काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एसलगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यद्यपि सरकारले पूर्णता पाउन भने बाँकी छ।
कांग्रेसको सिफारिसमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्। रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति बन्दा सीता गुरुङ सहरी विकासमन्त्री भएकी छन्।
जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन्।
यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन्।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन् ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्रालयबाट गृहमा सरुवा भएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन्।
नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्। यद्यपि सरकारले पूर्णता पाउन भने बाँकी छ।
उता जनमत पार्टीबाट खानेपानीमन्त्री रहेका अब्दुल खानले भने राजीनामा दिएका छन्। प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्।
बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएका छन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेपनि आफूहरूलाई बेवास्ता गरिएको भन्दै मन्त्री खानले राजीनामा दिएका हुन्।


