काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख १० मा हुने उपनिर्वाचनका लागि कमान्डर तोकेको छ। सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले निर्वाचन कमान्डर तोक्नेलगायतका निर्णय गरेको हो।
बारा-२ को निर्वाचन कमान्डरको जिम्मेवारी वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङले पाएका छन्। चितवन-२ मा वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे कमान्डर तोकिँदा र तनहुँ-१ मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको छ। तीनै क्षेत्रमा राप्रपाले आफ्नो उमेदवार खडा गर्नेसमेत निर्णय गरेको छ।
निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समीक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्नेसमेत राप्रपाको निर्णय छ।
यस्तै वैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तीव्रता दिने र २०८० भित्र पार्टीमा दुई लाख सक्रिय सदस्य बनाउने लक्ष्य निर्धारण गरिएको छ। पार्टीको राजनीतिक लक्ष्य प्राप्ती र जनजीविकासँग सम्बन्धित विषयमा बैठकले आन्दोलनमा केन्द्रित हुनका लागि छलफल चलाएको र आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सह महामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गर्नेसमेत राप्रपाको निर्णय छ।
पार्टी केन्द्रीय कार्यसमितिको अर्को बैठक वैशाख २९ र ३० गते काठमाडौँमा बस्नेछ।


