गैरआवसीय नेपाली संघ (एनआरएनए) पछिल्लो सयम विवादित बन्दै आएको छ। संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र कुमार पन्तसम्मका कार्यशैली र व्यवहारप्रति प्रश्न उठिरहेका छन्। संस्थामा तीन जना अध्यक्ष छन्। सहमतिका नाममा यति धेरै अध्यक्ष/पदाधिकारी बनाउँदा संस्थामा सुशासन, विधि, पद्धति र प्रकृया भद्रगोल छ। विधानको औचित्यमाथि गम्भीर पश्र उठिरहेको छ। सहमतिका लागि भनेर धेरै जना अध्यक्ष/पदाधिकारी बनाइए पनि त्यसले संस्थामा विवाद साम्य पार्न सकेन। बरु थप विवाद निस्कँदै गए।
यतिबेला एनआरएन महाधिवेशनमा जुटेको छ, तर एकता खल्बलिएको छ। अध्यक्ष बद्री केसी पक्षले एकलौटी ढंगबाट एनसीसीका निर्वाचन गराइरहेका अर्को पक्षको आरोप छ। यति मात्र होइन, असन्तुष्ट समूहले क्षेत्रीयस्तरमा समानान्तर कमिटी बनाउन पनि थालेको छ। एनआरएनमा देखिएका विवाद, समाधानको उपाय, एनआरएनएका मुद्दालगायतका वियषमा पूर्वउपाध्यक्ष सोनाम लामासँग नेपाल क्लिक्सका प्रधानसम्पादक नारायण अमृत र सहकर्मी किशोर दाहालले गरेको कुराकानीको सम्पादित अंश:
झन्डै डेढ दशकदेखि एनआरएनमा सक्रिय हुनुहुन्छ? अमेरिका, क्षेत्र र केन्द्रसम्मको अनुभव रह्यो। एनआरएन जुन उद्देश्य र लक्ष्यका लागि गठन गरिएको थियो, त्यसमा कत्तिको खरो उत्रेको पाउनुहुन्छ?
संयुक्त राज्य अमेरिकाबाट यस संस्थामा सबैभन्दा बढी समय सक्रिय भएर लागेको व्यक्ति हुँ। सन् २००८ बाट क्षेत्रीय उपसंयोजक तथा संयोजक हुँदै आईसीसीको उपाध्यक्षसम्म निर्वाचित भएर काम गरेँ। मैले एनआरएनएमा आउनुभन्दा अगाडि धेरै संस्थाहरू तथा आफ्नै संस्थाको नेतृत्वमा रहेर काम गरेँ। विगतमा मैले काम गरेका संस्थाभन्दा एनआरएनएको प्रकृति छुट्टै थियो। म यस संस्थामा आबद्ध हुँदा यसको फैलावट ६३ देशमा रहेको थियो। एउटा पवित्र उद्देश्यसहितको सामाजिक संस्था र गैरआवासीय नेपालीहरूको छाता संगठन भएकाले यस संस्थाप्रति मेरो आस्था, सम्मान तथा समर्पण निकै उच्च थियो।
गैरआवासीय नेपालीहरूलाई नेपालभित्र जोड्ने प्रमुख कडी तथा उनीहरूको ज्ञान, सिप, पूँजी, प्रविधि र लगानी औपचारिक माध्यमबाट भित्र्याउनका लागि संयोजनकारी भूमिका खेल्न यस संस्थाको अवधारणा तथा विकास भएको हो।
यस्तै देशभित्र हुने संभावित प्राकृतिक प्रकोप, भूकम्प, बाढीपहिरोमा निस्वार्थभावमा सहयोग गर्ने उद्देश्य पनि यस संस्थाको हो। २०७२ सालमा गएको भूकम्प तथा नाकाबन्दी, कोभिड महामारी, विभिन्न समयमा आएका बाढी पहिरोमा एनआरएनएले विभिन्न माध्यमबाट सहयोग गर्दै पनि आएकै हो।
१८३ दिनभन्दा बढी विदेशमा बस्ने नेपाली गैरआवासीय नेपाली हुन्छन्। विगत वर्षौँदेखि नेपालको नागरिकता त्यागेर विदेशमै बसोबास गर्ने नेपाली थुप्रै छन्। उनीहरू नेपालमा रहेको आफ्नो पैतृक सम्पत्तिको सुरक्षाको प्रत्याभूति तथा विदेशमा आर्जन गरेको सम्पत्ति नेपालमा ल्याएर लगानी गर्न चाहन्छन्। तर, उनीहरूका लागि नेपालमा नागरिकता बाधक बन्दै आइरहेको छ। जस्तै म नै २९ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु।
गैरआवासीय नागरिकता नहुँदा मैले थुप्रै समस्याहरू झलेको छु। एनआरएनए परिचयपत्रको सट्टा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि मैले निस्वार्थ भावमा भूमिका खेलेको छु।
गैरआवासीय नेपालीहरूलाई नेपालभित्र जोड्ने प्रमुख कडी तथा उनीहरूको ज्ञान, सिप, पूँजी, प्रविधि र लगानी औपचारिक माध्यमबाट भित्र्याउनका लागि संयोजनकारी भूमिका खेल्न यस संस्थाको अवधारणा तथा विकास भएको हो।
