२०८३ कार्तिक ११ गते मङ्गलबार

देउवाले आफ्नै दलका नेतालाई यसरी घुमाउँछन् फनफनी

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, असोज २
deuba_deuba

काठमाडौं- केही दिनयता कांग्रेसमा पूर्वमहामन्त्री डा शशांक कोइरालाले १५औँ महाधिवेशनका विषयमा दिएको अभिव्यक्ति चर्चामा छ। १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा कोइरालाले गरेका छन्। १४औँ महाधिवेशन भएको दुई वर्ष नबित्दै कोइरालाले १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। आफू सभापतिको उम्मेदवार बन्ने भएपछि देशदौडाहा निस्कने योजना पनि उनले सुनाए।

महामन्त्री भइसकेको व्यक्ति सभापतिको उम्मेदवार बन्नु खास आश्चर्यको कुरा होइन। तर उनको अभिव्यक्तिमाथि यति धेरै चर्चा किन भयो त? कारण हो- वर्तमान सभापति शेरबहादुर देउवासमेतको सहयोग। देउवा पक्षको सहयोगमा आफू सभापति बन्ने उनको योजनाले कांग्रेस नेताहरूमा तरंग नै पैदा गरेको छ।

देउवाको आड र भरोसा बिना कोइरालाले यस्तो अभिव्यक्ति दिएका होइनन्। निकट स्रोतका अनुसार देउवाले कोइरालालाई १५औँ महाधिवेशनमा सघाउने संकेत गरेका छन्। देउवाले उनलाई भनेका छन्, ‘मैले छाड्नुपर्दा पार्टीको नेतृत्व बीपीकै छोरालाई दिन्छु नि यार!’

देउवाको यो वचनपछि कोइराला हौसिएका हुन्। सोही कारण उनले आफ्न हरेक वक्तव्यमा आफू सभापतिका लागि उम्मेदवार बन्ने विषय छुटाउँदैनन्। भदौ पहिलो सातादेखि नै यसबारे मुख खोलेका कोइरालाले भदौ २१ गते भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग देउवाको समेत सहयोगमा आफू सभापतिमा लड्न सक्ने बताएका थिए। उनले भनेका थिए, ‘शेरबहादुर देउवाको समर्थनमा १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ। किन छैन र? नहुने भन्ने के छ र?’

अझ उनले कांग्रेसभित्र एकता कायम गर्न सक्ने अचुक उपाय आफूसँग रहेको दाबीसमेत गरिहिँड्न थालेका छन्। भदौ २४ गते रामेछाप पुगेर उनले कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग रहेको बताए।

निकट स्रोतका अनुसार देउवाले शशांकलाई वचन मात्रै दिएका छैनन्। ग्राउन्ड बनाइदिने प्रयत्नसमेत थालेका छन्। गत साउन पहिलो साता केन्द्रीय समिति बैठक चलिरहेकै बेला शशांकले चिपायान कार्यक्रमको आयोजना गरेका थिए। साउन ९ गते लैनचौरमा भएको चियापान देउवाकै योजना अनुरुप भएको स्रोतको दाबी छ।

‘डा. साबले आयोजना गर्नुभएको चियापान देउवाजीकै योजना अनुरुप भएको हो। त्यो चियापानको खर्च समेत देउवाले नै व्यहोर्नुभएको हो। बाहिर हेर्दा सांसद दीपक खड्काले खर्च व्यहोरे जस्तो देखिन्छ। तर बाहिर देखिएको भन्दा भित्री कुरा फरक छ,’ जानकार स्रोतले भन्यो।

देउवा-शशांकबीचको साँठगाँठ
शशांक तिनै नेता हुन्, जो १३औँ महाधिवेशनमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका थिए। तर उनीमाथि आरोप थियो- पौडेलको प्यानलबाट महामन्त्री लडेपनि शशांकको सहयोग देउवालाई रह्यो।

