काठमाडौँ- इतिहासमा जहिल्यै जित निकालेको भुटानविरुद्ध मंगलबार दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो हाफको सुरुतिरै गोल व्यहोर्यो। ८९औं मिनेट चलिरहँदा पनि दशरथ रंगशलाको बोर्डमा भुटानकै पक्षमा नतिजा थियो, नेपाल शून्य गोलमा थियो। खेलको ९० मिनेट पुग्दा नेपालले कर्नर प्रहारको अवसर पायो। दबाबका कारण आफ्ना खेलाडीलाई डाढस दिन कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बूसमेत भुटानको पोस्टअघि पुगेका थिए।
नेपाली टोलीलाई मैदानमा ठूलो दबाब परिरहेको समयमा दीपकराज सिंहले हेडर गोल गरे। नतिजा बराबरीमा फर्कियो। आजभन्दा अघिका हरेक खेलमा जित निकालेको नेपालले भुटानसँग पहिलो पटक बराबरीमै सीमित हुनुपर्यो। यसअघि १२ पटक मैदानमा आमनेसामने भएका यी टोली नतिजामा नेपाल जहिल्यै अघि जान्थ्यो।
आजको खेलमा बराबरी गरेसँगै नेपालको जितको शृंखला तोडिएको छ। त्यसको लागि अफसाइड गोल पनि कारक रह्यो। इन्ज्युरी समयमा नेपाले अर्को गोल गरे पनि त्यो चाहिँ रेफ्रीले अफसाइड भएको जनाउ दिएका थिए।
खेलपछि भुटानका प्रशिक्षक पेमाले योजनाअनुसारकै प्रदर्शन भएको विश्लेषण गरेका छन्। उनले भने, ‘जुन योजना बनाएको थियो। वर्कआउट भयो। जुन कर्नर पायो, त्यसमा खेलाडीले होस गुमाए। कर्नर नभएको भए जित हाम्रो हुन्थ्यो। जितेको खेल अन्तिम मिनेटमा हार्नुपर्दा दुःख त लाग्छ नै।’
पहिलो हाफमा भुटानविरुद्ध गोल खाएर एक गोलले पछि परे पनि नेपालले अग्रपंतिमा एकाधबाहेक राम्रा मुभ बनाउन सकेन। फ्लांकमा आयुष घलान, स्ट्राइकमा नवयुग श्रेष्ठ र दायाँतर्फ अञ्जन विष्टले राम्रा प्रयास गरे पनि पहिलो हाफमा नेपाल ०–१ ले पछि रह्यो। यद्यपि आजको खेलमा शानदार प्रदर्शन गरेका आयुष घलान म्यान अफ दी म्याच बने।
‘खेलको पहिलो मिनेटबाटै कन्फिडेन्स छैन भन्ने सन्देश दियो। हामीले तीन चार अवसर गुमायौँ। हामीले अवसरलाई उपयोग गर्न सकेनौँ। हामीले अवसर गुमाएको हो,’ खेलको समीक्षा गर्दै नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेसले भनेका छन्, ‘अन्तिम समयमा हामीले कमब्याक गर्यौँ।’

टानी डिफेन्डर तेन्जिन नोर्बुले हेडरमार्फत् गोल गरेपछि खुसियाली मनाउँदै।
नतिजाका हिसाबले हेर्ने हो भने नेपालले भुटानविरुद्ध इतिहासकै खराब प्रदर्शन गरेको छ। भुटान आज पहिलो पटक नेपाललाई बराबरीमा रोक्न सफल भएको छ। कुनै समय ७–० को जित निकालेको नेपालले आज पनि जितको शृंखला कायम राख्ने विश्वास गरिएको थियो। तर खेलको पहिलो १७ मिनेटसम्म दुवै टिमले सुस्त प्रदर्शन गरे। भुटानले केही अवसर पाएर पनि गोल गर्न सकेको थिएन। तर मनिष श्रेष्ठबाट आउट भएको बलमा पाएको कर्नर प्रहारमा भुटानले गोल गरेको थियो।
खेलको १९औँ मिनेटमा भुटानी डिफेन्डर तेन्जिन नोर्बुले हेडरमार्फत् गोल गरेर पाहुना टिमलाई एक गोलको अग्रता दिलाए। नेपालविरुद्ध कहिल्यै जित निकाल्न नसकेको भुटानले अग्रता बनाएपछि भने पहिलो हाफभर शान्त खेल खेलेको थियो। नेपालले भने पहिलो हाफको अन्तिममा दबाब बनायो। तर गोलका सबै प्रयास खेर गए।
‘प्रदर्शनका दृष्टिबाट हेर्ने हो भने पहिले हामी खेल्दा पनि सँधै हार्छ भन्ने मानसिकता थियो। आज, इतिहासमा नै पहिलो पटक बराबरी भएको हो। नेपाली टिमको प्रदर्शन कमजोर बन्दै गएको जस्तो लाग्यो। तर अहिले पनि नेपाललाई जित्न सक्छ भनेर भन्न सकिन्न,’ खेलपछि भुटानका प्रशिक्षकले भनेका छन्।
दोस्रो हाफको पहिल्यै गोलकिपरसँग जुध्न पुगेका अञ्जन विष्टलाई स्ट्रेचरमा बाहिर ल्याइएको थियो। उनको ठाउँमा दीपकराज सिंह ठकुरी मैदान प्रवेश गरे। ठकुरीले यसअघिको खेलमा मात्र डेब्यू गरेका हुन्। अघिल्ला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा डेब्यु गराएका कमल थापा दोस्रो हाफमा मैदान पसेका थिए।
थापा मैदानमा पसेसँगै नेपालले दुई पटक अट्याकको राम्रो अवसर पाएको थियो। तर ती दुवै अवसर खेर गए। ६ हजार ६ सय समर्थक माझ हारका बाबजुद पनि थ्री नेसन्स कपको फाइनल यात्रा तय गरिरहँदा मनिष डाँगीले ७६औं मिनेटमा दायाँ साइडबाट दोस्रो बारतर्फ गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरियो।

