काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा पेस गरेको वार्षिक कार्ययोजना एनजीओको विसलिस्ट जस्तो भएको टिप्पणी गरेकी छन्।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापतिपत्नीसमेत रहेकी डा आरजुले महामन्त्रीको कार्ययोजना भनेपछि राजनीतिक दस्तावेज आउला भन्ने ठानेकोमा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको बताएकी हुन्।
‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ। त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि त्यसो रिजल्ट चाहिँ के त? योभन्दा दुई तीन वटा उपलब्धिमूलक कार्यक्रम गरौं। त्यो परिणाममुखी बनाऔं,’ पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत बताएकी उनले थपिन्, ‘हामी सुशासनका लागि कति तयार छौं। म प्रधानमन्त्रीको धर्मपत्नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरु हुने र उहाँहरुको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ।’
आरजुले पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियम कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यही अनुसार कार्यक्रम गर्नुपर्ने बताएकी छन्। उनले संगठनका हकमा संख्या बढाएर मात्र केही नहुने पनि बताएकी छन्।
क्रियाशील सदस्यता लिनुअघि प्रशिक्षण दिएर मात्र सदस्यता दिने निर्णय गर्नुपर्ने उनको धारणा छ। ‘प्रशिक्षण सञ्चालन गर्नुपर्छ। प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्ने भन्ने सबै बुझेपछि र प्रतिबद्ध भएपछि मात्रै क्रियाशील सदस्यता दिनुपर्छ,’ उनले भनिन्।
नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको पनि उनले बताएकी छन्। उनले महिलाहरुका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्नेसमेत बताएकी छन्।
सय किलो सुनमा ओली र गृहमन्त्रीको नाम जोडियो, कांग्रेस बोल्दैन : जितजंग बस्नेत
