नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पिडितमाथि राज्यले छलकपट गरेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिक कुनै जाली छट्टुले तानाबाना गरेको छलकपटक गरेको चक्रमा परिरहेको बताएका हुन्।
‘नागरिक सधैं दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौं धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौं आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक पटक धाइरहनुपर्ने। कुनै जाली छट्टुले तानाबाना गरेको छलकपटक गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने ?,’ उनले भने।
पौडेलले सरकारले बनाएको कार्यदलले दिएको सुझाव कार्यान्वयन नभएको बताए। कार्यदलले मिटरब्याजलाई गम्भीर आर्थिक अपराधकारुपमा स्विकारेपनि कानुन भने बन्न नसकेको बताए।
‘यसअघि जनतासँग ५ बुँदे सहमति भएको थियो, अहिले कानुनको मस्यौदा गृहमा अड्किएको छ भन्ने सुन्नमा आएको छ। कानुनको मस्यौदा महिनौं थन्किदा साहु महाजनले छलकपट गरेर किसानको जग्गा लिलाम गरिरहेका छन्,’ उनले भने, ‘सरकारले आफैं सुकुम्बासी उत्पादन गरिरहेको जस्तो देखिएको छ।’


