धनगढी– मनाङ मर्स्याङ्दी क्लब छैटौँ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा बागमती युवा क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो।
मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे। यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए। खेलको ३७औँ मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। बागमतीले खेलको ४१औँ मिनेटमा बराबरी गोल फर्कायो।
बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए। पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गरेको थियो। मनाङका लागि खेलको ६६औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए।
जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ। अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। उक्त खेल चैत १५ गते हुनेछ।
प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक सुदूरपश्चिम-११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्। खेल दिउँसो साढे तीन बजे सुरु हुनेछ।


