काठमाडौँ- अर्थशास्त्री डा स्वर्णिम वाग्लेले कांग्रेस छाडेका छन्। औपचारिक रूपमा कांग्रेस छाडेको घोषणा नगरेपनि पार्टीका चार जना नेतालाई पत्र लेखेर डा वाग्लेले कांग्रेस छाड्ने निर्णयमा पुगेको बताएका छन्।
डा शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै डा गोविन्द पोखरेललाई पत्र लेख्दै डा वाग्लेले कांग्रेसमा रहन सक्ने स्थिति नरहेकाले पार्टी छाड्नुपरेको बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवा दम्पतीको गिरोहको हेपाइ र अपमानले पार्टी छाड्न पर्ने अवस्था आएको पत्रमा उल्लेख गरेका छन्।
‘हजुरहरुको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ,’ उनले नेताहरूलाई पठाएको पत्रमा लेखेका छन्, ‘यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ।’ उनले पत्र लेखेका नेताहरु पार्टीको हैसियत बनेका दिन कांग्रेसमै जोडिने इच्छा समेत जाहेर गरेका छन्।’
कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने समेत उनले उल्लेख गरेका छन्। ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ पत्रमा उल्लेख छ।
वाग्ले तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्ने चर्चा छ। उपनिर्वाचन लड्ने चर्चा बाहिरिएपछि कांग्रेस नेताहरुले उनलाई तारान्तार फोन सम्पर्क गर्ने प्रयास गरेका थिए। तर, उनी सम्पर्कमा आएका छैनन्।
‘हामीले निरन्तर सम्पर्क गर्न खोज्यौं। फोन अफ छ। त्यसपछि उनले ह्वाट्सएपमा यस्तो लेखे,’ डा पोखरेलले नेपाल क्लिक्ससँग भने, ‘उनलाई रोक्ने प्रयास त भइरहेको छ। तर, सम्पर्कमै आएका छैनन्।’
वाग्ले २०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए। त्यसपछि भने उनको देउवासँग सम्बन्ध चिसिँदै गएको थियो। उनी २०७९ सालमा चितवनबाट चुनाव लड्न चाहन्थे। तर पार्टीले टिकट दिएन। वैशाख १० गते हुने उपनिर्वाचनमा पनि उनले उम्मेदवार बन्ने इच्छा देखाएका थिए। तर, टिकट नपाउने नबुझेपछि उनले कांग्रेस छोडेका हुन्।
यस्तो छ डा वाग्लेले नेताहरूलाई पठाएको पत्र



