काठमाडौँ- नेपाल अर्बुद रोग निवारण संस्था ४२औँ वर्षमा प्रवेश गरेको छ। काठमाडौँमा कार्यक्रम आयोजना गरी संस्थाले क्यान्सरविरुद्धको अभियानमा योगदान पुर्याएका दर्जनौँ संघसंस्थाहरुलाई पुरस्कृत गरी ४१औँ वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सांसद तेजुलाल चौधरीले सुर्तीजन्य पदार्थमा लगाइने कर वृद्धि नगरिएको प्रति असन्तुष्टि प्रकट गर्दै सरकार क्यान्सर रोग निवारणमा गम्भीर नभएको बताए। चौधरीले सरकार नै सक्रिय नभएसम्म क्यान्सर रोग रोकथाम र उपचारमा गैरसरकारी संस्थाहरुको प्रयास पर्याप्त हुन नसक्ने बताए। संस्थाका कामको उनले प्रशंसा गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगका कारण विकसित राष्ट्रहरुको तुलनामा विकासोन्मुख र अविकसित राष्ट्र्रहरुमा मृत्युदर विकराल रहेको भन्दै चिन्ता व्यक्त गरे। भक्तपुर क्यान्सर अस्पताको स्थापना र सफल सञ्चालन गरिसकेको प्रसंग उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निकट भविष्यमा अन्तराष्ट्रिय स्तरको क्यान्सर डायग्नोस्टिक सेन्टर स्थापना गर्न लागेको जानकारी दिए।
अध्यक्ष श्रेष्ठले यो संस्थाले देशमा विकराल रुपमा विस्तार भईरहेको क्यान्सर रोगको रोकथामकालागि सचेतनामूलक कार्यक्रमहरुका साथै क्यान्सर रोगीहरुको उपचारात्मक कार्यकालागि सहयोग पुर्याईरहेको बताए। राष्ट्रियस्तरको गैरनाफामूलक सामाजिक संस्थाका रुपमा स्थापित संस्थाले सातै प्रदेश सरकार र स्थानीय स्वास्थ्य सेवा प्रदायक र पालिकाहरुको समन्वयमा जनचेतना जागरण र क्यान्सर रोगीको उपचार दुवैमा सहयोग पुर्याउँदै आएको जानकारी दिए।
संस्थाका महासचिव दीपेन्द्र वान्तवाले क्यान्सरसम्बन्धी काम गर्ने जेठो संस्था भएकाले अबका दिनमा क्यान्सर विरुद्धका अभियानमा लागेका सबै संघसंस्थाहरुसग सहकार्य गरी अघि बढ्ने बताए। महासचिव वान्तवाले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै क्यान्सर जस्तो प्राणघातक रोग विरुद्ध लड्न सबै एकजुट हुनपर्ने बताए।
कार्यक्रममा क्यान्सर सर्भाइबर गायिका देविका वन्दना, नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष नवराज खतिवडा, भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष प्रकाशराज न्यौपाने लगायतले क्यान्सर रोग नियन्त्रण र उपचारका लागि लिनुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए।
संस्थाको वार्षिकोत्सवको अवसरमा एक दिन अघि मात्रै क्यान्सर रोग विरुद्ध सचेतना र क्यान्सर डायग्नोष्टिक सेण्टर स्थापनार्थ कोष संकलनका लागि बृहत पदयात्राको आयोजना गरिएको थियो। कार्यक्रममा सेरो ल्याव, यतिकेम, प्रसिडेण्ट टुर्स एण्ड ट्राभल, शुभगुरु सुनचादी पसल, इभेण्ट सोलुसन लगायतका विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान र पुरस्कृत गरिएको थियो.