शेष घलेजीको कार्यकालमा म संघको क्षेत्रीय उपसंयोजक थिए। भूकम्पपछि नेपालमा संविधान जारी हुने क्रममा थियो। संविधानसभाले जारी गर्न लागेको नयाँ संविधानमा हामीले गैरआवसायी नेपालीलाई आर्थिक, समाजिक र सांस्कृति अधिकार उपयोग गर्नेगरी नागरिकता दिनुपर्ने व्यवस्था गर्न दबाब दिएका थियौँ। फलस्वरुप २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले दक्षिण एसियाली सहयोग संगठन(सार्क) मुलुकबाहेक अन्य देशमा रहेका गैरआवासीय नेपालीको आमा वा बाबुले वंशज वा जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका रहेछ भने निजका सन्तानहरूले आर्थिक, समाजिक र सांस्कृतिक अधिकार सहित गैरआवासीय नागरिकता दिनसक्ने व्यवस्था गरेको छ।
संविधानको उक्त व्यवस्थानुसार गृह मन्त्रालयले गैरआवासीय नेपालीलाई नागरिकता दिने गरी नागरिकता ऐन २०६३ संशोधन गरिसकेको छ। ऐनअनुसार नै नियमावली ल्याउने तयारी गरिएको छ। तर गृह मन्त्रालयले गैरआवासीय नागरिकका अधिकारहरू संकुचित बनाएर नागरिकता ल्याउने तयारी गरिरहेको छ। यसमा एनआरएनएले आफ्नो सक्रिय भूमिका खेल्न जरुरी छ। तर यही बेला संस्थाले आफ्नो विश्वसनीयता गुमाउँदै गएको छ। सन् २०१९ पछि यस संस्थाले आफ्नो गरिमालाई अक्षुण्ण राख्न सकेको छैन।
विधान विपरीत ४/४ जना अध्यक्ष भएका छन्। यद्यपि २०२१ मा सु-व्यवस्थित ढंगबाट महाधिवेशन भएको भए म अध्यक्ष हुने सम्भावना थियो। तर, एनआएरएनभित्र पद लिएर यसबाट आर्थिक लाभ लिने पक्षहरू हावी भएको देखेपछि मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थिएँ।
पैसाले मानिसलाई कहिल्यै पुग्दैन। लोभ मोह त्यागेर समाजका लागि केही गर्नुपर्छ
एनआरएनको प्लेटफर्म दुरुपयोग गरेर आफ्नो स्वार्थनुसार लाभ लिनेहरूको संख्या बढ्दो छ। तर, मैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेको छु। एनआरएनको गौरव बढाउने गरी मेरो निजी लगानीमा मुक्तिनाथमा ३५ फिट अग्लो बुद्ध मुर्ति निर्माण गरेको छु। नाम एनआरएनएको भएपनि यसमा सम्पूर्ण लगानी मेरो र मेरो परिवारको छ। करिब ६ करोड निजी लगानीबाट उक्त मुर्ति निर्माण गरेर गत वर्ष राष्ट्रपतिबाट यसको उद्धघाटन गराएँ। यसैगरी मुक्तिनाथमा रिसोर्ट र ठमेलमा ४ तारे बुटिक होटल लो मुस्ताङ सञ्चालनमा आएको छ।
योबीचमा तपाईहरू जस्तो संस्था बुझेको अनुभवी व्यक्तित्वहरू चुपचाप बस्नुभयो। यस समयमा एनआएएनएभित्र ठुल्ठुला विवादहरू देखिए। अहिले पनि विभिन्न देशहरूमा समान्तर कमिटीहरू बनाउने काम भइरहेको छ। खासमा यी विवादको मुख्य कारण के हो?
२००३ भन्दा अगाडि २ वर्षभन्दा बढी विदेशमा बस्ने नेपालीहरूलाई मात्रै गैरआवासीय नेपाली मानिने कानुनी व्यवस्था थियो। यसै समयमा उपेन्द्र महतोजीलगायतका साथीहरूले १८३ भन्दा बढी विदेशमा बस्ने नेपाली नागरिक र विदेश अध्ययनमा गर्न गएका नेपाली विद्यार्थी पनि गैरआवासीय नेपाली मान्नुपर्ने माग राख्दै आउनु भएको थियो। तर, नेपाल सरकारले उक्त कुरा खारेज गर्यो। सरकार र एनआरएनएबीच भएको यही विवादका कारण सन् २००८ सम्म संघ दर्ता हुन सकेको थिएन। उपेन्द्रजी ७ वर्षसम्म एनआरएनएको संस्थापक अध्यक्ष भन्दै हिँडेपनि उहाँले यस अवधिसम्म संस्था यसै विवादका कारण संस्था दर्ता गर्न नसकेको कुरा सत्य हो।
त्यसवेला म नेपाल आउँदा गैरआवासीय नेपाली संघको कार्यालय नेपाल उद्योग वाणिज्य महासंघ भवनको तल्लो तलामा एउटा कोठमा सीमित थियो। संघको बैंक खाता थिएन। संघमा आउने सबै रकम व्यक्तिगत खातामा जम्मा हुन्थ्यो।
उपेन्द्रजीको कार्यकाल संस्था दर्ता नगरी नै सकियो। उपेन्द्रजीपश्चात देवमान हिराचनजी अध्यक्ष हुनुभयो। उहाँले पनि संस्था दर्ता गर्न सक्नुभएन। जीवा लामिछानेको २ वर्षे कार्यकाल पनि संस्था नै दर्ता नगरी बित्यो। जीवा लामिछानेले आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्यसहित शेष घलेलाई अध्यक्ष बन्नका लागि प्रस्ताव गरे। तर, शेषजी कुनै स्वार्थमा पर्ने व्यक्तित्व नै होइन। घले अध्यक्ष बन्ने भएपछि सरकारले २ वर्षका लागि संस्था दर्ता गर्नका लागि अनुमति दियो।