महामन्त्री निर्वाचित भइसकेपछि उनका गतिविधिले पनि त्यो आशंकालाई बल पुर्‍यायो। सभापति देउवाको कार्यशैलीलाई लिएर पार्टीभित्र व्यापक आलोचना भइरहँदा कोइरालाले भने न देउवाको विरोध गरे, न आलोचना नै गरे। बरु उनी पुरै कार्यकाल निष्क्रिय बसिदिए। कोइराला निष्क्रिय रहँदा मनोनित महामन्त्री पूर्णबहादुर खड्का पार्टी राजनीतिमा हावी हुन पाए। यसले खड्काका लागि राजनीतिक दायरा फराकिलो बनाइदियो। अहिले उनै खड्का उपसभापति छन्। सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालपछिको दोस्रो वरियतामा छन्। प्रधानमन्त्री दाहाल देशबाहिर रहेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

१४औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला देउवाका सहयोगी हुन् भन्ने तथ्य पुष्टि भयो। १४औँ महाधिवेशनमा कोइराला सभापति लड्न चाहन्थे। तर तत्कालीन संस्थापन इतर समूहबाट उनीबाहेक नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र उनका दाजु शेखर कोइराला पनि दाबेदार थिए। अन्तिम अवस्थामा आइपुग्दा सहमति जुट्न सकेन। सोही कारण पौडेलले आफू निष्क्रिय बस्ने घोषणा गरे। उनले मतदानमा समेत भाग लिएनन्।

सिंह छुट्टै प्यानल बनाएर सभापति लड्दा संस्थापन इतर समूहको ठूलो हिस्साको प्रतिनिधित्व गर्दै शेखर सभापतिको उम्मेदवार बने। शशांकले भने लड्ने आँट गरेनन्। उनले दाजु शेखरलाई सघाउने अपेक्षा गरिएको थियो। तर शेखरले शशांकबाट सहयोग पाएनन्।

२०७८ कात्तिक ३० गते कोइराला दाजुभाइबीच सभापतिको उम्मेदवारीबारे छलफल भएको थियो। त्यो छलफलमा शशांकले शेखरलाई सघाउने वचनसमेत दिएका थिए। दाजुभाइबीच मंसिर १ गते पत्रकार सम्मेलन गर्ने सहमतिसमेत बनेको थियो। तर, मंसिर १ गते शेखरसँगको सहमति भंग गर्दै हेलिकोप्टर चढेर शशांक संखुवासभा पुगेका थिए।

सभापति तथा तत्कालीन प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएका कारण ‘पत्रकार सम्मेलन स्थगित गरौं’ भन्दै उनी एकाएक संखुवासभामा अवतरित भएका थिए। यो घटना महाधिवेशन अघिको हो।

शशांकको व्यवहार महाधिवेशनमा पनि उस्तै देखियो। उनले महाधिवेशनताका दर्जनौँ पटक बालुवाटारमा देउवासँग भेटघाट गरे। अनि दाजु शेखर सभापतिको उम्मेदवार बन्दा सहयोग गरेनन्, देउवालाई नै सहयोग पुर्‍याए।

अघिल्लो महाधिवेशनमा पुर्‍याएको सहयोगको गुन देउवाले यसपटक तिर्नेमा कोइराला विश्वस्त सुनिन्छन्। उनी देउवाको सहयोगमा कांग्रेसको नेतृत्वमा पुग्न चाहन्छन्।

देउवाको रणनीति
सभापतिमा शशांकलाई अघि सारेर पत्नी आरजुलाई राजनीतिमा स्थापित गर्ने योजनामा देउवा देखिन्छन्। संस्थापन इतर समूहको आशंका छ- सभापतिमा शशांकलाई अघि सारेर पत्नी आरजु राणालाई उपसभापति वा महामन्त्री बनाउने रणनीतिमा देउवा छन्। १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी आरजुलाई स्थापित गर्न देउवाले एकपछि अर्को रणनीतिक कदम चाल्दै आएका छन्। उनले आरजुलाई समानुपातिक तर्फबाट सांसद बनाएका छन्। यद्यपि आरजु सांसद बनेको यो पहिलो पटक भने होइन। यसअघि दुवै संविधानसभामा उनी समानुपातिक सभासद् थिइन्। अहिले समानुपातिक सांसद्सँगै आरजु कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति समेत बनाइएकी छन्।

डा आरजु राणा देउवा।

त्यसो त देउवाले सार्वजनिक रूपमै पार्टीमा आफ्नो उत्तराधिकारी परिवारभित्रबाट नहुने बताइसकेका छन्। तर, आरजुको राजनीतिलाई स्थापित गर्न उनले कुनै कसर भने बाँकी राखेका छैनन्। कांग्रेसको १३औँ महाधिवेशन मुखैमा आइसकेको थियो। देउवा तेस्रो प्रयासमा सभापति बनेर सानेपा प्रवेश गर्ने तयारीमा थिए।

