काठमाडौं- नेपाली कांग्रेसले शुक्रबारदेखि आफ्ना सांसदहरुका कुरा सुनिरहेको छ। २ दिनदेखि जारी संसदीय दलको बैठकमार्फत कांग्रेसले सांसदहरुका विचार सुनिरहेको हो।
नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा भएको संसदीय दलको बैठकमा धारणा राख्ने क्रममा सांसदहरु प्रमुखरुपमा २ एजेन्डामा केन्द्रित देखिन्छन्। पहिलो–सय केजी सुन तस्करी प्रकरण। दोस्रो–सरकारका गतिविधि।
सुन तस्करी प्रकरणले मुलुकको राजनीति गर्माएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरिय छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद् अवरुद्ध पार्दै आएको छ।
यस्तोमा सत्तासाझेदार दल कांग्रेसमा यसबारे छलफल हुने नै भयो। सँगै सरकारका अन्य कामकारबाही र गतिविधिका बारेमा समेत सांसदहरुले धारणा राखिरहेका छन्। अधिकांश सांसदरुले सरकारको आलोचना गरिरहेका छन्।

शुक्रबारको बैठकमा बोल्ने सांसदहरुले डा. सुनील शर्माको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका थिए। नक्कली शैक्षिक प्रमाणपत्रमा छानबिन गर्न भन्दै सीआइबीले शर्मालाई बिहीबार पक्राउ गरेको थियो। तर, शुक्रबार अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।
सांसद् शर्मा पक्राउको विषय पनि बैठकको प्राथमिकतामा परेको छ। शर्माले सुन तस्करी प्रकरणसँग जोडेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्दै आएका छन्।
आइतबारको बैठकमा बोल्ने अधिकांश सांसदले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउनुपर्ने माग राखेका छन्। बैठकमा बोल्दै नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखेका छन्। उनले एमालेले उच्चस्तरीय संसदीय छानबिन समितिको माग गरेको भन्दै यसबारे कांग्रेसले सोच्नुपर्ने बताए।
‘प्रचण्डजीको निजी सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सात दिन पहिले राजस्व अनुसन्धानको डिजी भएर जानुहुन्छ, सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस्,’ बैठकमा कोइरालाले भनेका थिए, ‘सीआईबीलाई किन दिनु पर्यो, हामी नै सक्षम छौँ छानिबन गर्न भन्नुभयो। त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ।’

शेखर कोइराला
शेखरले भारतमा एक हजार ४०० टन सुन खपत हुने र नेपालबाट मात्र चारदेखि ५०० टन सुन तस्करी भएर भित्रने गरेको बैठकमा सुनाएका थिए। सांसद प्रदीप पौडेलले पनि सुन तस्करी प्रकरणको छानविन उच्चस्तरिय छानबिन समिति बनाएर गर्नुपर्ने धारणा राखे। सरकारका उच्च अधिकारीहरूको संलग्नताबिना एयरपोर्टबाट कसैले पनि १०० केजी सुन तस्करी गर्ने कुरा कल्पनासम्म गर्न नसकिने उनको भनाइ थियो।
‘एयरपोर्टबाट १०० किलो सुन ल्याउँदा अध्यागमन र सुरक्षा निकायको मिलेमतो नभएको कुरा कसैले पत्याउँदैन। यो उच्चस्तरकै संलग्नता नभएको हो भनेर यसै भन्न सकिँदैन। यसमा हामी गहन हुनुपर्छ। यो प्रकरणको तीन हप्ता बितिसकेको छ। तर छानबिन भएको छैन। यही विषयले संसद् अवरुद्ध छ,’ उनले भनेका थिए, ‘त्यसकारण हामीले आजै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धानका लागि बाटो खुला गर्नुपर्छ, यसको कुनै विकल्पै छैन। यसको मात्रै होइन, अहिलेसम्मका सबै चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिन गर्नुपर्छ।’

सांसदका कुरा सुन्दै कांग्रेस संसदीय दलका नेता देउवा।
सांसद् जीवन परियारले सुन तस्करी प्रकरणमा सम्बन्धमा हङकङ विमानस्थललाई प्रश्न गर्नुपर्ने बताएका थिए। ‘हङकङमा पनि चेकजाँच हुन्छ होला नि? हाम्रो त्रिभुवन विमानस्थलभन्दा अत्याधुनिक सामग्री त्यहाँ होला नि! किन हामीले हङकङको विमानस्थललाई त्यो प्रश्न नगर्ने?,’ उनको भनाइ थियो।
शर्मा पक्राउबारे बहस
सांसद्हरुले सुनील शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्। सांसद सञ्जय गौतमले सरकारले सल्लाह नै नगरी शर्मालाई पक्राउ गर्नु गठबन्धनका लागि अनिष्टको संकेत भएको जिकिर गरे।
‘सुनील शर्मा हाम्रो सांसद हो, हामी गठबन्धनमा छौँ। उहाँलाई पक्राउ गर्न पार्टीसँग छलफल छैन, सल्लाह छैन। कांग्रेसलाई थाहा छैन। यो अनिष्टको संकेत हो,’ उनले भनेका थिए, ‘कुनै पनि बेला कुनै पनि दुर्घटना हुनसक्छ। बिहानले दिनको संकेत गर्छ।’

