बाग्लुङ- बाग्लुङमा ११ वर्षपछि चारपांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ। सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले रिवान काटेर परीक्षाको सुरुआत गरे। उनले यो अभियान अब नरोकिने गरी सुरु भएको समेत बताए।
यसअघि बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङका परीक्षार्थीले लाइसेन्सका लागि पोखरा वा अन्यत्र जानुपर्थ्यो। मापदण्ड पुगेको पूर्वाधार अभाव भएपछि यातायात व्यवस्था कार्यालयले भाडामा लिन बोलपत्र आब्हान गरेको थियो।
पहिलोपटकको बोलपत्रमा पूर्वाधार पुगेका निजी क्षेत्र समेत नभेटिएपछि फेरी दोस्रोपटक आब्हान गर्दा यहाँको धौलागिरि ड्राइभिङ सेन्टर प्रालिको मापदण्ड पुगेको भेटिएको हो। उक्त संस्थासँग सम्झौता गरेर यातायात व्यवस्था कार्यालय बाग्लुङले ट्रायल परीक्षा सुरु गरेको हो।
बुधबारको परीक्षामा १ सय १० जनाले बी समूहको ट्रायल परीक्षा दिएको कार्यालयका प्रमुख पारसिह थापाले नेपाल क्लिक्सलाइ बताए। ‘अब नियमित रुपमा ट्रायल हुनेछ,’ थापाले भने, ‘पोखरा वा वीरगन्ज जानु पर्ने बाध्यता हट्छ,’ उनले भने।
चारपांग्रे भित्रका बी, सी, ई, एफ र जी समूहको परीक्षा बाग्लुङमै हुनेछ। यसअघि मोटरसाइटल र स्कुटरको प्रयोगात्मक परीक्षा मात्र यहाँ भइरहेको थियो। ‘लामो समयदेखि लाइसेन्सकालागि परीक्षा दिन नपाएर बसेको थिएँ। अब यहीँ दिन पाइने भइयो,’ स्थानीय इश्वर गैतमले भने, ‘हामीलाई धेरै राहत मिलेको छ।’ परीक्षा नियमित रुपमा चल्ने निश्चित भयो भने भीड पनि नहुने, सहजै काम पनि गर्न सकिने गौतमले बताए।
बाग्लुङ नगरपालिका १ को गणेशस्थानमा रहेको ड्राइभिङ सेन्टरलाई स्थायी रुपमा परीक्षा सञ्चालन गर्ने गरी सीसी क्यामेरा, सुरक्षा व्यवस्था र कर्मचारीको समेत व्यवस्थापन गरिसकिएको कार्यालयका अधिकृत श्यामकुमार थापाले नेपाल क्लिक्सलाइ बताए। त्यसका लागि मन्त्रालयले पनि सहमति गरेको छ।


