काठमाडौँ- काठमाडौंमा जारी थ्री नेसन्स कपमा शनिबार साँझ लाओसले भुटानविरुद्ध २-१ को जित निकालेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा सम्पन्न कपको दोस्रो खेलमा भुटानले लाओससँग हार व्यहोरेको हो।
प्रतिस्पर्धात्मक खेलमा लाओसका लागि दुवै गोल बोउनपचान बोङ्खोङले गरेका थिए। खेलको सुरुवाटै भुटानको लेफ्ट डिफेन्डर शेर्बु दोर्जीले गल्ती गरेको फाइदा उठाउँदै लाओसले तेस्रो मिनेटमै अग्रता बनाएको थियो।
अग्रता बचाउमा रहेको लाओसले केही पटक भुटानको आक्रमणको सामना गर्नु परेको थियो। भुटानका लागि ३५औं मिनेटमा कप्तान छेन्जो ग्याल्छेनले गोल गरे। बललाई नियन्त्रणमा लिँदै सहज गोल गरेका थिए। त्यसपछिको १२ मिनेटमा लाओसले निकै राम्रा मुभ बनाएका थिए।
लाओसका कप्तान सोउक्फोनले निरन्तर भुटानी डिफेन्डरमाथि दबाब बनाइरहे। तर दोस्रो हाफमा गोल गर्नेमा बोउनपचान बोङ्खोङ नै रहे। उनले १८ यार्ड बक्स भित्रबाट गोल गरेका थिए।
उनले गरेको प्रहार बचाउका लागि उफ्रिएका गोलकिपर छिरिङ डेङपुको हातमाथिबाट गएको बल सिधै पोस्टको जालीसम्म पुगेको थियो।
लाओसको यो जितसँगै आगामी मंगलबार हुने तेस्रो खेल थप रोमाञ्चक हुने भएको सो खेलमा नेपालले भुटानसँग खेल्नेछ।


