पोखरा- पोखरा महानगरपालिकाले सडक/चोकमा रहेका शालिकहरूलाई हटाउने निर्णय गरेपछि नेपाली कांग्रेस कास्कीले आपत्ति जनाएको छ। सडकका शालिकलाई हटाएर सहिद पार्क लैजाने निर्णयप्रति कास्की कांग्रेसले आपत्ति जनाएको हो।
आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस कास्कीले महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। ‘पोखरा शहरका मुख्य सडकहरुमा रहेका सालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकाबाट मिति २०८०/४/२७ मा सार्वजनिक भएको अनुरोधका प्रति नेपाली कांग्रेस कास्कीको ध्यानाकर्षण भएको छ,’कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘पोखराको शहरी सौन्दर्यीकरण हामी सबैको साझा चासोको विषय हो जसका लागि हामी सबै पोखरेली एक ठाउँमा उभिनै पर्छ। पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनीतिक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न सक्दैन।’
कास्की कांग्रेसले शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकाबाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली कांग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेकोसमेत जनाएको छ।
कांग्रेसको विज्ञप्ति

महानगरको सूचना

