सबैभन्दा पहिला त मैले पहिलोपटक जनताका बीचमा प्रत्यक्ष जाने मौका पाएँ। पार्टीले मलाई विश्वास गर्यो। त्यसका लागि म धन्यवाद भन्न चाहुन्छ। अत्यन्त कठिन परिस्थितिमा पार्टी सभापतिको नेतृत्वमा हामीले चुनाव लड्यौं। मैले आफ्नो चुनावको अनुभव राख्दा, कस्तो स्थितिको सामना गर्नुपरो भने, मैले टिकट पाउने बित्तिकै त्यहाँ एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अफ्ठ्यारो पार्ने खालका गतिविधि भए। मेरो निर्वाचन क्षेत्रमा त कसरी विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्ति प्रत्यक्ष संलग्न भए। यसका प्रमाण निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्।
मैले निर्वाचनका बेला अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरेँ। म जस्तै धेरैले यस्तो अनुभव गरेको मैले पाएको छु। पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो र उनीहरुलाई पार्टीको उद्देश्यप्रति जिम्मेवार बनाउन नसक्ने हो भने पार्टी पार्टीका रुपमा रहन सक्दैन।
अहिले नयाँनयाँ पार्टीहरु जुन रुपमा सलबलाइरहेका छन्, जुन रुपमा स्थानीय तहमा गतिविधि गरिरहेका छन्, नाम नै नसुनेका उम्मेदवार उठ्दा पनि हजारौं भोट पाउँछन्। खासगरी युवा पक्तिहरु, नयाँ पढेलेखेका, देशबाहिर रहेका युवाहरुले आफ्नो परिवार, पार्टीकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुस्। पुराना पार्टीका कारण हामी विदेशिएका हौं भनेर नयाँलाई मतदान गर्न भनेर परिवारका सदस्यमा दवाव दिइरहेको अवस्थामा हामीहरु एकढिक्का हुनुको साटो आफ्नै पार्टीका कतिपय नेताहरुबाट असहयोग हुनुले स्थिति झनै गम्भीर रहेको म यहाँहरुलाई जानकारी गराउँछु। यसबारेमा पार्टीले अत्यन्तै गम्भीरताका साथ त्यस्ता मानसिकता भएका तथाकथित व्यक्ति जो आफूबाहेक अरु हुनुहुँदैन भन्छन्, त्यस्ता व्यक्तिलाई समयमै पन्छाउन सकेनौं भने त्यसले झन् आगामी दिन कठिन हुने कुरा निश्चित छ।
नयाँ पार्टीहरुले ठूलो संख्यामा सदस्यता वितरण गरिरहेका छन्। उनीहरुले मान्छे मात्र परिचालन गरेका छैनन्, आर्थिक स्रोत पनि परिचालन गरिरहेका छन्। अनलाइन र टेक्नोलोजीको माध्यमबाट उनीहरु संगठन विस्तारमा छन्। यो कुरा दिनहुँ जानकारीमा आइरहेका छन्। मैले यो विषय यहाँ राख्नैपर्छ।
अर्कोतर्फ, विभिन्न विकास निर्माणका मुद्दा, आर्थिक विकास मुद्दामा, निजी क्षेत्रसँग सम्बन्धित मुद्दामा, लगानीको मुद्दामा, अर्थतन्त्र संकुचित भएको स्थिति, बैंकमा भएको तरलता लगानी गर्न नसकेको अवस्था, चलिरहेका उद्योग बन्द गर्नुपर्ने परिस्थिति छ। यस्तो अवस्थामा हामीले तत्काल अर्को वातावरण बनाउन सकेनौं भने अहिले देखिएको चुनौतीलाई झन् गम्भीर बनाउने कुरा पनि निश्चित छ।
अहिले पनि राजश्व उठ्ने क्रम र साधारण खर्च र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनोती आफ्नै ठाउमा छन्। हुन त, मौद्रिक नीति आउन बाँकी छ। मौद्रिक नीतिमार्फत् धेरै विषयको सम्बोधन हुने कुरा अर्थमन्त्रीज्यूले बताउनुभएको छ। म आशावादी छु।
नयाँ पार्टीहरुले ठूलो संख्यामा सदस्यता वितरण गरिरहेका छन्। उनीहरुले मान्छे मात्र परिचालन गरेका छैनन्, आर्थिक स्रोत पनि परिचालन गरिरहेका छन्। अनलाइन र टेक्नोलोजीको माध्यमबाट उनीहरु संगठन विस्तारमा छन्। यो कुरा दिनहुँ जानकारीमा आइरहेका छन्। मैले यो विषय यहाँ राख्नैपर्छ।
अर्को कुरा, अत्यन्तै गम्भीर चुनौतीको विषय रोजगारी सिर्जना नहुनु हो। अहिले पनि दैनिक दुई हजार भन्दा बढी मानिस रोजगारीका लागि विदेशिनु परिरहेको छ। मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती हो। जसले नेपालको राजनीति र स्थापित पार्टीप्रतिको दृष्टिकोणमा बदलाव ल्याउन पनि भूमिका खेल्ने गरेको छ। यसतर्फ हामी सचेत हुनुपर्छ।
तेस्रो कुरा, समाजमा असल छवि भएका, राम्रो अनुभव भएका र राम्रो पृष्ठभूमि बोकेका व्यक्तिलाई अगाडि सार्न सकेनौं, पार्टीका प्रतिनिधि पात्रका रुपमा, पार्टीका सकारात्मक पात्रका रुपमा र पार्टीका प्रचारकका रुपमा हामीले उभ्याउन सकेनौं भने अहिले जे जस्ता नयाँ राजनीतिक परिदृष्यहरु देखिएका छन्, आगामी दिनमा त्यसलाई चिर्न सजिलो हुने छैन।
यी तीन मुख्य कुरामा पार्टीले ध्यान दिनुपर्छ। हामी आन्तरिक खिचातानीमा अलमलिने होइन। पार्टी सभापतिले अत्यन्तै कठिन परिस्थितिमा, चुनावमा गठबन्धनका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला पनि सुझबुझपूर्ण रुपमा कांग्रेसलाई ठूलो पार्टीका रुपमा स्थापित गराउनुभयो। स्थानीय तहदेखि प्रदेश हुँदै संघमा पनि ठूलो पार्टी बनाउन सफल हुनुभयो। केन्द्रमा सरकारको महत्वपूर्ण भूमिकामा छ। प्रदेश र स्थानीय तहमा पनि महत्वपूर्ण हैसियतमा छ।
आगामी दिनमा पार्टीलाई थप संगठित र सशक्त बनाउन पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउँदै असन्तुष्टिलाई सम्बोधन गर्दै हामी एकसूत्रमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ। मैले माथि उल्लेख गरेका विषयलाई सम्बोधन गर्न सबैले अनुभूति गर्ने गरी ठोस रणनीति बनाउन जरुरी छ। कांग्रेसको जारी केन्द्रीय समिति बैठक यसतर्फ अग्रसर हुनेछ भन्ने मैले विश्वास लिएको छु।
(नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य विनोद चौधरीले राखेको धारणाको सम्पादित अंश)