प्रहरी हिरासतमा सांसद शर्मा।
सांसद परियारले सांसद सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानुन मिचेको आरोप समेत लगाए। ‘हाम्रै पार्टीका सांसदलाई दिनदाहाडै जेल हाल्ने प्रयत्न गरिन्छ, सुनीलजी रिहा भएर आउनुभएको छ। सभामुखलाई जानकारी नगराईकन पक्राउ गर्न पाइँदैन,’ उनले भनेका थिए, ‘कानुन हातमा लिने काम सरकारले गरेको छ। आज सुनीललाई पर्यो, भोलि अरूलाई पर्ला।’
सांसद वीरबहादुर बलायरले भने शर्मालाई कसैको उक्साहटमा नबोल्न सुझाएका छन्। शर्माले अर्थमन्त्री महतलाई विना प्रमाण आरोप लगाउँदै हिडेको भन्दै बलायरले असन्तुष्टि पोखेका थिए। उनले शर्माले प्रमाण पेश गरे उनकै एजेन्डा बोकेर हिँड्न आफू तयार रहेको बताएका थिए।
‘अर्थमन्त्रीजीलाई लगाएको आरोप प्रमाणसहित आउनु, म तपाईंसँग तपाईँको एजेन्डा बोकेर हिँड्छु। तर अरुको उक्साहटमा नबोल्नू,’ उनको भनाइ थियो, ‘तपाईँले सामाजिक सञ्जालमा, मिडियामा जुन ढंगबाट बोल्नुभएको छ, त्यो किमार्थ मान्य छैन।’
अर्थमन्त्रीको गुनासो, शर्माको प्रष्टीकरण
अर्थमन्त्री महतले आफूमाथि निरन्तर लाञ्छना लगाउने, होच्याउने तथा व्यक्तिगत प्रहार भइरहेको भन्दै आक्रोश सहितको गुनासो पोखेका थिए। आफूमाथि सार्वजनिकरुपमा लान्छना लगाएको भन्दै उनले सुनील शर्मासँग आक्रोश पोखेका थिए।
‘मलाई लन्ठु, बेकामे मान्छे भनियो। कसले भन्यो, किन भनियो म भन्दिनँ। पार्टीमा अनुशासन, मर्यादा छैन? लोभलालच गर्ने भए कर निर्धारणमा म अनेक गर्न सक्थेँ। त्यसो गरेको भए न देश रहन्थ्यो, न पार्टी रहन्छ,’ उनले भनेका थिए।
उनले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता भएको लाग्छ भने प्रमाणित गरेर देखाउन चुनौती दिए। आफ्नो संलग्नता प्रमाणित भए एक मिनेट पनि कुर्सीमा नबस्ने उनको भनाइ थियो।

