काठमाडौँ- अध्ययनका लागि जापान पुगेकी एक नेपाली युवतीले आत्महत्या गरेकी छन्। दोलखाकी एक युवतीले नेपालमा रहेका आमाबाबालाई भिडियो कल गरेर लाइभमै झुण्डिएर सोमबार साँझ आत्महत्या गरेकी हुन्।
जापानको फुकुओकामा बस्दै आएकी २० वर्षीया रबिना बुढाथोकीले दोलखामा रहेका बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन्।
पारिवारिक असमझदारीका कारण उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यस विषयमा परिवारले विस्तृत रूपमा खुलाएको छैन।
आत्महत्याको प्रयास भइरहेको थाहा पाएपछि फुकुओका क्षेत्रमा नेपाली उनको कोठासम्म पुगेका थिए। यसपछि उनीहरूले जापानी प्रहरीलाई बोलाएका थिए। प्रहरीले तत्कालै अस्पताल पुर्याएको पनि थियो। तर उनलाई बचाउन नसकिएको एनआरएनए अभियन्ता सुपेन्द्र घिसिङले जानकारी दिए।
रबिनाले केही दिनअघि मात्र उनकै साथीलाई ५ दिनका लागि नेपाल जानुपर्ने बताएकी थिइन्। उनले जहाजको टिकट बुझिदिन पनि आग्रह गरेको पाइएको छ। हाल विदेशमा रहेका उनका भाइसमेत बिदामा नेपाल आएर फर्कनको लागि तयारी गरिरहेका थिए।
उनको कोठामा प्रहरीले खानतलासी पनि गरेको थियो। तर सुसाइड नोटलगायत वस्तु नभेटिएको बताइएको छ।


