काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका दिवंगत नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको शालिक अनावरण गरेका छन्। काठमाडौँ हनुमानढोका पछाडिपट्टि नवनिर्मित शालिक सोमबार बिहान अनवारण गर्दै उनले नेता जोशीको योगदान पनि स्मरण गरेका थिए।
‘नवीन्द्रको अनुकरणीय विशेषता योग्यता मात्र थिएन। आचरणशील र इमान्दारी पनि उनका अनुकरणीय विशेषता हुन्। योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी संगम रहेका विरलै मानिसमध्ये नवीन अब्बल दर्जामा थिए,’ राष्ट्रपतिले गरेको सम्बोधनमा उल्लेख छ।
नवीन्द्रको असामयिक निधनले देश र आफ्नो परिवारलाई पनि अपूरणीय क्षति पुगेको राष्ट्रपतिले उल्लेख गरेका थिए। ‘नवीन्द्रको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीति, संगठन, जोशी परिवार र मेरा लागि पनि अपूरणीय क्षतिको रूपमा रहेको मैले महसुस गरेको छु,’ उनले स्मरण गरे। समाजमा र राजनीतिमा सदाचारको खडेरी पर्न थालेको विषयमा चिन्ता प्रकट भइरहेका बेला नवीन्द्रले आफ्नो चरित्रमा कतै दाग लाग्न नदिएको उनले स्मरण गरे। ‘उनको यो छवि सदाचारी तथा आदर्श राजनीति चाहने जो कोहीका लागि आशाको दियो हो,’ उनले भनेका छन्।
यस्तो थियो राष्ट्रपतिको सम्बोधन
सर्वप्रथम पूर्वमन्त्री नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नु भएकोमा यस कार्यक्रमका आयोजक, शालिक निर्माण समिति एंव प्रतिनिधिसभा सदस्य सपना राजभण्डारीप्रति धन्यवाद प्रकट गर्न चाहन्छु।
आफ्नो राजनीतिक विचार र आस्थाप्रति सधैँ इमान्दार र निष्ठावान भई त्यसैका माध्यमबाट नेपाली जनता, समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि जीवनभर एउटा इमान्दार सिपाहींको रुपमा काम गर्दा गर्दै असामयिक मृत्युवरण गर्नुभएका पूर्वमन्त्री नवीन्द्रराज जोशीप्रति म यस घडीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। जोशीको शालिक निर्माणले उहाँले देश र जनताका लागि पुर्याउनुभएको योगदानलाई सदैव जीवन्त राख्नेछ । साथै, असल र इमान्दार एउटा राजनीतिज्ञको व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन तथा उनीहरुलाई सत्कार्य गर्न सधैँ प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु।
मैले नवीन्द्रलाई सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँ। स्वतन्त्र विद्यार्थी आन्दोलनको गर्भबाट भर्भराउँदो र कलकलाउँदो मुना बनेर निस्केको नवीन्द्रको व्यक्तित्व शिक्षाका साथै विद्यार्थी संगठनको माथिल्लो नेतृत्व, महानगरपालिकाको उपप्रमुख, संविधानसभा सदस्य, सांसद र मन्त्रीका साथै गणेशमान सिंह अध्ययन प्रतिष्ठानको संस्थापक अध्यक्षजस्ता कयौँ सामाजिक संस्थाको आवद्धतासँगै राष्ट्रिय रूपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि सदैव प्रेरणादायी छ भन्ने मलाई लाग्दछ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्भीक र निष्ठावान युवा नेताको नाम थियो नवीन्द्रराज जोशी। हाम्रो समाजमा र खासगरी राजनीतिमा सदाचारको खडेरी पर्न थालेको हो कि भनेर चिन्ता प्रकट भइरहँदा नवीन्द्रले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न दिएनन्। उनको यो छवि सदाचारी तथा आदर्श राजनीति चाहने जो कोहीका लागि आशाको दियो हो। नवीन्द्रको अनुकरणीय विशेषता योग्यता मात्र थिएन। आचरणशील र इमान्दारी पनि उनका अनुकरणीय विशेषता हुन्। योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी संगम रहेका विरलै मानिसमध्ये नवीन अब्बल दर्जामा थिए।
नवीन्द्रको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारणले नवीन्द्र एक होनहार नेताका रुपमा देखिएका थिए। सरल, शालीन, मिलनसार, सहयोगी कुशल राजनीतिज्ञको छवि उनको पहिचान थियो।
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ। जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ। जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए।
नवीन्द्रको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीति, संगठन, जोशी परिवार र मेरा लागि पनि अपूरणीय क्षतिको रूपमा रहेको मैले महसुस गरेको छु। मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा उहाँले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरेर यसको संस्थागत विकासमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत रहिरहनेछ।


