काठमाडौं– १४औं महाधिवेशनअघि नेपाली कांग्रेसका संस्थापकत्रय बीपी कोइराला, गणेशनमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच झन्डै महिना दिन लामो भेटवार्ताको क्रम चल्यो। यो भेटले पार्टीभित्र र बाहिर ठूलै तरंग ल्याएको थियो। महाधिवेशनको मुखमै असार पहिलो साता निधि निवासमा भएको नेतापुत्रत्रयबीचको भेट साउनसम्म चल्यो। कांग्रेस महाधिवेशनको मुखमा तीन संस्थापक नेतापुत्रत्रय तत्कालीन महामन्त्री डा. शशांक, उपसभापति विमलेन्द्र र पूर्वमहामन्त्री प्रकाशमानबीचको भेटवार्ताका कारण पार्टीमा नयाँ ध्रुवीकरण हुन लागेकामा धेरै नेताहरूले शंका गरेका थिए। उनीहरूले पनि आफूहरू तीनमध्येबाट एक सभापतिको उम्मेदवार बन्ने सार्वजनिक रूपमै भन्ने गरेका थिए। खासमा पुत्रत्रय एकै ठाउँ रहने सन्देश दिएका थिए।
पार्टीको १४औं महाधिवेशनमा यी तीनै जना नेता सभापतिको आकांक्षी थिए। स्वाभाविक उममेदवार पनि थिए। अन्ततः १४औं महाधिवेशनमा तीन नेता एकै ठाउँ पुगे। सभापतिमा तीनै नेताले शेरबहादुर देउवालाई सहयोग गरे। प्रकाशमान र विमलेन्द्र निधि पहिलो चरणमा सभापतिको प्रतिस्पर्धामा उत्रिए। तर, डा शशांक केन्द्रीय सदस्यको मात्र उम्मेदवार बने। तीनमध्ये एक जना पनि सभापतिको उम्मेदवार बन्न सकेनन् तर तीनै जना पार्टीको एउटै गुटमा भने पुगे। सभापतिमा देउवा निर्वाचित भए। मुख्य प्रतिस्पर्धी पुरानो कोइराला समूहबाट डा. शेखर कोइराला बने। अहिले शेरबहादुर र डा. शेखरको लेनदेनमा पार्टी चलिरहेको छ। पूर्वपदाधिकारी र कुनै बेलामा प्रभावशाली नेता पुत्रत्रय अहिले राष्ट्रिय राजनीतिमा मात्र नभएर कांग्रेसको राजनीतिमा पनि गुमनामजस्तै छन्। तर अहिले तीनै जना नेताहरुले आफू राजनीतिमा गुमनाम छैन भन्ने देखाउने प्रयास मात्रै गरिरहेका छन्।
प्रकाशमान अलि–अलि अझै पनि देश दौडाहामा देखिन्छन्। तर, विमलेन्द्र र शशांकको कछुवा गतिमा छन्। प्रकाशमान छिटफुट कार्यक्रममा सहभागि भइरहेको देखिन्छ। उनी पार्टीका कार्यक्रम र संसद्को बैठकमा पनि आफ्नो धारणा राखिरहेका छन्। पछिल्लो पटक पार्टी केन्द्रीय समिति बैठक चलिरहे बेला शशांकले केन्द्रीय सदस्य प्रदेश र प्रतिनिधिसभाका सांसद तथा जिल्लासभापति प्रदेशका पदाधिकारीलाई चियापान आयोजना गरे। निधिले पनि शशांकले चियापान गरेको भोलिपल्ट केन्द्रीय सदस्यहरूलाई ‘डिनर’ गराएका थिए। त्योभन्दा यी तीनै जना मौन र गुमनामजस्तै बनेका छन्। शशांक, प्रकाशमान र बिमलेन्द्रको संसद्मा पनि भूमिका कमजोर देखिएको छ। शशांक विगतका संसद्मा पनि कमजोर भूमिका प्रस्तुत भएका थिए। तर, प्रकाशमान र विमलेन्द्रको भूमिका कमजोर थिएन। अहिले भने तीनै नेताले आफूलाई संसद्मा अग्रस्थानको भूमिकामा उभ्याउन सकेका छैनन्।
निर्वाचन क्षेत्रमा पनि कमजोर बन्दै