संस्थाले कानुनी मान्यता प्राप्त गरेसँग शेषजी अध्यक्ष भएर आउनु भयो। कानुनी मान्यता प्राप्त गरेसंगै संघको भवन निर्माण गर्न घलले जीले पनि जोड दिनुभयो। बालुवाटारमा संघको भवन निर्माणको काम पनि सुरु भयो।
उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्तले गरेको कामको प्रत्यक्षदर्शी म पनि हुँ। उहाँहरूले संस्थाका लागि भन्दा आफ्नो व्यवसाय विस्तार र विकास गर्नका लागि काम गरेको तथ्य कसैसामु छिपेको छैन।
त्यसैले विवादको मुख्य जड भनेको २ वर्ष वा १८३ दिन विदेशमा बसोबास गर्ने मध्ये कुन आधारमा विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली भन्ने नै हो। यसैगरी मलेसिया तथा मध्य एसियाका खाडी मुलुकमा रहेका नेपालीबारे एनआएनएको धारणा के हो भन्ने विषयको अन्योल नै विवादको प्रमुख कारण हो। कसलाई गैरआवासीय नेपाली मान्ने भन्ने परिभाषा त हामीले नै गर्नुपर्यो नि। त्यो गर्न नसक्नु नै हाम्रो प्रमुख समस्या हो।
यस्तै संस्थाको प्लाटफर्म प्रयोग गरेर आफ्नो स्वार्थसिद्धि गर्ने अर्को प्रमुख समस्या हो। जसको पछिल्लो उदाहरण हो एनआरएनए पूर्वाधार तथा विकास कम्पनी। सुरुवाती पुँजीका रुपमा १० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने भनेर कम्पनी सञ्चालनमा ल्याइयो। उक्त पुँजी ल्याउन नसकेपनि कम्पनी राम्रोसँगै सञ्चालन भइरहेको थियो। यसैबीचमा खाडी तथा अन्य देशमा रहेका नेपालीहरूको पुँजी कम्पनीमा ल्याउने उद्देश्य राखेर प्राथमिक सेयर निष्कासन(आईपीओ) जारी गरियो। जसले संस्थामा लगानीकर्ताको संख्या बढ्यो।
लगानीकर्ताको संख्या बढेपछि संस्थाप्रति अपेक्षा बढ्नु स्वाभाविक पनि हो। म पनि त्यसमा संचालक थिए। मैले कुमार पन्तजीलाई यस संस्थाले कमाएको नाफामध्ये ७ प्रतिशत रकम एनआएएनएमा आउने व्यवस्था गर्नुपर्छ भन्ने प्रस्ताव राखेँ। व्यक्तिभन्दा पनि संस्था बनाउनुपर्छ भन्ने कुरामा मेरो जोड थियो।
उपेन्द्रजी, जीवाजी, भवनजीहरूको कार्यकाल संस्था मजबुत बनाउन नसकेकै कारण विवादित भयो। संस्था बनाउने काम लाग्नुहोस्, व्यक्ति होइन भनेर कुमारजीलाई मैले भनेको थियो। पछि नेपाल सरकारले ५० लाख एनआरएनए मार्फत बाँकी रकम हाल्ने गरी संस्था सञ्चालनमा आयो। हालसम्म करिब ३५ करोड रुपैयाँ मात्रै पैसा उठेको होला। कुमारजीपछि ३/३ जना अध्यक्ष छन्। अहिले संस्था भन्दा व्यक्ति बन्ने प्रतिसपर्धा चलेको छ।
यो सूचना प्रविधिको युग हो। पहिले जस्तो छैन। सानो घट्ना भय भने पनि तत्कालै थाहा पाउने अवस्था छ। उपेन्द्रजीको पालामा ८ हजारदेखि १० हजारको बीचमा एनआरएनएको सदस्य थिए। अहिले यो संख्या लाखौं पुगिसके। अब विदेशमा गएका प्रत्येक नेपालीले पैसा कमाएका छन्। त्यो वेलामा जस्तो उपेन्द्रजी मात्रै अर्बपति भन्ने जमाना अब रहेन। विगतमा जस्तो उपेन्द्रजीले जे भन्यो त्यही हुने र मान्ने समय पनि छैन।
उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्तले गरेको कामको प्रत्यक्षदर्शी म पनि हुँ। उहाँहरूले संस्थाका लागि भन्दा आफ्नो व्यवसाय विस्तार र विकास गर्नका लागि काम गरेको तथ्य कसैसामु छिपेको छैन।
अहिले एनआएएनएमा रहेका पदाधिकारीहरू सबै पद र व्यवसाय गर्नका लागि मात्रै हो। त्यसैले यसमा मेरो कुनै पनि तहबाट सहभागिता छैन। कम्तीमा संस्था विधिविधानको त पालना हुनुपर्यो। विधान विपरीत ३/३ जना अध्यक्ष बन्ने कुरा उचित होइन।
एनआरएनको भवन बनाउँदा आर्थिक हिनामिना भएको पनि सार्वजनिक भएको थियो। यसको अन्तर्य के होला?
