पोखरा–आँखा पाक्ने रोग संक्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखा परीक्षण र औषधी निःशुल्क बाँड्न थालेका छन्। पोखरा महानगरको अग्रसरतामा पोखराका तीन वटा अस्पतालमा साउन मसान्तसम्म आँखा जाँच तथा औषधी वितरण निःशुल्क गरिएको हो।
महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधी वितरणसम्बन्धी समझदारी गरेको छ।
मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरभित्र पनि बढिरहेकाले यसको संक्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरणसम्बन्धी समझदारी गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए।
व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि समझदारी गरिएको अस्पतालले जनाएका छन्। अस्पतालमा आजदेखि साउन मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधीसमेत वितरण गरिनेछ।
बिरामीलाई बिहान ९ देखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिनेछ। महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिनेछ। आँखा समस्याका बिरामीका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा. इलिया श्रेष्ठले बताइन्।
पोखरा महानगरले रोगको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधबारदेखि शुक्रबारसम्म महानगर मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ। विद्यालय संक्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए।