बीपीपुत्र शशांक, गणेशमानपुत्र प्रकाशमान र महेन्द्रनारायणपुत्र विमलेन्द्र तीनै जना अहिले प्रतिनिधिसभा सदस्य हुन्। तीनमध्ये विमलेन्द्र समानुपातिकबाट सांसद हुन् भने शशांक र प्रकाशमान प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। तीनै जना आफ्नो निर्वाचन क्षेत्रमा पनि कमजोर बन्दै गएका छन्।
धनुषा ३ बाट सांसद बन्दै आएका विमलेन्द्र २०७४ मा राजेन्द्र महतोसँग पराजित भए। २०७४ मा पराजित निधि २०७९ मा उम्मेदवार बन्ने पनि हिम्मत गरेनन्। उनी समानुपातिकअन्तर्गत मधेसी क्लस्टरबाट पहिलो नम्बरमा समानुपातिकको सूचीमा नाम राखेर सांसद भए।
शशांक नवलपरासी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। २०४८ देखि कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को क्षेत्र १ बाट शशांक चौथो पटक निर्वाचित भएका हुन्। उनी यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी भएका थिए। तर, २०७९ को निर्वाचनमा शशांकले २७ हजार १२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीद्वय एमालेका कृष्ण पौडेलले २५ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ मत प्राप्त गरे।
त्यस्तै, २०७४ कै चुनावमा प्रकाशमानलाई विवेकशील साझाका रवीन्द्र मिश्रले कडा टक्कर दिएका थिए। सिंह ८१९ मतान्तरले विजयी भए। सिंहले १० हजार ९३७ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए। काठमाडौं १ बाट २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। सिंहले ७ हजार १४० मत प्राप्त गरे भने मिश्रले ७ हजार ११ मत प्राप्त गरेका थिए। सिंह २०४८ मा काठमाडौं ४ मा चुनाव लडे पनि एमाले उम्मेदवार सहाना प्रधानसँग पराजित भएका थिए।
२०५१ को चुनावमा काठमाडौं ३ मा गए तर एमालकै मनमोहन अधिकारीसँग पराजित भए। २०५६ मा भने सिंह चुनावै लडेनन्। २०६४ बाट काठमाडौं १ मा आएका उनी निरन्तर विजयी भएका छन्। पहिलो संविधानसभामा प्रत्यक्षतर्फ माओवादीको लहर चल्दासमेत सिंहको संसद् प्रवेश रोकिएन। सिंह १४ हजार ३१८ मतका साथ निर्वाचित हुँदा एमालेका प्रदीप नेपालले ६ हजार ७८९ मत पाए। माओवादीका राममान श्रेष्ठले ४ हजार ८३६ मत पाए। २०७० मा प्रकाशमानले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाललाई फराकिलो अन्तरले हराए। प्रकाशमान १५ हजार १३८ मतका साथ विजयी हुँदा रेनुले ४ हजार ६४ मत पाएर चित्त बुझाइन्।
देउवाको आशमा पुत्रत्रय
पार्टीको १५औं महाधिवेशनमा कांग्रेसको विद्यमान विधानअनुसार सभापतिका फेरि शेरबहादुर देउवा उम्मेदवार बन्न पाउँदैनन्। सोही कारण देउवाको उत्तराधिकारी को हुन्छ भन्ने अझै स्पष्ट छैन। अहिले बीपीपुत्र शशांक, गणेशमानपुत्र प्रकाशमान र महेन्द्रनारायणपुत्र विमलेन्द्र सवै देउवाको आशामा देखिन्छन्। सभापति देउवालाई १४औं महाविधवेशनमा सहयोग गरेको हिसाबले यी तीन नेताले देउवाको आश गर्नुलाई पार्टीभित्र पनि स्वाभाविक लिइएको छ। उनीहरू देउवाको उत्तराधिकारी बन्ने दाउमा देखिन्छन्। यदि उत्तराधिकारी नबनाएपछि अन्यत्र ‘सेटलमेन्ट’ का लागि पनि सभापति देउवाको आशमा बसेको देखिन्छ।


