काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए। घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचान भएको उनले बताए। दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको हत्या भएको खुलेको छ।
मैनालीका अनुसार काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नवीन राईको हत्या भएको हो।
प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। मैनालीले तालिमप्राप्त कुकुरसमेत लगेर अनुसन्धान कार्य शुरु गरिएको जानकारी दिए।


