाह नगर्ने हो भने चुनावमा नगए हुन्छ। सिटौलाजी संविधान बनाउँदा नेतृत्वमा हुनुहुन्थ्यो। सभामुखले मत हालेर बहुमत पुर्‍याएर सरकार बनाउन मिल्छ? कांग्रेसले टुलुटुलु हेरेर बस्ने। चिफ मिस्टर मान्ने कि ठिक छैन भनेर भन्ने? सभापति र महामन्त्रीहरुको कुरा के हो? हामीले चिफ मिनिस्टर मान्ने हो कि होइन? भातृसंस्था को सँग सल्लाह गरेर बनाउनुभयो? सबैले छोरा छोरी हाल्नुभएछ। मेरो पनि छोरा राखिदिनुपर्‍यो। महिला संघ बनाउनुभयो भने मेरी श्रिमती बनाइदिनुपर्‍यो। झापा जिल्ला सभापतिले १० जनाको समिति र ५३ जनाको सल्लाहकार बनाएको छ। विधानले दिन्छ? महामन्त्री जिल्लाको नेता टुलुटुलु हेरेर बस्न मिल्छ? हु आर यु? के गर्दैहुनुहुन्छ तपाई? ननसेन्स।

उर्मिला थपलिया: तरुण दल गठन गर्दा गुट भन्दा माथि उठ्न सकेनौं। हामीले फलोअर्स मात्रै उत्पादन गर्ने होइन नेता उत्पादन गर्नुपर्छ। फरक गुटमा रहँदा नराम्रो र आफ्नै गुटमा रहँदा राम्रो देख्ने प्रृवित्ति हामीले छाड्नुपर्छ। हामीले भातृसंस्थालाई चलायमान बनाउन नसक्दा युवाहरु हामी टाढा हुँदै गएका छन्। भातृसंस्था चलायमान हुँदा कांग्रेस चलायमान हुन्छ। ०८४ को चुनाव जित्न अहिले देखिनै नविन ढ‌ंगले अघि बढ्नुपर्छ। चुनावमा कांग्रेसलाई मत नहाल्नेको क्रियाशील सदस्यता खारेज हुनुपर्छ।

राधा घलेः रुपान्तरणको नाममा कांग्रेसलाई बलियो बनाउने भन्दा पनि आफूलाई बलियो बनाउन लागेको हो कि भन्ने लागेको छ। संस्था बलियो बनाउँदा मात्रै हामी सबै बलियो हुने हो। भ्रष्टाचारका विषयमा कांग्रेस संवेदशील हुनुपर्छ। आज एउटा नेतालाई समातेर लैजाँदै गर्दा पार्टीकै साथीहरु संवेदनशील नहुने कुरा कति जायज हो? गृहमन्त्रीलाई भेट्न जानु कति उचित हो? आरोप लागेकै भरमा हामीले आफ्नै साथीलाई साथ दिन सकेनौं। जुन दुखद् छ।

जीवन रानाः अग्रजहरुले एकअर्काको कुरा काटेको देख्दा दुःख लाग्छ। रुपान्तरणको कुरा यहाँहरुले गर्नुहुन्छ? रुपान्तरण शब्दमा मात्रै हो कि व्यवहार पनि? मैले महसुस गर्न पाइनँ। पार्टी सभापतिलाई मात्र दोष लगाउनुभन्दा हामी पनि जिम्मेवार हुनुपर्छ।

शान्ति परियार विकः टिमका नाममा पार्टीभित्रको कुरा बाहिर छताछुल्ल पार्दा भोलीका दिनमा पनि त्यही कुरा दोहोरिन्छ। शेरबहादुर देउवालाई दोष लगाउँदै गर्दा पदाधिकारी पनि दोषी हुनुहुन्छ। आज शेरबहादुर दाइ हुनुहुन्छ, भोली के हुन्छ? भन्ने चाहिँ चिन्ताको विषय बनेको छ। बजारमा ०८४ को अभियान चलेको सुन्न पाइन्छ। पार्टी भित्र नमिलेका कुरा तपाईँहरु मिलेर मिलाउनुस्। बाहिर नआओस्। गुटका नाममा कोही पनि कार्यकर्ता भिक्टिम बन्न नपरोस्। गुटको अन्त्य गरियो। यसको अन्त्य शेरबहादुर दाइले नै गर्नुस्। हिजो उमेश श्रेष्ठलाई हराउन लाग्नेहरु तरुण दलको केन्द्रीय सदस्य कसले बनायो? गुटले बनायो?

सुशीला थिङः पार्टी भित्रको कुरा प्रतिपक्षी नेताले जस्तो बहस गरेर पार्टीलाई फाइदा हुँदैन। महत्वपूर्ण कुरा सम्पादन र पदाधिकारी बैठकमा हुन्छ। त्यसको लाइभ हुन्छ कि हुँदैन? म चाहिँ सि ग्रेडको केन्द्रीय सदस्य जस्तो लाग्छ। पार्टी सभापतिलाई गाली गर्दैमा पार्टी बलियो हुँदैन। संसदीय दलको नेता बहुमत पुर्‍याएर फेर्न पाइन्छ भन्ने कुरा सुनिएका छन्। त्यो अलोकतान्त्रिक कुरा हो। यस्तो म्यासेज जनतामा जान हुँदैन।

