केरला– भारतको दक्षिणी राज्य केरलामा निपा भाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ। निपा भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि राज्यका केही स्थानमा विद्यालय बन्द भएका छन् भने कार्यालय र सार्वजनिक यातायातसमेत बन्द गरिएको छ।
संक्रमण पुष्टि भएका दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। यीमध्ये एक जना वयस्क हुन् भने एक शिशु भएको बताइएको छ।
निपाको आशंकामा ७ सय भन्दा मानिसको परीक्षण गरिएको छ। तर उनीहरूको रिपोर्ट प्राप्त हुन बाँकी रहेको भन्दै रोयटर्सले समाचार लेखेको छ। संक्रमित व्यक्ति, चमेरा र सुँगुरका कारण यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ।
केरला सरकारले बुधबार साँझसम्ममा ७०६ जनाको परीक्षण गरिएको जानकारी दिएको छ। यीमध्ये १३५ जना स्वास्थ्यकर्मी हुन्।
‘अझै मानिसलाई परीक्षण गर्न सकिन्छ। परीक्षितलाई आइसोलेसनमा राखिन्छ,’केरलाका मुख्यमन्त्री पिनारायी विजयनले भनेका छन्। उनले कोजिकोदे जिल्लामा आगामी १० दिनसम्म मानिसहरूको भिडभाड हुने स्थानमा नजान पनि आग्रह गरेका छन्।
‘संक्रमित व्यक्तिको हामीले कन्ट्याक्ट ट्रेसिङमा जोड दिएका छौँ। यसका साथै जहाँ भएपनि आइसोलेसनमा राख्ने प्रयत्न गरेका छौँ,’ केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले भनिन्। केरलाको छिमेकी राज्य तमिल नाडुले केरलाबाट आउने व्यक्तिहरूको परीक्षण गर्न र फ्लुका लक्षण देखिए आइसोलेनसमा राख्ने घोषणा गरिसकेको छ।


