काठमाडौं- बंगलादेशमा जारी यू १७ महिला साफ च्याम्पियनसिप अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले रसियासँग ०-३ को हार व्यहोरेको छ।
वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कोमल रंगशालामा भएको खेलमा नेपालले हार बेहोरेको हो। यसअघिको खेलमा नेपालले भुटानलाई ५-० ले हराएको भए पनि पहिलो खेलमा भारतसँग ४-१ को हार बेहोरेको थियो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको भए पनि खेलको ६३औं मिनेटमा एलिना गोलिकले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएकी थिइन्। ७४औं मिनेटमा एलिनाले नै व्यक्तिगत दोस्रो गोल गर्दै २-० को अग्रता दिलाइन्। ८३औं मिनेटमा पोलिनाले गोल थप गर्दै रसियालाई ३-० को जित दिलाइन्।
नेपालले आफ्नो अन्तिम खेलमा आयोजक बंगलादेशको सामना गर्नेछ। यो जितसँगै रसिया उपाधि नजिक पुगेको छ।


