काठमाडौं– प्रतिनिधिसभामाको अवरोध हटाउन सत्तारुढ दलहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएका छन्। सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। सत्तारुढ दलहरुबीच संसदमा जारी अवरोध खुलाउनेबारे बुधबार छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक संसदको गतिरोध अन्त्य गर्ने बारे छलफल भएको हो। सत्तारुढ दलहरुको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। ‘बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ,’ प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।