नगिना यादवः विना डिसिप्लिन लामो रेस जित्न सक्दैन। लामो रेस जित्न डिसिप्लिन चाहिन्छ। न कि फ्रिडम। पार्टी फ्रिडम तिर गयो। डिसिप्लिन तिर जानुपर्छ। जथाभावी मिडियाबाजी हुँदा पार्टी कमजोर भएको छ। वार्षिक क्यालेन्डर एकदमै राम्रो आएको छ।

जानकी सिंहः पहिलो पार्टी बनाउनुभएकोमा सभापतिज्यूलाई धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु। सामाजिक सञ्जालबाट बोल्दा, लेख्दा कांग्रेस कमजोर भएको छ।

कुन्दन काफ्लेः कांग्रेस किन रक्षात्मक हुन पर्‍यो। संगठन, सिद्धान्त र विचार छ। संघर्ष र क्रान्ति गर्नुपर्ने पनि पर्ने छैन। कोही प्रतिक्रियाको पोकोबाट उम्लिएर पोखिने अवस्थामा छ। विद्यार्थीहरु विदेशिएका छन्। युवाहरु खाडी मुलुक गएका छन्। विपीले कांग्रेस हेर्न गाउँ जान हेर्नुभन्नहुन्थ्यो। गाउँमा अहिले युवा छैनन्। शहर पुपुलिज्मबाट आक्रन्त छ। साना तिना सुधारले कांग्रेसलाई पुरानो अवस्थामा फर्कन गाह्रो छ। विद्यालयको शिक्षामा गरिब र धनीबीच ठूलो खाडल छ। त्यसलाई पुर्न कांग्रेसले सकेन। टुप्पोमा पानी हालेर फेद नहेर्दा रुख मर्छ। कांग्रेसले फेद हुनुपर्छ। आधारभूत तहमा नैतिक शिक्षाको पाठ्यक्रम हटेको छ। सामाजको औचित्य र आवश्यकताको पुनरावलोकन गर्न आवश्यक छ। आज ४ सय जनाको तरुण दल बनेको छ। मापदण्ड केही छैन केन्द्रीय समिति आइसकेको छ। त्यसकारण प्रश्नप्रश्नै उब्जिएका छन्। विपीले एक हल गोरु भन्नुहुन्थ्यो। आज झुपडीमा ट्याक्टर छ कि छैन कांग्रेसले हेर्नुपर्छ। यसक लागि बलियो कांग्रेस चाहिन्छ। केन्द्रीयलाई के जिम्मेवारी दिनुभएको छ? हामीले मिडिया मार्फत कांग्रेसका गतिविधि थाहा पाउँछन्। लाइभ बैठक गरेका कारण अरु पार्टीलाई पनि दबाब परेको छ। नेपाली कांग्रेसले आफैं भित्रको समस्यालाई ठूलो मानिरहेको छ। त्यो भन्दा ठूलो समस्या बाहिर छ। त्यसलाई कांग्रेसलाई सम्बोधन गर्नुपर्छ।

गुरु बरालः मेरो भनाइ सामाजिक सञ्जालमा नजाओस्। गएको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्यो। तर आम निर्वाचनमा ७/८ लाख भोट हराएको छ। कहाँ खोज्ने? कांग्रेस कांग्रेसभित्रै कमजोर भयो। यो सवाल पदाधिकारीहरुले मनन् गर्नोस्। तपाईहरु अनुशासनमा रहनुस्। बोल्दा, हिँड्दा न्याय स्थापित गर्नुभयो भने कांग्रेस बलियो हुन्छ। हामी भित्रको आत्मअनुशान जरुरी छ। मुलुकमा धेरै काम गर्‍यौं, विकासका काम गर्‍यौं र परिवर्तन गर्‍यौं। तर देशमा ठूला पार्टीका बीचमा वितृष्णा जागेको छ। यसको कारण सुशासन दिन नसक्नु यसको कारण हो। जबसम्म कांग्रेसले आफूभित्र सुशासन कायम गर्न सक्दैनौं जनतालाई सुशासन दिन सक्दैनौं। हामी आफैं आत्मआलोचित गरौं अनि मात्रै जनताको भरोसा फर्काउन सकिन्छ।

सुर्खेतमा महामन्त्रीले राष्ट्रपति, कार्यवहाक सभापति बाँड्दिनुभयो। तर केही भएन। उपसभापतिले रेशम चौधरीका बारेमा ट्विट गरिदिनुभयो। निर्णय गर्दा मन्त्री बन्नुभयो। त्यसकारण जिम्मेवारीबोध गर्नुस्। हामी जिम्मेवारीबोध नगर्दा कार्यकर्तामा जे बोले पनि हुने रहेछ भन्ने पर्छ। फेक समाचार शेयर गर्न कार्यकर्तालाई कसले प्रेरित गर्‍यो। त्यो हाम्रो कारणले भएको हो। अघिल्लो निर्वाचन नै म एक्लै लड्नुपर्छ भन्ने पक्षमा थिएँ। अब फेरी हामी गठबन्धन गर्ने त? सिद्धान्त नमिलेका कारण गठबन्धन सफल हुन सकेन र हाम्रो भोट घट्यो। कार्यतालिकाको चित्र राम्रो छ चरित्र हेर्न बाँकी छ।

प्रकाशित: २०८० साउन ३ गते बुधबार ०७:३७
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना