काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बाग्मती सभ्यताको जगेर्णा गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके मात्र लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ,’ उनले भने ‘हामी बागमती सभ्यता जोगाउन खोज्दैछौँ। यो मान्छे भन्दा अघिको सभ्यता हो। त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’
शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसपटकको सरकार केही समयलाई टिकाउन सुझाव दिएका छन्। स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने उनको भनाइ थियो। उनले सरकार केही समय टिकेमा आफूलाई पनि समन्वय गर्न सहज हुने बताएका छन्।
‘हाम्रो स्थानिय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि,’ बालेनले भने, ‘जस्तो अहिले सम्माननीय ज्यू याहिँ हुनुहुन्छ, मन्त्री ज्यू पनि हुनुहन्छ। उहाँहरुको सरकार टिकिदिँदैन र हामीलाई कहिलेकाँही गाह्रो हुन्छ। सरकार टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुन्छ। किनभन्दा धेरै कुराहरु जोडिँदो रहेछ। स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुन्छन्।’
त्यस्तै उनले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत हुने उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन अनुरोध गरेका छन्। उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताएका छन्।
‘साँच्चै सरकार सिंहदरबारमा मात्रै नभएर पालिका पालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै नभएर पालिका पालिकामा छ भन्ने कुरालाई आगामी दिनमा साँच्चै अवलम्बन गर्न सकियोस,’ कार्यक्रममा शाहले भने, ‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा हिँडेर आउन नपरोस्। आफ्नै पालिकामा न्याय पाइयोस्। यसका लागि तपाईंहरु पनि जिम्मेवार हुनुपर्छ।’