२०५७ सालमा भएको १०औँ महाधिवेशनबाट सभापति बन्ने देउवाको प्रयास १२औँ महाधिवेशनसम्म सफल हुन सकिरहेको थिएन। १०औँ र ११औँ महाधिवेशनमा उनी गिरिजाप्रसाद कोइरालासँग पराजित हुन पुगेका थिए भने १२औँ महाधिवेशनमा सुशील कोइरालासँग। यस्तो अवस्थामा १३औँ महाधिवेशन देउवाका लागि प्रतिष्ठाको लडाइँ बनेको थियो। वंशवादको विरोध गर्दै पार्टी नै फुटाएका देउवासामु उत्तराधिकारीको प्रश्न पनि जोडिएको थियो।

महाधिवेशनको रापताप बढिरहेका बेला २०७२ फागुन १७ देउवाले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा अन्तर्वार्ता दिएका थिए। तर उनले परिवारवादका विषयमा गरिएको प्रश्नको उत्तर भने दिन चाहेनन्। बरु आफ्नो उत्तराधिकारी परिवारबाट नहुने बताएका थिए। उनले भनेका थिए, ‘मेरो छोरा भर्खर २० वर्षको भयो। उसलाई मैले कसरी उत्तराधिकारी बनाउनु? म त्यसमा विश्वास गर्दिनँ। मैले आफ्नो उत्तराधिकारी बनाउन जरुरी छैन। मैले हुँदैन भनिसकेँ त! मेरो परिवारभित्रबाट कोही पनि उत्तराधिकारी हुँदैन। यो मेरो वचन हो।’

देउवाले पत्नी आरजु कुनै पनि हालतमा उत्तराधिकारी नहुने दाबी गरेका थिए। संविधानसभा सदस्य भएपनि राजनीतिप्रति आरजुको चासो नरहेको उनको भनाइ थियो। ‘मेरो धर्मपत्नी पनि उत्तराधिकारी हुँदिनन्। उनी जेन्डरका कारणले आएकी (संविधानसभामा) हुन्। त्यो पनि उनी आउनै चाहँदिनन्,’ देउवाले भनेका थिए, ‘धर्मपत्नी होस् वा छोरा परिवारबाट उत्तराधिकारी हुँदैन। मेरा सन्तान र परिवारबाट उत्तराधिकारी हुँदैन भनिसकेपछि त भइहाल्यो नि!’

देउवाले त्यसबेला राजनीतिप्रति आरजुको चासो नरहेको बताएका थिए। तर, देउवा पार्टीको सभापति बने लगत्तै राजनीतिमा आरजुको चासोबारे पार्टी राजनीति र सत्ता राजनीतिलाई हेरे पुग्छ। देउवाले १५औँ महाधिवेशनमै आरजुलाई आफ्नो उत्तराधिकारी बनाउन सम्भव छैन। सोही कारण शशांकलाई एक कार्यकाल सभापति बनाएर त्यसपछि आरजुलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्न सकिने देउवाको बुझाइ छ।

झस्किए शेखर
१४औँ महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी शेखरको नारा थियो- एक पटक, यसैपटक। तर, उनी सभापतिमा निर्वाचित हुन सकेनन्। सभापति निर्वाचित हुन नसकेपछि त्यो नारा काम नलागेको निष्कर्षमा पुगेका शेखर फेरि एकपटक सभापतिको उम्मेदवार हुने योजनामा छन्। शेखरको तयारी ‘ओपन सेक्रेट’ छ।

यस्तोमा शशांकले लगातार दिइरहेका अभिव्यक्तिले उनी झस्किएका छन्। उनले शशांकको नाम नलिइकन उनका अभिव्यक्तिमाथि अचम्म लागेको बताएका छन्। भदौ २२ गते पत्रकारसँगको अनौपचारिक छलफलमा उनले शशांकको हतारो देखेर आफूलाई अचम्म लागेको बताएका थिए।

‘महाधिवेशन आउन अझै धेरै समय छ। समय छँदै मानिसहरू सभापतिका लागि दौडिएका छन्। यो देखेर मलाई अचम्म लागेको छ। यसपटक छिटै महाधिवेशन लागेजस्तो छ!,’ उनले भनेका थिए, ‘किन यतिछिटो महाधिवेशन लाग्यो मैले बुझेको छैन। सायद, अब देउवा जाँदै हुनुहुन्छ भनेर पो हो कि! सभापतिका लागि अहिलेदेखि नै दौडिन पर्दैन, समय आउँछ।’

पछिल्लो समय शेखर र महामन्त्री गगन थापाबीचको सम्बन्धका विषयमा समेत प्रश्न उठ्न थालेका छन्। अर्को महाधिवेशनमा सभापतिको उम्मेदवार शेखर कि गगन? कांग्रेस वृत्तमा उब्जिरहेको प्रश्न हो यो। तर शेखर भने गगन र आफू एकै ठाउँमा भएको बताउँछन्। ‘शेखर र गगनबीच असमझदारी भएका विषय आइरहेको देख्छु। हामीबीच त त्यस्तो केही छैन। सुशासनजस्ता एजेन्डामा हामी एकै ठाउँमा उभिएका छौं,’ उनले भनेका छन्।

त्यसो त देउवाले शशांकलाई अघि बढाउने छनक पाएपछि संस्थापन इतर समूह झस्किएको छ। जसका कारण टिमलाई एक ढिक्का बनाउँदै शक्ति थप्ने योजनामा इतर समूह लागेको छ। त्यसको प्रयासस्वरुप भदौ १७ गते इतर समूहका नेताहरुबीच छलफल भएको थियो। नेता अर्जुननरसिंह केसीको निवासमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, बद्री पाण्डे र जीवन परियार, गत महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका प्रदीप पौडेलसँगै नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू पनि सहभागी थिए। बैठकमा शेखर भने सहभागी थिएनन्।

एकातिर आफ्नै भाइ शशांकले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने त्यसमा देउवाले पनि सहयोग गर्ने अभिव्यक्तिले झस्किएका शेखरलाई संस्थापनइतरका नेताहरू पनि अर्को झस्का थपिदिए। संस्थापन इतरका नेताहरू र शशांकलाई पनि सन्देश दिन शेखरले मंगलबार दिउँसो ३ बजे विश्वप्रकाश र प्रदीप पौडेललाई समेत बोलाएर छलफलमा बस्ने तयारीमा थिए। विश्व र प्रदीपलाई पनि आफ्नो समूहमा ल्याउने बैठकको एजेन्डा हुने कोइराला निकट नेताहरूको दाबी छ। तर चीन भ्रमणमा  निस्किएकाले प्रदीप उपस्थित हुन नसक्ने भएका छन् भने विश्वले पनि कोइरालाले बोलाएको छलफलमा नजाने संकेत गर्दै ट्विटर (एक्स)मा थ्रेड लेखेका छन्।

गत महाधिवेशनमा शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री जितेका थिए भने पौडेल देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित बनेका थिए। शर्मा महाधिवेशन लगत्तै अर्का महामन्त्री थापासँग सहज सहकार्यमै छन्। पौडेल संसदीय दलको चुनावमा महामन्त्री थापाको पक्षमा खुलेका थिए।

देउवाको घातक अस्त्र!
लामो समयका देउवासँग सहकार्य र प्रतिस्पर्धा गरेका हालका राष्ट्रपति रामचन्द्र पौडेलले देउवाबारे एउटा सटिक टिप्पणी गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा २०७७ कार्तिक ३ गते कान्तिपुर टेलिभिजनको टक शो फायरसाइडमा पौडेलले देउवालाई तानतुन गर्न माहिर नेताका रुपमा व्याख्या गरेका थिए।

‘शेरबहादुरजीका विषयमा मैले धेरै कुरा भन्न पर्दैन। सबैलाई थाहा छँदैछ,’ पौडेलले भनेका थिए, ‘तर शेरबहादुरजी यताउता टाकानटुकन मिलाउन चाहिँ सिपालु नेता हो। त्यही कारण मन्त्री चलाउनुभयो, प्रधानमन्त्री चालाउनुभयो। यताबाट उता, उताबाट यता तानतुन गर्न उहाँ सक्नुहुन्छ।’ पार्टी र सत्ता राजनीतिमा देउवा तानतुन गरेर टिकिरहन सक्छन् भन्ने लामो समयसम्मको सहकार्य र प्रतिस्पर्धाको अनुभवले पौडेलले यस्तो विश्लेषण गरेका हुन्।

 

अहिले शशांकले जसरी आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरिरहेका छन्, त्यसमा देउवाको समर्थनको विषय जोडेका छन्। जुन, त्यति विश्वसनीय भने देखिँदैन। किनकि देउवा ‘तानतुन’का खेलाडी हुन्। त्यही तानतुने राजनीतिको कोपभाजनमा शशांक पर्न सक्ने जोखिम छ।

कांग्रेसभित्र देउवाको शक्तिशाली समूह छ। जुन समूहबाट देउवाको उत्तराधिकारी बन्न सक्ने नेताहरु छन्। यद्यपि यो समूहमा पनि थुप्रै उपसमूहहरू छन्। एक उपसमूहले अर्को उपसमूहलाई स्वीकार नगर्ने अवस्था छ। वर्तमान सरकारमा सहभागी हुने क्रममा पूर्णबहादुर खड्का र डा प्रकाशशरण महतबीच एकअर्कालाई रोक्ने प्रयासमा लागेका थिए।

देउवा समूहका नेताहरूले नै नेतृत्वमा पुग्नका लागि भगभग्दुर प्रयास गर्ने नै छन्। उपसभापति पूर्णबहादुर खड्का देउवाको उत्तराधिकारीका रुपमा हेरिएका नेता हुन्। १४औँ महाधिवेशनका देउवाका प्रतिस्पर्धी (दोस्रो चरणको मतदान अघि आफ्नो पक्षमा ल्याएका)द्वय विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि गुन फिर्ताको माग गर्न सक्छन्। शशांकलाई अघि बढाउँदा वर्षौंदेखि एक ढिक्का रहँदै आएको टिममा आउन सक्ने फाटोको मूल्यांकन पनि देउवाले गर्नेछन्। कुनै बेला देउवा समूहमा सक्रिय रहेका एक नेता भन्छन्, ‘त्यो समूहमा देउवाका लागि मात्रै एकता कायम हुन्छ। देउवा नहुने हो भने एकले अर्कोलाई गन्ने स्थिति छैन।’

यस्तो अवस्थामा विधान संशोधनको अर्को अस्त्र पनि देउवासँग छ। कांग्रेसको विधानअनुसार एकै व्यक्ति २ पटकभन्दा बढी सभापति बन्न पाइँदैन। देउवाले कांग्रेसको बागडोर सम्हालेको यो दोस्रो पटक हो। त्यसकारण १५औँ महाधिवेशनमा विधानतः सभापतिको उम्मेदवार बन्न पाउँदैनन्। तर, केन्द्रीय समितिमा प्रचण्ड बहुमत बनाएका देउवाका सामु विधान संशोधन गरेर तेस्रो पटक सभापतिको उम्मेदवार बन्ने विकल्प परीक्षण हुन बाँकी छ।

निकटस्थहरुसँग देउवाले गिरिजाप्रसाद कोइरालाको उदाहरण दिएर एकाधपटक यसबारे मुख खोलिसकेका छन्। उनले निकटहरुसँग भन्ने गरेका छन्, ‘गिरिजाबाबु तीन पटक हुन हुने, म किन नहुने?’ गिरिजाप्रसाद नवौं महाधिवेशन (२०५३), दशौं महाधिवेशन (०५७) र एघारौँ महाधिवेशन (०६२) मा सभापति बनेका थिए। यस्तोमा देउवाले विधान संशोधनको बाटो रोज्न सक्नेछन्।

अहिले शशांकले उम्मेदवारी घोषणा गर्दै हिँड्नुको पछि देउवा दिएको ढाडस नै कारक रहेको कांग्रेसका नेताहरूले आकलन गरेका छन्। देउवाले यस्तो ढाडस र वचन आफ्नो राजनीतिक जीवनमा कयौं नेतालाई दिएका छन्। देउवाले ती नेताहरुलाई जसरी वचन दिएका छन्, त्यसैगरी धोका पनि दिएका छन्।

देउवा त्यस्ता नेता हुन्, जसले आफ्नो हितका लागि जो सुकैलाई जुनसुकै वचन दिइहाल्छन्। देउवा नेपालको पाँचौं पटक प्रधानमन्त्री भएको दिन (२०७८ असार २९) भन्दा एक सातापछि चप्पल कारखानास्थित एक रेस्टुरेन्टमा देउवाका अतिनिकट एकजना नेताले यसबारे विस्तृतमा सुनाएअनुसार पहिलो पटक कांग्रेसको नेतृत्वमा पुग्न देउवाले यही अस्त्र प्रयोग गरेका थिए।

आफू सभापति बन्न देउवाले दुई जना नेतालाई एकै पद दिने वचन दिएका थिए। देउवाले खुमबहादुर खड्का र विमलेन्द्र निधिलाई उपसभापति बनाउने वचन दिएका थिए। दुवै नेतालाई एउटै पदमा वचन दिँदा देउवाले सभापतिमा निर्वाचित भएको लामो समय पदाधिकारी मनोनित गर्न सकेनन्।

खुमबहादुरलाई उपसभापति बनाउँदा विमलेन्द्र रिसाउने र विमलेन्द्रलाई बनाउँदा खुमबहादुरलाई धोका हुने डरले देउवाले पदाधिकारी मनोनयन गरेका थिएनन्। आफ्नै वचनको चेपुवामा परेका देउवाले जब २०७४ सालमा खुमबहादुरको निधन भयो, तब मात्रै पदाधिकारी नियुक्त गरेका थिए। त्यो बेला देउवाले महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनित गर्न खोजेका थिए। तर, पूर्णबहादुरले ‘उपसभापति भए खुमबहादुर दाइ र महामन्त्री भए आफूलाई मनोनित गर्ने भनेको हो कि होइन? खुमबहादुरको निधनपछि अन्याय गर्ने?’ भनेर कड्किएपछि मात्रै देउवाले खड्कालाई महामन्त्रीमा मनोनित गरेको ती नेताले सुनाएका थिए।

ती नेताका अनुसार यही बानीका कारण देउवाको राजनीति अक्सर कम्फर्ट जोनमा रहने गरेको छ। अहिले पनि देउवाले पार्टी राजनीतिमा प्रयोग गरेको अस्त्र यही नै हो। उनले अप्ठ्यारो अवस्था सिर्जना हुँदा होस् वा आफू कम्फर्ट जोनमा रहिरहनका लागि नै किन नहोस्, अरु नेताहरुलाई प्रयोग गर्ने गरेका छन्।

त्यसो त साउनमा बसेको केन्द्रीय समिति बैठकअघि देउवा र शेखर नजिकिएको चर्चाले कांग्रेस राजनीति नगर्माएको होइन। इतर समूहले केन्द्रीय समिति बैठकअघि छलफल गर्ने र रणनीति तय गर्ने गरेको थियो। तर यसपटक भने समूहले छुट्टै छलफल गरेन। यसबारे समूह भित्रै नेता कोइरालाप्रति असन्तुष्टि थियो। देउवासँग ‘मिलेर’ छुट्टै बैठक नराखेको विश्लेषण भएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि देउवाले शेखरलाई वरिष्ठ नेता बनाउने चर्चा पनि उत्तिकै थियो।

शेखरसँग निकट सम्बन्ध राख्ने एक नेताका अनुसार देउवाले शेखरलाई वरिष्ठ नेता बनाउने वचन पनि दिएका थिए। वर्ष दिनसम्म पनि केन्द्रीय समिति बैठक नडाकेको, लथालिंग भातृसंस्थाबारे निर्णय नभएको, विधानअनुसार गर्नुपर्ने निर्णय नगरेकोलगायतका विषयमा देउवा आलोचित थिए। एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा यसबारेमा आफू संस्थापन इतर समूहबाट आलोचित हुने कुरा देउवाले नबुझ्ने कुरै थिएन। त्यसकारण देउवाले वरिष्ठ नेताको लोभ देखाएर संस्थापन इतर समूहलाई रणनीति बनाउनबाट रोकेको ती नेताको दाबी छ।

‘आफू आलोचित हुन्छु देउवाले भनेर शेखरलाई वरिष्ठ नेताको लोभ देखाए। संस्थापन इतर समूहमा बेग्लै छलफल भएन। त्यसमाथि बैठक लाइभ गर्ने अस्त्र प्रयोग गरे,’ ती नेताले भने, ‘बैठकमा आफ्ना निकटका नेताहरुलाई गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गर्न लगाएर शेखरलाई हिस्स पार्ने काम देउवाले गरे।’

आजभोलि शेखरले देउवासँग मिलेको आरोपमाथि खण्डन मात्रै गर्दैनन्, प्रतिवाद नै गर्छन्। उनले भदौ २२ गते पत्रकाहरुसँग यसबारे भनेका थिए, ‘ममाथि सभापति देउवासँग मिल्यो भन्ने आरोप पनि छ। तर केमा मिल्यो कसैले भन्न सक्दैनन्।’

देउवाको यो ‘तानतुन’को राजनीतिको शिकार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि भएका छन्। २०७८ माघ/फागुन ताका एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्ने विषयलाई लिएर राजनीति गर्माएको थियो। एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे तत्कालीन पाँच दलीय गठबन्धन दुई भागमा विभाजित थियो। प्रधानमन्त्री रहेका देउवा आफ्नै पालामा सम्झौता भएको एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा थिए। गठबन्धनमा दरार बढ्दै थियो।

यस्तोमा एमसीसी अनुमोदन गराउनका लागि दलहरुसँग छलफल र वार्ताका लागि देउवाले महामन्त्री थापालाई खटाए। तत्कालीन सत्ता गठबन्धन टुट्ने अवस्थामा पनि एमालेसँग सहकार्य गरेर एमसीसी अनुमोदन गर्ने देउवाको नीति थियो। त्यो समयमा सत्ता गठबन्धनको बैठक होस् वा प्रतिपक्षीसँगको छलफल नै किन नहोस्, हरेक बैठकमा थापा सहभागी हुन्थे।

अर्का महामन्त्री शर्मालाई भने बैठक र छलफलका लागि डाकिँदैन थियो। दर्जनौँ बैठक र छलफलपछि सत्ता गठबन्धनबीच व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति जुट्यो। त्यो व्याख्यात्मक घोषणाको जुक्ति उनै थापाले खिइयाएका थिए। २०७८ फागुन १५ गते एमसीसी अनुमोदनपछि विस्तारै देउवाको प्राथमिकतामा थापा पर्न छाडे। २०७९ पुस १० गते तत्कालीन सत्ता गठबन्धन फुटेर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि पोखरामा भएको साहित्यिक महोत्सवमा होस् वा हालै सम्पन्न केन्द्रीय समिति बैठकमा थापाले महत्वपूर्ण विषयमा देउवाले छलफल नै नगर्ने बताएका थिए।

अर्का महामन्त्री शर्मा भने देउवाको ‘तानतुन’को राजनीतिमा २०७४ सालमा फसेका हुन्। तत्कालीन वाम गठबन्धनसँग कांग्रेसले लज्जास्पद हार व्यहोर्न पुग्यो। कांग्रेसका युवा नेताहरुले हारको जिम्मा देउवाले लिनुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै निरन्तर छलफलमा जुटेका थिए। हालका महामन्त्रीद्वय, प्रदीप पौडेल, गुरुराज घिमिरेलगायतका युवा नेताहरुको मोर्चाबन्दीजस्तै थियो। केन्द्रीय समिति बैठक डाकेर हारको निर्मम समीक्षा हुनुपर्ने माग उनीहरुको थियो।

मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा व्यहोर्न परेको हारपछि आक्रामक बनेका युवा नेताहरुलाई विभाजित गर्ने योजनाअनुरुप देउवाले ‘तानतुन’को राजनीतिको ‘तुरुप’ शर्मामाथि फालेका थिए। देउवाले शर्मालाई निर्वाचन सम्पन्न भएको एक महिनापछि (पुस २६ गते) पार्टीको प्रवक्तामा नियुक्त गरेका थिए। शर्मा प्रवक्ता नियुक्त भएपछि युवा नेताहरुबीचको छलफल पनि ‘ब्रेक’ भयो, बैठकमा पराजयबारेको समीक्षा पनि कामचलाउमा सीमित बन्न पुग्यो।