‘मेरो बारेमा मान्यजीले उठाएको प्रश्नमा भन्न सक्छु। मैले भनिसकेको छु। उहाँलाई पक्राउ गर्ने टाइमिङ्गमा आपत्ति हुन सक्छ। तर, उहाँले जुन् कुरा राख्नुभयो, त्यो ठिक भयो?,’ उनले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुहोस्। म एकछिन पनि यो कुर्सीमा बस्दिनँ।’
शर्माले भने आफूले गृहमन्त्री र अर्थमन्त्रीका विषयमा संसद्मा नीतिगत प्रश्न उठाएको बताएका थिए। अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आफ्नो लिनुदिनु केही नरहेको उनको भनाइ थियो। ‘प्रकाशशरण दाइसँग केही छैन लिनुदिनु छैन। भन्सारबाट क्विन्टल सुन आउने, भारत पुग्ने, पुलिस प्रशासनको नेतृत्व गर्ने गृहमन्त्रीलाई थाहा नहुने? भन्सारमा आफ्ना स्टाफ पठाएर मेकानिजम राखेका छन्, अर्थमन्त्रीलाई थाहा नहुने भन्ने कुरा नेपाली जनताले पत्याउँछन् त?,’ उनले भने, ‘यो कुरीकुरी गर्ने विषय होइन? मैले नीतिगत कुरा गरेको हो। प्रकाशशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ तस्कर हो भनेको होइन। गृहमन्त्रीले पनि तस्कारी गर्नुभयो भनेको होइन।’
शर्माले आफूलाई उत्तर कोरियाको शैलीमा पक्राउ गरिएको बताएका थिए। पक्राउपुर्जी नदिइकन पक्राउ गरेको र आफू माथि थुनामा हुँदा हातपात समेत भएको उनको गुनासो थियो। पक्राउ परेको तीन घण्टापछि मात्र आफूलाई पुर्जी दिइएको र आफूले भोलिपल्ट मात्र पाएको उनको भनाइ थियो।
‘यो आतंककारी सरकारको बारेमा जानकारी गराउन चाहन्छु, यो सरकारमा हामी छौँ कि छैनौँ? म कांग्रेसको सांसद हुँ, मैले सुन तस्करी गरेको छैन, मैले मान्छे मारेको छैन, हातपात नगर्नुस् भन्दा दुईपटक हातपात गर्नुभो,’ उनले भनेका थिए।
उनले संसद् बैठकमा बोल्न समय नदिए विद्रोह गर्ने चेतावनी समेत दिएका थिए। ‘एउटा सांसदलाई पञ्चायतजसरी बोल्नै दिनु भएन भने त म विद्रोह गर्छु। म सभामुखसँग टाइम माग्छु, दिनु भएन भने उभिन्छु,’ उनले भनेका थिए।
ल्यारकालको नियुक्तिबारे प्रश्न
बैठकमा नेता शेखर कोइरालाले विवादित छविका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषमा नियुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए। उनले यो अपजसको भारी कांग्रेसले बोक्न नसक्ने तर्क गरेका थिए। ‘अपजसको भारी बोक्न चाहँदैनौँ भने ल्यारक्याल लामा जस्ता व्यक्तिहरुलाई अब्जेक्ट गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन। म पनि चिन्छु, सँगै बसेर गफ हुन्छ,’ उनले भनेका थिए, ‘तर यसरी नियुक्त गर्दाखेरि पार्टी पनि जोडिएको छ। पार्टीको भविष्य र छविमा प्रश्न उठेको छ।’
सांसद प्रतिमा गौतमले पनि ल्यारक्याल लामाको नियुक्तीबारे असन्तुष्टि जनाएकी थिइन्। उनले लामालाई लुम्बिनी विकास कोषको जिम्मेवारी सुम्पँदा आफ्नो पार्टीको शिर झुकेको बताएकी थिइन्। ‘ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषमा नियुक्तिले कांग्रेसको शिर निहुरिएको छ। सरकारमा बसेको मन्त्रीहरूले यो विषयमा असहमति जनाउनु पर्नेमा किन त्यसो भएन,’ गौतमले प्रश्न गरेकी थिइन्।
सरकारबारे असन्तुष्टि
सांसद गौतमले सरकारको अनुभूति सीमित मन्त्रीहरूलाई मात्र भएको बताएकी थिइन्। कांग्रेसका नेता–कार्यकर्ताले सरकार भएको अनुभूति गर्न नपाएको उनको भनाइ थियो।
सांसद बलायरले अर्थ मन्त्रालयको काम चित्तबुझ्दो नभएको बताएका थिए। सांसद सञ्जय गौतमले सरकारको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले जनतामा जाँदा के लिएर जाने? भन्दै प्रश्न समेत गरेका थिए।

सांसद प्रदीप पौडेलले कांग्रेसका मन्त्रीहरूले पनि सरकारमा गएर कुनै गतिलो सुरुवात गर्न नसेको बताएका थिए। ‘तपाईँहरू सरकारमा गएको यत्तिका समय भयो। तर अहिलेसम्म सरकार नै नभएको जस्तो अवस्था छ,’ उनले भनेका थिए, ‘कमसेकम सरकार छ भन्ने अनुभूति हुने एक, दुईवटा भए पनि योजना ल्याइदिनुस्, कार्यक्रम ल्याइदिनुस्। हामीले घोषणापत्रमा दर्जनौँ घोषणाहरू राखेका छौँ, त्यसको कार्यान्वयन गरिदिनुस्।’
चन्द्रको चिन्ता
सांसद डा. चन्द्र भण्डारीले भने कम्युनिस्ट एकताबारे चिन्ता व्यक्त गरेका छन्। उनले कम्युनिस्ट एकता भए कांग्रेसलाई समस्या हुने धारणा राखेका थिए। ‘नेपालको अवस्थामा सबै कम्युनिस्ट दल मिले भने कांग्रेसलाई अप्ठ्यारो पर्छ,’ उनले भने। उनले नयाँ उदाएका दल पनि कांग्रेसका लागि चुनौति भएको बताएका थिए।

फाइल तस्बिर।
‘नयाँ पार्टीहरू आएका छन्, अब हामीले नयाँ तकिाले सोच्न पर्छ। पार्टीले दिने अवसरमा योग्य मानिसहरूलाई प्राथमिकता दिनुपर्दछ,’ उनले भनेका थिए। आइतबारको बैठकमा सांसदहरु किशोरसिंह राठौर, शंकर भण्डारी, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु लगायतले पनि धारणा राखेका थिए।
बैठक मंगलबार पुनः बस्नेछ।