शेषजीले भवन निर्माणका लागि आवश्यक पर्ने रकम जुटाउनु भयो। घलेको कार्यकाल सकिँदै गर्दा भवन निर्माण र लाप्राकको बस्ती निर्माण गर्नका लागि एनआरएनएको खातामा करिब ५० करोड देखि ५५ करोड रुपैयाँ थियो।
उक्त रकमबाट भवन निर्माण सम्पन्न गर्ने र लाप्राक बस्ती हस्तान्तरणको काम सम्पन्न गर्नुपर्ने थियो। भवन निर्माणको काम सम्पन्न भएपनि लाप्राकको कामका लागि रकम जुट्न सकेन। त्यसको सम्पूर्ण जिम्मेवारी मैले आफैँ लिएर काम सम्पन्न गरेको हो।
तपाईंको एनआरएनएभित्र मुख्य दुईवटा विषयमा प्रसंशा हुने गरेको छ। एउटा लाप्राकको काम। विषम हावापानी, अत्यधिक बजेट र निरन्तरताको हिसाबले यो परियोजना निकै अप्ठ्यारो मानिएको थियो। कसरी काम सम्पन्न गर्नुभयो?
शेष घललेको पहलमा मैले उक्त परियोजनामा काम गरेँ। उहाँले मलाई आइडिया तथा अन्य थुप्रै कुरामा निकै ठुलो सहयोग गर्नुभएको थियो। लाप्राक एउटा विकट क्षेत्र हो। वर्षातको समयमा जानै नसक्ने र हिउँदमा अत्यधिक हिउँ पर्ने मौसमी कारणले काममा समस्या उत्पन्न हुन्थ्यो।
एनआएनएका साथीहरू एक हप्ताका लागि लाप्राक आउने र फोटो खिचाएर गएजस्तो काम गर्न पक्कै पनि सहज थिएन।
गाडी नै नपुग्ने ठाउँमा मैले आफ्नै रेन्जरोभर गाडी लिएर गएँ। यसका लागि शेष दाई र भाउजुले पनि सहयोग गर्नुभयो।
मैले काम सुरु गर्दा स्थानीयको थुप्रै गुनासा थिए। भवन निर्माणका लागि पैसा दिने प्रतिबद्धता पाएकोमा त्यस्तो हुन नसकेको भन्दै उनीहरूले गुनासो गर्ने गरेका थिए। मैले काम थालेपछि वास्तविक कुरा स्थानीयवासीले बुझ्दै गए। त्यसपछि सम्पूर्ण गाउँवासीहरूले मलाई काममा सहयोग नै गरेका थिए।
हाम्रो माग विधान र विधिनुसार संस्था चल्नुपर्छ भन्ने हो। तर, उहाँहरू बहान एउटा, दिउँसो र बेलुका फरक कुरा गर्दै हिँड्न थाल्नुभयो।
पहिला गाउँवासीहरूले शेष दाईको विरोध गर्ने गरेका थिए। त्यस्तो विकट ठाउँमा नमुना भवन निर्माण भएपश्चात शेष घलेलाई विशेष सम्मान तथा धन्यवाद दिनुपर्नेमा गाउँवासीहरू तयार भए। त्यसपछि उहाँप्रति लक्षित विरोध सम्मान भावमा परिणत भएको थियो।
मै उपाध्यक्ष हुँदासम्ममा ५७३ घर सम्पन्न भएर ५० देखि ६० परिवार बसोबास गर्न थालिसकेका थिए।
पछि म त्यस ठाउँमा जान सकेको त छैन। तर, मलाई लाग्छ, भूकम्पपछि त्यस ठाउँमा एनआरएनएले राम्रो छाप छोड्न सफल भएको छ।
हुन त मान्छेको नजर र नजरियाको कुरा हो। सबैले आ-आफ्नै ढंगबाट व्याख्य विश्लेषण गर्ने हुन्। कसैले त्यहीँ काम राम्रो लाग्छ भने कसैलाई मन नपर्न सक्छ। मेरो विचारमा मैले एउटा राम्रो काम गरे भन्ने लागेको छ। यसमा पक्ष, विपक्ष, आलोचना र प्रसंशा हुनु स्वाभाविक हो। यसलाई सहज रुपमा लिएको छु। सबैले लिनु पनि पर्छ।
विवादित दुई पक्षहरूले केही अगाडि मात्रै प्रधानमन्त्रीज्युसँग भेट्नु भएको छ। तपाईंहरूले मिलनबिन्दु पनि पहिल्याउनु भयो कि?
एनआरएनएका साथीहरूसँग भेटघाटका क्रममा संस्थाभित्र एकता र सहकार्य महत्वपुर्ण कुरा हो। संस्था विधि र विधानभित्र चल्नुपर्छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण गैरआवासीय नेपालीको हकहितका लागि काम गर्नुपर्ने कुरामा मेरो जोड रहँदै आएको छ। तर, सहकार्य र सहमति देखाउनका लागि र निर्वाचनको समयमा मात्रै गर्ने कुरा होइन। अहिले निर्वाचनको समयमा आएर सहमतिको कुरा गर्नु आफैंमा स्वार्थ प्रेरित छ।
उहाँहरूले प्रधानमन्त्रीलाई भेटेर सहमति भएको कुरा सुन्न पाउँदा मलाई खुसी लागेको थियो। केही साथीहरूले फोन सम्पर्क नै गर्नुभएको थियो। तर, उक्त सहमति १ महिना पनि टिक्न सकेन। सहमतिको नाममा क्षेत्रीयस्तरमा एनसीसी गठनका लागि रहेछ। उहाँहरूले हाम्रा निकट साथीहरूलाई नसमेटी निर्वाचन गराउनतिर लाग्नुभयो। यसरी त सहमति कसरी अगाडि बढ्छ र?
