काठमाडौं– संविधानसभाध्यक्ष एवं एमाले उपाध्यक्ष स्व. सुवास नेम्बाङको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असामयिक निधनको खबरले मर्माहत भएको बताएका छन्। प्रचण्डले सामाजिक सञ्जालमार्फत दिवंगत नेम्बाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्बाङको असामयिक निधनको खबरले मर्माहत भएको छु। दिवंगत कमरेड नेम्बाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’ नेम्बाङको गए राती हृदयघातका कारण निधन भएको हो।
यसैगरी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवाले स्व. नेम्बाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
यस्तै, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गए राती निधन भएका स्व. सुवास नेम्बाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। संविधानसभा अध्यक्ष नेम्बाङको पार्थीव शरीर केही बेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले जानकारी दिए।
नेम्बाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ। एमाले उपाध्यक्ष नेम्बाङको गए राती आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो। उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुगेका छन्।


