काठमाडौँ- नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ। निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो।
टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ। नवीन सुब्बाले निर्देशन गर्नुभएको उक्त चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ।
निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनोट हुनुले यसले सकारात्मक प्रभाव पार्ने बताए। ‘यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ,’ उनले भने।
निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजार पुगेको थियो। यसअघि उनकै निर्देशनमा रहेको ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो।
चलचित्रमा ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय छ। महेश राई र निर्देशक सुब्बाको लेखनमा चलचित्रमा जोस हेरमको छायाङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लिले सङ्गीत भरेका छन्।


