काठमाडौँ- नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ। भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा कांग्रेसले ‘बीपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको हो।
साउन १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले भदौ २४ देखि बीपी साहित्य महोत्सव कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो।
समितिमा पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला सङ्ग्रौला पन्त, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सतार, नैनसिंह महर, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, प्रा.डा. गोविन्दराज पोखरेल, हरिशरण नेपाली छन्।
केन्द्रीय सदस्य नानु बाँस्तोला, नृपबहादुर बड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा र ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठ रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
तीर्थबहादुर श्रेष्ठ, श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, शैलेन्द्रप्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बू, परशुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल पनि समितिको सदस्यमा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
तीन दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन बिपीको साहित्य सिर्जना र जीवनदर्शनमाथि प्रा अभि सुवेदी सुवेदीले प्रवचन दिनेछन्। यस्तै दोस्रो दिनमा कार्ल मार्क्स र गान्धी र बीपीको प्रजातान्त्रिक समाजवादी मान्यताका विषयमा प्रा आनन्द कुमारको प्रवचन सुन्न पाइनेछ। तेस्रो दिन बिपीको समाजवाद र शिक्षाका विषयमा केदारभक्त माथेमाले प्रवचन गर्नेछन्।
महोत्सवमा प्रवचनका कार्यक्रमपछि पत्येक दिन विभिन्न सत्रहरू रहेछन्। १२ सत्रमा बीपीका विविध पक्षमा चिन्तन हुने कांग्रेसले बताएको छ।
(१) बिपीका दृष्टिमा बिपी (२) बिपीका आख्यानमा मनोविश्लेषण (३) साहित्यमा पर्यावरण (४) नेपालको मातृभाषा साहित्य ( ५ ) बिपीले नपाएका १५ वर्ष (६) बिपीका आख्यानमा मधेश (७) अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी (८) युवा स्रष्टामा बिपी पठन ( ९ ) समावेशिता, सामाजिक रूपान्तरण र बिपी (१०) समय र सबार्टन (११) बिपीका आख्यानमा नारी (१२) परिवारले बुझेका बिपी
पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन साङ्गीतिक साँझ हुनेछन्।
यस्तै मूर्धन्य व्यक्तित्वहरुबाट प्रत्यक्ष कोरिएका चित्रहरुको प्रदर्शनी र तीन वटा वृत्तचित्र पनि प्रदर्शनी हुनेछन्। हाइज्याकिङ फर डेमोक्रेसी, वीर गणेशमान र तीन घुम्ती वृत्तचित्र प्रदर्शन गरिने कांग्रेसले बताएको छ।
महोत्सवका कार्यक्रम बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। कांग्रेसले पहिलो पटक बीपी साहित्य महोत्सव कार्यक्रम आयोजना गर्न लागेको हो।



