काठमाडौं- नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सदस्यता लिएका छन्। बिहीबार सदस्यता दिएको रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ मा पार्टीको तर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ।
कांग्रेस परित्याग गर्ने तयारी गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वाग्लेलाई रोक्ने प्रयास गरेका थिए। वाग्लेलाई महामन्त्रीद्वयले सानेपा बोलाएपनि जान अस्वीकार गरेका थिए।
वाग्ले पछिल्लो समयमा काठमाडौँस्थित थिङ्क ट्याङ्क इन्स्टिच्युट फर इन्टिग्रेटेड डिभलपमेन्ट स्टडिज (आईआईडीएस)का अध्यक्षसमेत हुन। सन् २०१४ देखि सन् २०१८ को बीचमा उनले राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष बनेका थिए।
राष्ट्रिय योजना आयोगपछि उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोको मुख्य आर्थिक सल्लाहकार भएर काम गरे। विश्व बैंक र संयुक्त राष्ट्रसंघमा २० वर्षभन्दा बढी काम गरेका अनुभव उनीसँग छ।
बूढानीलकण्ठ स्कुलमा अध्ययन गरेका उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक र हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। वाग्लले अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी)गरेका छन्।
गत निर्वाचनमै कांग्रेसबाट उनले गोरखा वा चितवनबाट चुनाव लड्ने इच्छा गरेका थिए। तर, कांग्रेसले टिकट दिएको थिएन। वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा उनले तनहुँ -१ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। उनको सट्टामा तनहुँ १ बाट गोविन्द भट्टराईले टिकट पाएपछि वाग्ले असुन्तुष्ट बनेको बताइन्छ।
सभापति शेरबहादुर देउवा र आरजु राणाले टिकट नदिएको वाग्लेको बुझाइ छ। कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्दराज पोखरललाई पत्र पठाउँदै ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानका कारण आफूले पार्टीबाट अलग हुनुपरेको उल्लेख गरेका थिए।