हालका अध्यक्ष बद्री केसीले नाटकीय ढंगबाट हाम्रा साथीहरूलाई छलछाम गरेर एनसीसीको निर्वाचन गराउने दिशामा अगाडि बढ्नु भएछ। यसले सहमतितर्फ उन्मुख गराउँदैन नि।
आगामी २ वर्षपछि यो संस्था नरहने संभावना मैले देखेको छु। मैले त यही चुनावमा समस्या हुने देख्दै छु।
हाम्रो माग विधान र विधिनुसार संस्था चल्नुपर्छ भन्ने हो। तर, उहाँहरू बहान एउटा, दिउँसो र बेलुका फरक कुरा गर्दै हिँड्न थाल्नुभयो।
यो संस्था सम्पूर्ण गैरआवासीय नेपालीहरूको हो। एउटा बद्री केसीको मात्रै होइन। उनी अहिले अध्यक्ष भएपनि उनी सहमतिको बाधक बन्न मिल्दैन। विधान विपरीत अध्यक्षले आफ्नो मनमौजी ढंगबाट संस्था अगाडि बढाउने कुरा गलत हो। तर, पछिल्लो समय गैरआवसीय नेपालीले पाउने नागरिकताको विषयमा हामी सबै एक हुन आवश्यक छ। विभाजित भएर यसले समाधान ल्याउन सक्दैन। त्यसैले मैले यस विषयलाई लिएर दुई पटक गैरआवसीय नेपाली नागरिकता सम्वन्धी कानुनी व्यवस्था र प्रावधानका विषयमा दुई पटक बैठक आह्वान गरिसकेको छु। यस विषयमा एनआरएनएबीच एकता हुनसक्ने अवस्था देखिन्छ।
अमेरिका, क्यानडालगायतका मुलुकमा रहेका धेरै नेपालीहरू यसबाट लाभान्वित हुने भएकाले यसका लागि भएपनि हामीबीच एकता हुनुपर्ने पक्षमा मैले साथीहरू आग्रह गरिरहेको छु।

हामीले सहमति तथा सहकार्य एजेण्डा र संस्था बनाउनका लागि गर्नुपर्छ। चुनावका लागि मात्रै सहमति गर्ने हो भने आगामी २ वर्षपछि यो संस्था नरहने संभावना मैले देखेको छु। मैले त यही चुनावमा समस्या हुने देख्दै छु। यस पटक उम्मेद्धार सबैले अध्यक्ष पद पाउने संभावना बढेको छ। यस पटक ३ जना अध्यक्ष भए। आगामी महाधिवेशनबाट ८ जनासम्म अध्यक्ष हुन सक्छन्।
लाप्राकदेखि एनआरएनए भवन निर्माणमा खेलेको भूमिकाप्रति तपाईंको विरोधीले समेत प्रशंसा गर्छन्। हरेक दृष्टिकोणबाट तपाईं नेतृत्व गर्न सक्षम व्यक्तित्व भनेर चर्चा हुने गरेको छ। यदि संस्था विधान अनुसार चलाउने सहमति हुने भने संघको नेतृत्व लिन तयार हुनुहुन्छ?
मैले माथि नै भनिसकेँ, यो संस्थामा थुप्रै विकृति विसंगतिहरू बढ्दै गएका छन्। संस्था आफूअनुकुल चलाउने र फाइदा लिने व्यक्तिहरूबाट चलेको छ। पदमा पुग्ने, प्रधानमन्त्री तथा मन्त्री भेट्ने र आफ्नो व्यवसाय बढाउनेमा सबैको ध्यान छ। संस्था सुधारका लागि कसैले ध्यान दिन सकेका छैनन्। यदि यो संस्था बनाउने हो भने संस्थामा समय दिनसक्ने र सुधार गर्न सक्ने व्यक्तिको आवश्यकता छ।
अहिलेको गञ्जागोल र यथास्थितिमा म संस्थाको नेतृत्व गर्ने पक्षमा छैन। मैले यसका लागि पैसा खर्च पनि गर्दिनँ। अध्यक्षको उम्मेदवार पनि बन्दिनँ। कुमार पन्तको पालामा पनि मलाई अध्यक्ष बन्नका लागि दबाब थियो। मैले मानिनँ। कसैको पनि चुनावी कार्यक्रममा सहभागी भइनँ। पछि कुमार पन्तले आउनै पर्छ भनेपछि चुनावी कार्यक्रममा गएको थिएँ।
मैले संस्थामा फाइदा लिनका लागि म आउँदिनँ भनेको थिएँ त्यसबेला। संस्था नै नरहने अवस्था आयो भने बेग्लै कुरा हो। नत्र यथास्थितिमा म निर्वाचन लड्दिनँ। मैले नेतृत्व गरेपछि संस्था बनाउन काम बाधा पुग्नु हुँदैन। सबै मिलेर अगाडि आउँनुपर्छ भन्ने सर्त राखेको थिएँ।
नेताहरूको घरमा गएर सहयोग माग्ने मेरो स्वाभाव छैन। मैले यो होटल (मुस्ताङ लो) बनाएँ। यसमा सबै लगानी मेरो निजी हो। यसमा मैले सामूहिक लगानी खोजेकै छैन। अन्य सबै साथीहरू सामूहिक रुपमा लगानी उठाउने र त्यसबाट फाइदा लिनेक्रम अहिले बढ्दो छ।
विशुद्धरुपमा संस्था निर्माण गर्न दिने र यसलाई परोपकारी संस्था बनाउनका लागि योग्य साथीहरूको टीम बनाउन दिने भए म नेतृत्व लिन तयार छु। तर, अमेरिकामा पैसा भएका साथीहरूको गुट निर्माण गर्न, कमाउधन्दाको माध्यम बनाउनकै लागि मलाई नेतृत्वमा आउन जरुरी छैन।
