काठमाडौँ– जुम्ला सदरमुकाम खलंगाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन वैशाखमा हुने भएको छ। वैशाख ११ गते चौथो संस्करणको रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्ला अध्यक्ष सरोज शाहीले जानकारी दिएका छन्।
विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटन विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो।
‘विगतका तीन संस्करणको सफलतापछि आगामी वैशाख महिनाको ११ गते क्लबले प्रतियोगिता आयोजना गर्न लागेको छ,’ अध्यक्ष शाहीले भने।
बितेका वर्षका तयारीअनुसार अब गरिने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न चार ठाउँमा चेक पोइन्ट उपसमिति तथा दौड हुने मार्गका बजार तथा गाउँमा खेलाडीहरुको स्वागत तथा सत्कारको तयारीको काम भइरहेको उनले जानकारी दिए।
कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनबाट सुरु भई रारा तालको हुटु छेउमा अन्त्य हुने उक्त प्रतियोगिताको दूरी ४९ किलोमिटर छ। विगतका तीनवटा प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा स्वदेश तथा विदेशका खेलाडी सहभागी रहेकामा यस वर्ष झन्डै दुई हजार खेलाडीको सहभागिता हुने अनुमान गरिएको अध्यक्ष शाहीले बताए।
गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्यान्ड, भारत, इटाली, अमेरिकाबाट समेत खेलाडी सहभागी भएका थिए। आउँदो प्रतियोगिताका विभिन्न विधामा २८ धावकलाई नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने भएको छ।
म्याराथनमा विजेता महिला/पुरुषलाई जनही एक लाख, द्वितीय हुनेलाई ७५ हजार, तृत्तीय हुनेलाई ५० हजार, सान्त्वना हुनेलाई २० हजार र पाँचौँ स्थानमा आउनेलाई २० हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ।
विद्यार्थीहरुबीच ५ किलोमिटर दूरीको छोटो दौड प्रतियोगिता पनि हुनेछ। छोटो दौडमा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ।
कर्मचारी तथा व्यापारी र उद्योगीबीच पनि ५ किलोमिटर दूरीको र बालबालिकाको एक किलोमिटर दूरीको दौड प्रतियोगिता पनि हुनेछ। ती प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिताका लागि झन्डै रु २२ लाख खर्च लाग्ने अनुमान गरिएको कर्णाली खेलकुद क्लबले जनाएको छ।


