नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहाले पार्टी छाडेका छन्। उनी माओवादी छाडेर सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका छन्। बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले जनमत पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन्।
वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार बन्न उनले माओवादी छाडेका हुन्। मंसीर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि उनी सोही क्षेत्रमा माओवादीबाट उम्मेदवार बनेका थिए। तर, जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए। यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए।
यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको बारा–२ मा पुनः उम्मेदवार हुन उनी जनमत पार्टी प्रवेश गरेका हुन्। स्वतन्त्र भएर चुनाव लड्न खोजेपनि जनताले पार्टीले चुनाव लड्न आग्रह गरेको उनले बताए। बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवार बन्ने तयारी गरेका छन्। कुशवाहाले उपेन्द्रलाई आफूले पारजित गर्ने दाबी गरेका छन्।