अब गैरआवासीय नेपाली नागरिक आएपछि हामीलाई यो संस्था आवश्यक पनि छैन। उक्त नागरिकता प्राप्त भएपछि हामी साथीहरू मिलेर एउटा छुट्टै संस्था खोल्ने तयारीमा छौं। उक्त नागरिकता प्राप्त भएपछि संस्था दर्ता गर्ने झन्जट पनि हुँदैन। विगतमा जस्तो परराष्ट्र मन्त्रालयमा गएर दर्ता गर्न आवश्यक पर्दैन। नेपालमा मताधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार पाएपछि हामी १०/१५ देशका सक्षम साथीहरू मिलेर एउटा राम्रो संस्था चलाउन सक्छौँ। ती देशमा रहेका गैरआवसीय नेपालीहरू, मध्यपूर्वका देशहरू र विद्यार्थीहरूका विषयमा नेपाल सरकारसँग हामी लबिङ तथा सहकार्य गर्न सक्छौँ।
उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त लगायतको तुलनामा एनआरएनएमा शेष घलेले हाम्रो काम गर्नुभयो भनिन्छ। तपाईं उहाँको कार्यसमितिमा रहेर काम गर्नुभयो। तपाईं र घलेज्युबीचको सम्बन्ध बारे थोरै चर्चा गर्न मिल्छ?
शेष दाईसँग त मेरो पछि चिनजान भयो। सुरुमा त मैले तपाईंले नाम लिएकै व्यक्तिहरू चिनेको हो। सन २०१२ मा अस्ट्रेलिया भएको क्षेत्रीय सम्मेलनमा उहाँलाई मैले चिनेको हो। उहाँले एनआरएनएलाई बोलाएर डिनरको व्यवस्था गर्नुभएको थियो। त्यसबेला उहाँको व्यक्तित्व देखेर म प्रभावित भएँ। शेष घलेजस्तो व्यक्ति यो संस्थाका लागि आवश्यक छ भन्ने विषय मेरो मनमा उब्जिएको थियो।
त्यसपछि अमेरिकामा आयोजित एएनएको कार्यक्रममा उहाँ आउनु भएको रहेछ। त्यसवेला उहाँ अध्यक्षमा उठ्ने तयारीका साथ त्यहाँ उपस्थित हुनुभएको थियो। तेन्जिङ शर्मा महासचिव थिए। शेष दाईसँग त पैसा थियो। तेजिङसँग थिएन। मैले तेन्जिङलाई एनआरएनए एउटा ठूलो संस्था हो। यसबाट हामीले पाउने केही होइन। यो संस्थालाई दिनुपर्छ। त्यसैले शेष दाईलाई अध्यक्ष बनाउनुपर्छ भनेर तेन्जिङलाई भनेको थिएँ।
शेष दाईलाई अध्यक्ष बनाउनका लागि मैले पनि क्याम्पेनिङ गरेँ। पछि उहाँ अध्यक्ष भएर आउनुभयो। राम्रो काम पनि गर्नुभयो। मैले उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हीराचन र जीवा लामिछानेले काम गरेको नजिकबाट देखेको थिएँ। राम्रो काम गरेपछि उहाँलाई रिस गर्ने र विरोध गर्नेहरू सक्रिय भए। जीवाजीले आफ्नो अनुकुल काम गराउन शेष दाईसँग लबिङ नगरेको होइन। तर,उहाँले मान्नुभएन। परोपकारी काममा कुनै पनि स्वार्थसिद्धिको काम हुँदैन भन्ने उहाँको प्रष्ट अडान रह्यो।
भूकम्पपछि उहाँले राम्रो काम गर्नुभयो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले घलेलाई सद्धभावना दूत बनाइदिनुभयो। जसले शेष दाईको संसारभर निकै ठूलो प्रचार प्रसार भयो। शेष दाईको यस स्तरमा प्रचारप्रसार भएपछि संस्थापक अध्यक्ष ७ वर्ष अगाडिबाट काम गरेको भन्नेहरूमा छटपट्टी भयो। घलेको काम देखेर इगो साँध्नेहरूको संख्या बढ्न थाल्यो। त्यहाँबाटै एनआरएनएभित्र नेतृत्व तहमा सिन्डिकेट सुरु भयो।
लाप्राकको काम नै सकिएन अरु सुरुवात गरेका काम पनि बाँकी नै छन् भनेर उहाँले आफ्नो धर्मपत्नी जमुना घलेलाई उठाउने प्रस्ताव गर्नुभयो। मैले त त्यसबेला भवन भट्टलाई समर्थन गर्ने पक्षमा उभिएको थिएँ। त्यसबेला उहाँले भाउजुलाई उठाउन हुँदैनथियो। त्यसपछि एनआरएनएमा विवाद थप बढ्दै गयो। उक्त महाधिवेशनमा शेष दाईको सबै मान्छे बाहिर राखेर सिन्डिकेट बनाएर भवन भट्टलाई जिताउने काम भयो। म निर्वाचन उठेको भए जित्ने थिएँ। तर, म चुनाव उठ्ने निर्णय गरेर तटस्थ बसेँ।
एनआरएनका लिडरहरूले नेपालमा हुने/गरिने लगानीको विषयलाई कसरी हेर्नुभएको छ?
