काठमाडौँ- सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र (पिच) र दुई सय २२ पुल निर्माण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा २४९ किमी सडक पुनः निर्माण भएको छ।
गतवर्ष २४३ किमी नयाँ ट्र्याक खुलेको र ६२८ किमी खण्डस्मिथ भएको विभागले जनाएको छ। गतवर्ष ७६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकामा ५३८ किमी सम्पन्न भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध हुँदहुँदै पनि सडक विभागको प्रगति झण्डै ६९ प्रतिशत पुगेको बताए। ‘चालु वर्ष समयमा कामको प्रगति अझै बढाइनेछ,’ उनको दाबी छ।
अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको उनको भनाइ छ। ‘विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार हुनसकेको छैन,’ उनले भने।
राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ। नागढुङ्गा–नौबिसे सडकखण्ड स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ। सो सडकखण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको विभागले जनाएको छ। पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ।
तमोर करिडोरअन्तर्गत मूलघाट–सुभाङखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम सुरु भएको छ। ग्वार्को ‘फ्लाईओभर’को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाईओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताको लागि सहमति माग गरिएको छ। अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ।


