काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ। नेपालले शुक्रबार बहराइनलाई १० विकेटले हराएको हो।
पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई ५ रनले हराएको थियो। दोस्रो खेलमा बहराइनले दिएको ३१ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा बिनाविकेट पूरा गर्यो।
नेपालका लागि कवित कुँवरले १४ बलमा ३ चौकासहित अविजित १७ रन बनाइन्। यस्तै, सीता राना मगरले ३ बलमा अविजित २ रनको योगदान दिइन्।
त्यसअघि मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमै अलआउट भयो।
उसकाका लागि दीपिका रासंगिका (११) ले मात्र दोहोरो अंकमा रन जोड्न सकिन्। बहराइनका ५ ब्याटर शून्यमै आउट भए।
बहराइनलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि इन्दू वर्माले ४ ओभरमा दुई मेडनसहित ५ रन दिएर तीन विकेट लिइन्।
यस्तै, खुसी डंगोलले १।४ ओभरमा बिना रन २ विकेट हात पारिन्। कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ र दिएर १ विकेट लिइन्। पूजा महतो र रुबिना क्षेत्रीको नाममा पनि एकरएक विकेट रह्यो।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन्। यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन्।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन्।