मैले अगाडि पनि भने शेष घलेको पालामा उहाँले संस्थालाई दिएर जानुभयो। एक पैसामा उहाँको लोभ भएन। एक रुपैयाँ पनि तलमाथि गर्नुभएन। तर पछिल्लो समय एनआरएनलाई कमाउने माध्यम बनाउने थालिएको छ। पद लिएर आफ्नो व्यापार व्यवसाय विस्तार गर्ने थलोको रुपमा संस्थालाई प्रयोग गरिँदैछ।
एनआएरएनए भनेपछि खाडी मलेसियालगायतका मुलुकमा कत्रो सम्मान छ। तर, उहाँको आस्थामाथि खेलवाड गर्ने काम हुन थालेको छ। मलाई त सबै थाहा छ। उपेन्द्र महतोजीदेखि कुमारी पन्तजीसम्मका एकएक कुरा मलाई थाहा छ। मैले उहाँहरूको काम गर्ने तौरतरिका राम्रोसँग थाह पाएको छु। यो संस्था सञ्चालन गर्नका लागि राम्रो र सक्षम व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनु पर्छ। कुमार पन्तको पालामा उपेन्द्रलाई सामूहिक लगानी र जीवालाई एनआरएनए फर्वाड सेभन तथा हाइड्रोको इन्चार्ज बनाउने काम भयो।
यस्तो प्रवृत्तिको बिचमा संस्था कसरी अगाडि बढ्छ। संस्था बनाउनेमा कसैको ध्यान गएको छैन। आफू बन्ने र बनाउने खेल मात्रै हुने गरेको छ।
पछिल्लो समय बद्री केसीले विभिन्न ठाउँबाट पैसा उठाएका छन्। जम्मा २५ मेगावाटको एक जलविद्युत परियोजनामा काम गरिरहेका छन्। उक्त परियोजना अगाडि नबढाउँदा आगामी दिनमा अन्तर्राष्ट्रियस्तरमा पैसा उठाउन समस्या हुने बुझेर काम गरेको जस्तो देखाएका हुन। उपेन्द्र र जीवा लामिछानेले जुन काम गरे अहिले बद्री केसीले पनि त्यहीँ बाटोमा छन्। कुमार पन्तका पालामा पनि थुप्रै पैसा उठाउने काम भएको छ।
यस्ता गतिविधिका कारण संस्था यति कम्जोर भएको छ की कोही आएर पनि काम गर्न सक्ने अवस्था छैन। उपेन्द्र, जीवा वा शेष घले नै आएपनि अहिले काम गर्नसक्ने अवस्था छैन।
यो कुरा बुझ्ने हामी सीमित मान्छेहरू छौँ। सबैले बुझेका छैनन्। काम गर्न चाहने व्यक्तिलाई माथि आउन नदिने र गलत काम गर्न खोज्नेलाई प्रोत्साहन गर्ने प्रवृत्ति हावी छ।
मैले संस्थामा काम गर्दा कमिसन आएको आरोप समेत लगाइयो। म १५/२० लाख कमिसन खाने व्यक्ति त होइन। मैले करौडौँ रुपैयाँ डोनेसन गर्ने व्यक्ति हो। पछि मैले मुस्ताङमा मुर्ति बनाएपछि सबैले तपाईंले जस्तो काम गर्ने व्यक्ति देखेको छैन भनेर प्रसंसा गरे।
हाम्रो माग विधान र विधिनुसार संस्था चल्नुपर्छ भन्ने हो। तर, उहाँहरू बहान एउटा, दिउँसो र बेलुका फरक कुरा गर्दै हिँड्न थाल्नुभयो।
अहिले मैले जुन नागरिकताको काम गरिरहेको छु। त्यो सफल भयो भने म कुनै मन्दिरमा जानुपर्दैन। अमेरिकामा धेरै नेपालीहरू पैतृक सम्पत्तिबाट बञ्चित हुने चिन्तामा थिए। अब त अवस्था फरक हुने देखिएको छ। यसमा मेरो थुप्रै पैसा पनि खर्च भएको छ। यही मुद्दाका कारण नै म एनआरएनएमा लागेको हो।
सामाजिक संस्था भनेको सामूहिक हितका लागि हो। भाई एक रुपैयाँ पनि दुरुपयोग गर्नुहुँदैन है भनेर शेष दाईले नै सिकाउनु भएको हो।
अन्य व्यक्तिमा त्यस्तो सोच छैन। एनआरएनए पुर्वाधार तथा विकास कम्पनीमा पनि मैले १ करोड यही भएरै लगानी गरेको हो। मैले कम्पनीले कमाएको ७ प्रतिशत रकम एनआरएनएका लागि छुट्याउनुपर्छ भन्दा उपेन्द्र महतोजी मान्नुभएको छैन। उहाँहरूले यस्तै विवाद गर्नुभयो भने लगानी झिक्नुपर्ने हुन्छ।
संस्थामा कति पैसा छ त?