१५ औँ महाधिवेशनमा शर्मा देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बन्न चाहन्थे। तर, देउवाले शर्मालाई उम्मेदवार बनाएनन्। किनकि दोस्रो कार्यकाल सभापति बन्न देउवाले ‘तानतुन’को अस्त्र प्रयोग गरे। शर्मालाई समूहबाट ‘रिङआउट’ गरेर नेता कृष्णप्रसाद सिटौला निकट रहेका प्रदीप पौडेल र तत्कालीन सह-महामन्त्री प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएका थिए। अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका शर्मा र थापाले देउवा प्यानलका पौडेल र महतलाई पराजित गरिदिए।

कांग्रेसको सभापति चुनिन विधानअनुसार ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। तर देउवाले पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन सकेनन्। सभापतिका उम्मेदवार निधि र सिंह पहिलो चरणबाटै ‘रिङआउट’ हुँदा दोस्रो चरणमा शेखर र देउवाबीच प्रतिस्पर्धा भयो। देउवाबाट पार्टी चल्न नसक्ने निष्कर्ष निकालेर देउवाविरुद्ध चुनाव लडेका निधि र सिंहले दोस्रो चरणमा शेखरलाई सघाउने आम आकलन थियो। तर देउवाको ‘तानतुने’ राजनीतिले यसपटक पनि काम गर्‍यो। उनले अघिल्लो दिनसम्म आफ्ना कटु आलोचक बनेर प्रतिस्पर्धामा उत्रिएका निधि र सिंहलाई आफ्नो पक्षमा ल्याइदिए।

त्यसो त १३औँ महाधिवेशनमा पनि देउवाले तत्कालीन संस्थापन समूहबाट नेताहरु ‘तानतुन’ गरेरै सभापति बनेका थिए। संस्थापन समूहका नेता अर्जुननरसिंह केसीलाई तानेर देउवाले महामन्त्रीको उम्मेदवार बनाएका थिए। उनी शशांकसँग पराजित भए। महामन्त्रीमा पराजय भोगेको केही समयपछि नै उनी संस्थापनबाट संस्थापन इतर बन्न पुगेको समूहमा फर्किएका थिए। त्यसयता उनी देउवाका कटुआलोचक बनेका छन्।

त्यो बेला संस्थापन समूहमा विद्रोह गरेर सभापति लडेका सिटौलालाई दोस्रो चरणको मतदानमा आफू तिर तानेर देउवा पहिलो पटक सभापति बनेका थिए। देउवाको तानतुने राजनीतिबारे सांसद् चन्द्र भण्डारी र कांग्रेसमा विद्रोह गरेर स्वतन्त्र सांसद् बनेका अमरेश कुमार सिंहले पनि भलिभाँती जान्दछन्। १३औँ महाधिवेशनमै हार्डलाइनर नेताका रुपमा परिचित केबी गुरुङले देउवाको प्रस्तावक बनेर सभापति जिताउन भूमिका खेलेका थिए। गुरुङ पनि महाधिवेशन अघिसम्म संस्थापन समूहमै थिए। तर देउवाले उनलाई तानेर आफ्नो प्रस्तावक बनाउन सफल भएका थिए।

फाइल तस्बिर

महाधिवेशनमा देउवाले गुरुङलाई कुनै न कुनै पद दिने आश्वासन दिएका थिए। तर, सभापति बनेको दुई वर्षसम्म पनि गुरुङलाई कुनै पद दिएनन्। सोही कारण गुरुङ देउवाप्रति रुष्ट बने। देउवाले विश्वासघात गरेको आरोप लगाउँदै आफूले दिएको समर्थन गुरुङले फिर्ता लिए।

२०७५ वैशाख ९ गतेको केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै गुरुङले भनेका थिए, ‘१३औँ महाधिवेशनमा उहाँ (शेरबहादुर देउवा)लाई सभापतिमा प्रस्तावक बसेको नाताले म अत्यन्त मर्माहत हुन पुगेको छु। अतः मैले देउवाजीलाई १३औँ महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुःखित हुन पुगेको छ।’

देउवालाई सभापतिकारुपमा आफूले राखेको प्रस्तावलाई फिर्ता लिएको घोषणा गरेको र यसो गर्दा पार्टी विधान र नैतिकताले के भन्छ भन्ने कुराको परवाह समेत आफूलाई नभएको गुरुङले बताएका थिए। ‘पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको परवाह नराखी मैले १३औँ महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरासमेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँदछु।’

प्रकाशित: २०८० असोज २ गते मङ्गलबार ०३:३३
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना