राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनप्रतिनिधिले नै साहुकारको संरक्षण गरेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले साहुकारको संरक्षण गर्न सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासन नै लागेको बताएका हुन्।
मिटरब्याज पीडित सिरहादेखि १३ दिन हिँडेर काठमाडौं आएको भन्दै उनले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको नसुन्ने प्रवृत्ति देखिएको बताए ।
‘सांसदको आफन्त आवद्ध भएकाले हाम्रा साथीभाइले पनि साहुकार र पीडकको संरक्षण गर्छन्। राज्य कमजोरका लागि बनेको हो। सबलका लागि त राज्य चाहिएकै थिएन। तर हामी किन कमजोरको संरक्षण गर्नुका साथै साहुहरुको संरक्षण गर्छौं?,’ उनले भने। सांसद झाले सांसदहरु र राजनीतिक संयन्त्रमा भएका नेताहरुलाई साहुकारको संरक्षण नगर्न खबरदारी समेत गरेका छन्।