संस्थामा पैसा कहाँबाट हुने हो र? सबै डोनेसन उठाउने हो। एनसीसी र आईसीसीको सदस्यहरू छनौट गर्दा उठाउने दर्ता तथा नवीकरण शुल्कबाट संस्थामा पैसा आउने हो। जस्तै अमेरिकामा २० हजार सदस्य भए भने ५ डलरका दरले १ लाख डलर आउने भयो। गत अधिवेशनमा करिब ५ करोड यसरी नै उठाएको हो।
मुस्ताङमा ३५ फिट अग्लो मुर्ति सबै व्यक्तिगत लगानीबाट बनाएँ भन्नुभयो। यसबारे हामीलाई बताइदिनुहोस् न!
शेष घले अध्यक्ष र म क्षेत्रीय उपसंयोजक भएको बेला मैले नै मुक्तिनाथ मन्दिरमा आफ्नै लगानीबाट ३५ फिट अग्लो बुद्धको मुर्ति बनाउने प्रस्ताव राखे। शेष दाईले यो त एकदमै राम्रो प्रोजेक्ट हो, एनआरएनकै परियोजनाको रुपमा यसलाई अगाडि बढाउ भनेपछि मैले सोहीनुरुप काम अगाडि बढाए। लगानी सबै मेरो, नाम चाँहि एनआरएनएको हुने सोचसहित काम सुरु गरेको हो। सुरुवातमा १ करोड ८० लाखमा काम सक्ने योजना बन्यो। मुक्तिनाथ भनेको हिन्दु र बौद्ध धर्मलम्बीहरूको साझा देवस्थल हो।
पशुपतिनाथ र मुक्तिनाथ भन्ने अवधारणा अगाडि आइसकेको थियो। त्यस ठाउँबाट त बुद्धिस्टहरू पनि छन् भन्ने कुरा मेरो दिमाग आयो। यसका लागि लुम्बिनी-मुक्तिनाथ जोड्ने गरी ३५ फिट अग्लो बुद्धको मुर्ति बनाउँदा धार्मिक पर्यटनमा टेवा पुग्ने सोच आयो। यसै कारणले उक्त मुर्ति निर्माण गरेको हो। लुम्बिनी आउने पर्यटकहरूमध्ये केही प्रतिशत मुक्तिनाथ गए भने पनि यी दुई ठाउँ जोड्ने ५ जिल्लाका मान्छेले प्रत्यक्ष रोजगारी पाउने तथा व्यवसाय आउने आशा थियो।
भौगोलिक विकटताका कारण बाटो निर्माण लगायतका कामले २०१५ बाट सुरु गरेको काम ६ वर्षपछि २०२१ मा मात्रै सकियो। यसमा मेरो श्रीमती, छोराछोरी सबैले सहयोग गरे। साथीभाईहरूले सहयोग गर्ने चाहना व्यक्त गरेका थिए। तर, मैले उनीहरूसँग कुनै पनि सहयोग लिन खोजिनँ।
उपेन्द्रजीदेखि कुमारीजीसम्मका एकएक कुरा मलाई थाहा छ।
अन्य परियोजनामा सहकार्य गरेपनि यो परियोजना मेरो परिवारको हो भनेर उहाँहरूसँग सहयोग लिइनँ। यो परियोजना सकिएर राष्ट्रपतिज्युले उद्धघाटन गर्दासम्म करिब ६ करोड रुपैयाँ खर्च भयो।
मुर्ति उद्धघाटनका लागि स्वयं राष्ट्रपतिज्यु जानुभयो। लगानीसम्बन्धी कुनै पनि विवाद नभएकाले उद्धघाटन समारोहमा शेष दाईलाई मात्रै बोलाएँ। मेरो व्यक्तिगत तथा पारिवारिक लगानी भएकाले मैले सीमित व्यक्तिहरूलाई मात्रै बोलाएको थिएँ।
आमासहित मुक्तिनाथ पुगेका शेष दाईले विष्णुको मुर्ति बनाउने भनेर ५० लाख टोकन मनी दिने घोषणा गर्नुभयो। बाँकी पैसा एनआरएनएबाट उठाउने भन्ने थियो। तर, अहिलेसम्म काम सुरु भएको छैन। शेष दाई आएपछि उक्त पैसाले के बनाउने भन्नेबारे छलफल हुन्छ।
मुक्तिनाथको नजिकै एउटा ठुलो जग्गा खाली थियो। मैले उक्त जग्गा ३० वर्षका लिजमा लिएर रिसोर्ट बनाएँ। ३० वर्षको म्याद थप सकिने व्यवस्था छ। ३० वर्षपछि त्यहाँकै स्थानीयलाई रिसोर्ट दिने घोषणा मैले घोषणा गरेको छु। यस रिसोर्टको उद्धघाटन पनि राष्ट्रपतिज्युले गर्नुभएको थियो। सुरुमा त उहाँले रिसोर्ट लगायतका उद्धघाटन आफूले नगर्ने भन्नुभयो। तर, पछि समुदायलाई नै हस्तान्तरण गर्ने कुरा जानकारी पाएपछि उहाँ उद्घाटन गर्न आउनु भएको थियो। पैसाले मानिसलाई कहिल्यै पुग्दैन। लोभ मोह त्यागेर समाजका लागि केही गर्नुपर्छ भन्ने धारणासहित रेस्टरेन्ट बनाइएको कुरा राष्ट्रपतिज्युलाई भनेपछि उहाँ ‘कन्भिन्स’ हुनुभएको थियो।


