काठमाडौँ- सोमबार हिन्दू धर्मावलम्बीले घरघरमा नागको पूजा गरी आज नापञ्चमी पर्व मनाइरहेका छ। नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास छ।
आगो, पानी र चट्याङबाट बच्नका लागि नागको पूजा गर्ने धार्मिक विश्वास गरिन्छ। नागका बाह्र नाम भए पनि आठ कुलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।
नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने गरिन्छ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिले नागको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ। नागपञ्चमीदेखि वैदिक सनातनी हिन्दू धर्मावलम्बीको चाडपर्व सुरु हुने प्रचलन छ।
काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्छ।
हेरौँ नागपोखरीका तस्बिर

















