नयाँ दिल्ली- भारतमा भएको जी-२० शिखर सम्मेलन युक्रेनमा भइरहेको युद्धप्रति दुख व्यक्त गरेपनि रुसको भूमिकाप्रति भने कुनै टिप्पणी नगरी सकिने भएको छ। दुई दिने सम्मेलनको घोषणापत्रमा सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
जी-२० सम्मेलनको घोषणापत्रमा युक्रेनमाथि बल प्रयोगको निन्दा गरे पनि रूसको भूमिका उल्लेख नगरिने भएको छ। युक्रेन सरकारले जी-२० सम्मेलनमा ‘गर्व गर्न लायक कुनै कुरा नभएको’ प्रतिक्रिया दिएको छ।
रुसको भूमिकाप्रति मुख नखोली सकिन लागेको सम्मेलनका विषयमा कतिपय देशका नेताहरूले टिप्पणी गरकेा छन्। रुसको भूमिकाका विषयमा कुनै टिप्पणी नभएको भन्दै जी-२० सम्मेलनको आलोचना भएको हो।
दिल्ली घोषणापत्रमा भनिएको छ, ‘यूक्रेनमा भएको युद्धको सम्बन्धमा बालीमा भएको चर्चा दोहोर्याउँदै हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद र संयुक्त राष्ट्र महासभा प्रस्तावहरूमा आफ्नो राष्ट्रिय अडान दोहोर्याएको छ। साथै यस विषयमा सबै देशले संयुक्त राष्ट्र चार्टरको उद्देश्य र सिद्धान्त अनुरूप काम गर्नु पर्ने कुरामा जोड दिइयो।’
परमाणु हतियारको उपयोग वा उपयोगको धम्की अस्वीकार्य रहेको पनि घोषणापत्रमा उल्लेख गरिएको छ। तर युद्धबारे घोषणापत्रमा उल्लेख गरिएको विषयलाई लिएर युक्रेनले असन्तुष्टि जनाएको हो।


