काठमाडौं- दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टिमले भुटानसँग मंगलबार खेल्दैछ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपालले भुटानको सामना गर्न लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रने छ। यसअघि भुटानसँग नहारेको नेपालका खेलाडीमा कम्बिनेसन बन्न नसकेपछि चुनौती पनि उतिकै देखिएको छ।
विगत हेर्ने हो भने नेपालले अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा फराकिलो जित (६–०) निकालेको टिम हो भुटान। तर भुटान पुरानै अवस्थामा छैन। उसका फरवार्ड चेन्चो ग्याल्सेन उत्कृष्ट मानिन्छन्।
नेपाली खेलाडी रोजगारीका लागि विदेसिएपछि नेपाली फुटबल टिम धरासायी बन्न थालेको भनेर विश्लेषण गर्नेहरू पनि छन्।
यसअघि भुटानले लाओसविरुद्ध २–१ को हार व्यहोरेको थियो। नेपालले भने आफ्नो पहिलो खेलमा लाओसलाई २–० ले हराएको थियो।
नेपाली डिफेन्डरले पछिल्लो खेलमा धेर गल्ती गरे पनि गोल खानबाट बचेका थिए। खेलमा पहिलो गोल गर्दै म्यान अफ दि म्याच भएका अनन्त तामाङले आफ्नो टिममा कम्बिनेसन राम्रो नभएको प्रतिक्रिया दिएका थिए।
नेपाली टिम पछिल्लो खेलमा भन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ।
