सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत लिएका छन्। शुक्रबार भएको विश्वासको मत लिने प्रक्रियामा ३८ सांसदले शर्माको पक्षमा र एक जना सांसदले विपक्षमा मतदान गरेका हुन्।
माओवादी पार्टीबाट मुख्यमन्त्री बनेका शर्मालाई नेकपा एमालेले पनि विश्वासको मत दिएको छ। एमालेले पनि शर्माको पक्षमा मत दिएपछि ४० सदस्यीय प्रदेशसभाबाट उनले ३८ मत पाएका हुन्। राप्रपाका एक जना विपक्षमा रहँदा एक जना सभामुखलाई बराबर मत नआएसम्मको अवस्थामा मताधिकार हुँदैन।
शर्मालाई नेपाली कांग्रेस, माओवादी, समाजवादी एवं स्वतन्त्र सांसदले पनि मत दिएका थिए। मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन्।
माओवादीका १३, एमालेका ९, कांग्रेसका १४, समाजवादीका १ र स्वतन्त्र १ जनाले शर्मालाई विश्वासको मत दिए।


