काठमाडौँ- परराष्ट्र मन्त्रालयले नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ। चीनले हालै सार्वजनिक गरेको नक्साबारे नेपालको धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले यस्तो उल्लेख गरेको हो।
नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको नक्साका पक्षमा सरकार दृढ र स्पष्ट भएर उभिएको मन्त्रालयको भनाइ छ। ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ,’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।
सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको मन्त्रालयको भनाइ छ।
गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएर नयाँ नक्सा जारी गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।
चीनले जारी गरेको नयाँ नक्सामा भारतले आफ्नो भूभाग भनी दाबी गर्दै आएका अरुणाचल र अक्साई चीनलगायतका क्षेत्रलाई चीनमा नै समावेश गरिएको छ। भारतमा यसको विरोध भइरहेको छ।

पूर्वसुरक्षाकर्मी परिषद् भन्छ- चीनले तत्काल नक्सा सच्याउनु पर्छ
