काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन्।
‘मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो,’ सुजलले फेसबुकमा लेखेका छन्। फुटबल छोडेर उनी अष्ट्रेलिया जान लागेका छन्। सुजल बिहीबार राति अष्ट्रेलिया प्रस्थान गर्दैछन्।
‘११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु। आज म राष्ट्रिय टोलीबाट आफ्नो सन्यास घोषणा गर्दछु,’ सुजलले लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो। मैले यो गर्व र जोशका साथ निर्वाह गरेँ। म विश्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन। अब पालो नया पुस्ताको हो।’ सन्यास घोषणा गर्दै उनले प्रशंसक र समर्थक र प्रशिक्षकलाई धन्यवाद दिएका छन्।
सन् २०११ मा भुटानविरुद्धको खेलबाट सुजलले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। राष्ट्रिय टोलीबाट ४५ खेलमा ३ गोल गरेका सुजलले १३औं सागका बेला नेपालको कप्तानी सम्हालेका थिए। उनको कप्तानीमा नेपालले स्वर्ण जितेको थियो।


