काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी गरेको हो। खेलको ९०औं मिनेटमा दीपकसिंह ठकुरीले गोल गरेपछि नेपालले बराबरी गर्न सकेको हो।
दीपकको यो पहिलो अन्तराष्ट्रिय गोल हो। उनले लाओसविरुद्धको खेलमार्फत् राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
त्यसअघि नै भुटानका तेन्जिन नोर्बुले १९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
आजको खेलमा बराबरी गरेसँगै नेपाल फाइनलमा पुगेको छ। भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ।
जितको लक्ष्यसहित मैदान उत्रिएको नेपालले १७औँ मिनेटमा गोल खाएसँगै दबाबमा परेको थियो। नेपालले अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा फराकिलो जित (६–०) निकालेको टिम हो भुटान। तर भुटानलाई अवस्थामा परिवर्तन भइसकेको मंगलबारको खेलले देखधाएको छ। नेपाली खेलाडीमा तालमेल नमिल्दा कमजोर भनिने टोली भुटानविरुद्ध पहिलो गोल गर्न नेपालले अन्तिम मिनेट कुर्न परेको हो।
यसअघि नेपालले लाओसलाई २–० ले हराएको थियो। खेलमा पहिलो गोल गर्दै ‘म्यान अफ दि म्याच’ भएका अनन्त तामाङले आफ्नो टिममा कम्बिनेसन राम्रो नभएको प्रतिक्रिया दिएका थिए। नेपाली खेलाडी रोजगारीका लागि विदेसिएपछि नेपाली फुटबल टिम धरासायी बन्न थालेको विश्लेषण हुन थालेको छ।