खेलको ९ मिनेट बाँकी रहँदा भरत खवास र निशान खड्का मैदानमा प्रवेश गरेका थिए। उनीहरु मैदानमा चौथो र पाँचौ प्रतिस्थापन रहे। त्यो प्रतिस्थापनको अर्को मिनेटमा मनिषले हेडरमा गोल गर्न सकेनन्। निकै दबाबपूर्ण बनेको अन्तिम समयमा नेपालले बलियो अट्याकको प्रयास गरेको थियो। तर ९०औँ मिनेटमा पाएको कर्नरमा नेपाले गल्ती गरेन र खेललाई बराबरीमा फर्कायो।
खेलमा नेपालसँग बराबरी गर्नु नै भुटानको सबैभन्दा ठूलो सफलता रह्यो। तीन वर्ष अन्तर्राष्ट्रिय फुटबल नखेलेको टिम अब शीर ठाडो बनाएर स्वदेश फर्कने पेमा बताउँछन्। उनी भन्छन्, ‘हामी जाँदा नेपालसँग बराबरी गरेको खुसी लिएर जानेछौं। शीर ठाडो बनाएर जाने हो। हारेको भए निहुरिएर जानु पर्ने थियो।’
भुटानी प्रशिक्षक पेमाले लाओससँग खेलेका केही खेलाडीलाई रेस्ट दिएर आज नयाँ खेलाडी उतारेका थिए। यद्यपि ती खेलाडीले योजनामा काम गर्न सकेको भन्दै उनले खुसी व्यक्त गरे। खेल सकिएपछि उनले नेपाली टिमबारे पनि धारणा व्यक्त गरे, ‘हाम्रोमा नयाँ प्रशिक्षक आउँदैछ। त्यसपछि म प्रो लाइसेन्सको लागि जाने हो। तर यो खेल हेर्दा हामीले जित्न सकिने देखिन्छ तर त्यसरी भन्न मिल्दैन। अहिले नेपालमा पनि नयाँ प्रशिक्षक छ, नयाँ र युवा टिम छ। नेपाली खेलाडी अष्ट्रेलिया गएका छन्। मैले हेर्दा चाहिँ भुटानको टिम पनि पहिलेको भन्दा केही माथि भएको जस्तो लागेको छ। पोसेसनवाइज नेपाललाई दबाब दिएको छ।’
खेलपछि के भन्छन् नेपालका प्रशिक्षक भिन्सेन्जो?
हामीले फाइनलमा स्थान बनाएका छौं। आजको खेलमा केही गल्ती भए। अब अर्को खेलबारे सोच्नेछौं। त्यसमा राम्रो प्रदर्शन गर्नेछौँ। हामीले आजको बराबरी मात्र गणना गर्न मिल्दैन। अस्ति पहिलो पटक लाओसलाई हराएको हो नि! तर यहाँ खराब कुरा मात्र अघि आउँछन्। हामी अझै फाइनलमा लाओसँग खेल्नेछौं र जित्नेछौं।

आज फिनिसिङ राम्रो भएन भन्ने सन्दर्भमा चाहीँ दीपक २२ वर्ष, आयुष १९ वर्ष, मनिष २१ वर्षका हुन्। उनीहरु युवा छन्। अञ्जन पनि २४ वर्षका भए। उनीहरुले गल्ती गर्न सक्छन्। तर उनीहरुले राम्रो गर्दै जानेछन् भन्ने लागेको छ। अर्को खेलमा कमलले सुरुमा अवसर पाउने भन्ने कुरा चाहिँ भन्न सकिँदैन। अस्तिको तुलनामा आज धेरै इम्प्रुभ भएको छ।
कप्तान किरण भन्छन्- ओभरकन्फिडेन्स भयो र खेल्न सकेनौँ
पहिलो हाफमा ‘अफ’ भएको जस्तो देखियो। कम्युनिकेसन राम्रो देखिएको थिएन। दास्रो हाफमा इम्प्रुभ गरेको हो त्यसैले धेरै पोजेटिभ साइन पनि देखियो। आजभन्दा अघि १२ पटक त जितेकै हो। तर आज बराबरी भयो। फुटबलमा कहिलेकाहीँ यस्तो हुन्छ। ओभरकन्फिडेन्स भयो र खेल्न सकेनौँ। फुटबलमा कहिलेकाहीँ अनएक्सपेक्टेड हुन्छ नै। हामी फाइनलको लागि तयार छौं। प्रशिक्षकको ट्याक्टिस नबुझेको, राम्रा खेलाडी पलायन भएका र युवा खेलाडी अनि कम समय थियो भन्ने कुरा आफ्नो ठाउँमा छ।
आज हारेको भए जति नै राम्रो खेले पनि हार नै हुन्थ्यो। फुटबलमा झट्ट हेर्दा नतिजाले अर्थ राख्छ। साथसाथै कति खेलाडीले डेब्यु पनि केरियर सुरुआत गरिरहेका छन्। उनीहरुलाई सम्हालेर लाने हो। हामी युवालाई मोटिभेट गरेर अघि जानेछौं। यो खेलमा टिम कोल्याप्स भएको हो तर यही टिमलाई सम्हालेर लैजाने समय आएको छ।
