विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ। शुक्रबार राती सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै जवालाखेल अन्तिम चारमा पुगेको हो। विराटनगरको शहीद रंगशालामा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समय हुँदै खेल टाइब्रेकरसम्म पुगेको थियो ।
टाइब्रेकरमा पनि दुवै टिमबाट ५–५ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो । जसमा आर्मीका शेषेहाङ आङदम्बेले गरेको प्रहार क्रसबार माथिबाट गयो । सोही प्रहार गोलमा परिणत नभएपछि आर्मी प्रतियोगिबाट बाहिरिँदा जावलाखेलका लागि निर्णायक गोल विशाल तामाङले गरेका थिए । आर्मीका लागि टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जिलेस्पीजंग कार्की, शिशिर केसी र विकेश कुथुले सहजै गोल गरेका थिए ।
जावलाखेलका लागि सिमान्त थापा, फोडे फोफाना, राहुल, छिरिङ लामा र समिराज थोकरले गोल गरेपछि ५–५ गोल भएको थियो । सडन डेथमा आर्मीका शेशेहाङले गरेको प्रहार खेर जाँदा जावलखोलका लागि विशाल तामाङले निर्णायक गोल गरेका थिए ।
१७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख १५ हजार प्राप्त गर्नेछ। उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।


