बेइजिङ- चीनका विदेशमन्त्री छिन काङलाई पदमुक्त भएका छन्। विदेश मन्त्रालयको कार्यभार सम्हालेको सात महिनामा नै उनी पदमुक्त भएका हुन्।
काङ पदमुक्त भएसँगै उक्त पद कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुखसमेत रहेका पूर्वविदेशमन्त्री वाङ यीलाई दिइएको छ।
‘चीनको शीर्ष विधायिकाले वाङ यीलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ,’ चिनियाँ सरकारी समाचारसंस्था सिन्ह्वाले भनेको छ, ‘छिन काङलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ।’
५७ वर्षीय चिन काङ सार्वजनिक जीवनमा एक महिनादेखि देखा परेका थिएनन्। गत डिसेम्बरमा मन्त्री नियुक्त काङलाई राष्ट्रपति सी जिनपिङका विश्वासिला सहयोगीका रुपमा हेर्ने गरिएको थियो।
एक महिनाअघि चिन आफ्ना सामान्य जिम्मेवारीहरूमा नदेखिँदा र इन्डोनेसियामा एक सम्मेलनमा सहभागी हुन नसक्दा नखुलाइएको स्वास्थ्य समस्यालाई कारण भनिएको थियो। उनलाई विवाहेतर सम्बन्धका कारण कारबाही गरिएको आशंका पनि गरिएको थियो।
चीनको इतिहासमा विदेशमन्त्रीको पदमा नियुक्त हुने उनी कम उमेरका व्यक्तिमध्येमा पर्छन्। दुई वर्षभन्दा कम समय अमेरिकामा चीनको राजदूतका रूपमा काम गरेपछि उनी विदेश मन्त्रीमा नियुक्त भएका थिए।
त्यसअघि उनी विदेश मन्त्रालयका प्रवक्ता थिए। चिनियाँ राष्ट्रपतिका विदेश भ्रमणहरू व्यवस्थापन गर्न सघाएका कारण उनलाई चिनियाँ नेतासँग निकट रहेर काम गर्ने अवसर मिलेको थियो।

नवनियुक्त चिनियाँ विदेशमन्त्री वाङ यी।



