काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एसिया कप क्रिकेट हेर्न श्रीलंका जाने भएका छन्। नेपाली खेलाडीको हौसला बढाउनका लागि उनीहरू श्रीलंका जान लागेका हुन्।
बालेन हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् भने लामिछाने श्रीलंकाका लागि प्रस्थान गरिसकेको उनको सचिवालयले जानकारी दिएको छ।
लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल पनि श्रीलंका लागेकी छन्। उनीहरूलाई पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले साथ दिएका छन्।
स्थानीय समयअनुसार सोमबार दिउँसो सवा ३ बजे नेपाल र भारतका टोलीबीच खेल हुँदैछ। खेल श्रीलंकाको कान्डीस्थित पेलेकेले मैदानमा हुनेछ।
एसिया कपअन्तर्गतकै बुधबारको खेलमा नेपालले पाकिस्तानसँग खेलेको थियो। उक्त खेलमा नेपाल नेपाल पराजित भएको थियो। भारत र पाकिस्तानबीच भएको हिजोको खेलमा वर्षाका कारण अवरुद्ध भएपछि दुवै समूहले अंक बाँढेका थिए।
नेपालले पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको हो।
