काठमाडौं – सरकारले अस्थाई सवारी चालक अनुमति पत्र दिने तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन्। सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक वर्ष सम्मका लागि वा स्मार्ट लाइसेन्स नआउँदासम्म अस्थायी कार्ड पाउने उनले बताएका हुन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो तयारी भइरहेको जानकारी दिएका हुन्।
‘स्मार्ट लाइसेन्स कार्डका बारेमा गुनासाहरू आइरहेकै छन्,’ मन्त्री ज्वालाले भने, ‘स्मार्ट कार्डको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्ने योजना छ साथै स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड वितरण गर्ने गरी तयारी पनि गरिरहेका छौं।’
लाइसेन्सका बारेमा सरकारले बैकल्पिक व्यवस्था गर्न नसक्दा बैंकमा तिरेको बिललाई नै लाइसेन्सको रुपमा प्रयोग गरिँदै आइरएको थियो। त्यस्तै, मन्त्री ज्वालाले .इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा पनि व्यवसायीले अग्रसर हुनुपर्ने बताएकी छन्।
‘इम्बोस्ड नम्बर प्लेट प्रणालीलाई बेवास्ता गर्ने भन्दा पनि अब त्यसलाई अनिवार्य पनि गर्नुपर्नेछ। सुरक्षाको हिसाबले पनि यो सरकारको महत्त्वपूर्ण आयोजनाका रूपमा छ। यो कार्यक्रमलाई पनि हामीले सम्पन्न गर्नुपर्छ,’ उनले भने ।
उनले यातायातका सबै काम डिजिटल गर्ने काम अघि बढेको ताइरहेका छन्। ‘हामी आम रूपमा सबै अनलाइन पेमेन्ट सिस्टममा लैजाँदैछौं। त्यस्तै तपाईं हामी मिलेर अनलाइन टिकेटिङमा पनि जाऔँ। एयरलाइन्स जस्तै लोकल बसमा सम्भव नहोला कमसेकम लामो दुरीका बसहरूमा हामीले त्यो सेवा पनि उपलब्ध गराउन सक्छौं,’ उनले भने।
